काठमाडौं, २१ वैशाख । जनकपुर बंमकाण्ड तथा सञ्चार उद्यामी अरुण सिंधानिया हत्या काण्डमा प्रधानमन्त्री केपी ओलीले निश्पक्ष छानविन गराउने प्रतिवद्धता जनाएपछि धनुषा निर्वाचन क्षेत्र नम्बर चारका निर्वाचित निलम्बित सांसद संजय साहले आमरण अनसन तोडेका छन् ।
मंगलबार प्रधानमन्त्री ओली र नेता साहबीच भएको टेलिफोन वार्तामा प्रधामन्त्रीले साहमाथि लगाइएका मुद्दाहरुमा निश्पक्ष छानविन गराउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
प्रधामन्त्री ओलीले टेलिफोन संवादमा भने ‘हामीले पछिल्लो समय तपाईका बारे धेरै कुराको जानकारी लिएका छौं । तपाईमाथि अन्याय भएको हाम्रो निश्कर्ष छ । निश्पक्ष छानविनबाट तपाईले न्याय पाउनु हुनेछ भन्ने मेरो प्रतिवद्धता छ ।’–प्रधामन्त्रीको भनाईलाई उदृत गर्दै नेता साहले सञ्चारकर्मीहरुलाई बताए ।
अनसन तोडेपछि पत्रकारहरुसँग कुराकानी गर्दै नेता साहले भने, ‘प्रधानमन्त्री स्वयमले ममाथि अन्याय भएको स्वीकार गरेका छन् । उहाँले निश्पक्ष छानविन हुने प्रतिवद्धता जनाउनु भएकोले मैले अनसन तोडेको हुँ ।’
पाँच जनाको ज्यान जाने गरी भएको जनकपुर बमकाण्ड तथा जनकपुरधामका सञ्चार उद्यामी सिंघानिया हत्याका आरोपित नेता साहले सम्पूर्ण समर्थकलाई धन्यवाद दिदै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखे ।
विगत एक महिनादेखि आमरण अनसनमा बसेका नेता साहलाई डिल्लीबजार कारागार मै पुगेर सरकारका तर्फबाट विज्ञानमन्त्री विश्वेन्द्र पासवान, प्रधामन्त्रीको प्रतिनिधिका रुपमा स्वकीय सचिव इन्द्र भण्डारी, एमाओवादी नेता भरत साह र राप्रपाका नेता राप्रताप साहले अनसन तोडाएका थिए । मन्त्री पासवानले जुस खुवाएर अनसन तोडाएका थिए ।
आफूमाथि लागेका आरोपहरुमा न्यायिक छानविन हुनु पर्ने माग राख्दै उनी विगत एक महिनादेखि आमरण अनसनमा बसेका थिए ।
उनीसँगै श्रीमती रंगिला साह तथा उनका समर्थकहरु पनि आमरण अनसनमा बस्दै आएका थिए ।
नेता साह अनसनमा बसेपछि उनको समर्थनमा जनकपुर बजार दुई दिन बन्द गराइएको थियो ।
यता नेता साहका परिवारजनले राजनीतिक दबाबका कारण फसाउन खोजिएको र मुख्य दोषीहरुलाई राजनीतिक संरक्षण दिइएको आरोप लगाउँदै आएका छन् ।
परिवारजनले नेता साहमाथि आधुनिक प्रविधिको प्रयोग गरेर निश्पक्ष छानविन गर्न तथा उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गर्न माग गर्दै आएका छन् ।












प्रतिक्रिया