२९ आश्विन २०८३, बिहिबार

समृद्धि, विकास अनि लोककल्याणकारी राज्यका लागि प्रेस स्वतन्त्रता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sabinआज विश्व प्रेस स्वतन्त्रता दिवस । स्वतन्त्र प्रेसको अवधारणासंहित विश्वभर आजको दिन विभिन्न कार्यक्रमहरु गर्ने गरिन्छ । नेपालमा पनि नेपाल पत्रकार महासंघको अगुवाईमा देशभर विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा कार्यक्रमहरु हुने गर्दछ । यसवर्ष पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवसको अबसरमा विशेष कार्यक्रम गरिरहेको छ । दिवसको अबसरमा अधिवेशनलगायतका कार्यहरु गरेर महासंघले समाजमा प्रेस मैत्री वातावरण निर्माण गर्न खोजि रहेको छ । महासंघले प्रेस स्वतन्त्रताको पक्षमा जवरजस्त माहोल निर्माण गर्नका लागि राज्यलाई समेत आफ्नो तर्फबाट दबाब दिइरहेको छ ।

अहिले पनि समाचारको विषयलाई लिएर सञ्चारकर्मीहरुलाई तर्साउने, ज्यान लिने धम्कि दिनेलगायतका कार्यहरु भइरहेका छन् । यस्तो अवस्थामा सञ्चारकर्मीहरुको मनोवल उचो बनाउँदै निष्पक्षरुपमा निर्भयका साथ स्वतन्त्ररुपमा पत्रकारिता गर्ने वातावरण निर्माण गर्नका लागि पनि प्रेस स्वतन्त्रता अनिवार्य छ ।

कुनै पनि देश सबै पक्षबाट सवल हुनका लागि लोकतन्त्र र त्यसमा स्वतन्त्र प्रेस अनिवार्य छ । स्वतन्त्र प्रेसविना लोकतन्त्र संस्थागत हुन सक्दैन । मुलुकको भविष्य पनि उज्ज्वल हुनैसक्दैन । यही अवधारणा बोकेको नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताका लागि खरो बनेर आफूलाई उभ्याउँदै आएको छ । त्यस्तै पत्रकार महासंघले प्रेस स्वतन्त्रतासँंगै श्रमजीवि पत्रकारहरुको पेशागत सुरक्षाको ग्यारेन्टी हुनुपर्छ । यसका लागि राज्य र सम्बन्धित निकायहरुले विशेष योजना ल्याउनुपर्छ । राज्यका तर्फबाट श्रमजीवि पत्रकारहरुको पेशागत सुरक्षाका लागि ठोस योजना आउन सक्यो र सञ्चार संस्थाहरुको विकासका लागि पनि राज्यले ध्यान दियो भने श्रमजीवी पत्रकारहरुको अवस्थामा सुधार आउनेछ ।

प्रेस र अभिव्यक्ति स्वतन्त्रता, पेशागत सुरक्षाको पक्षमा पत्रकारहरुले आवाज उठाइरहँदा कसैलाई लाग्नसक्छ, यो पत्रकारहरुको निजी माग हो । तर, पत्रकारहरु प्रेस र अभिव्यक्ति स्वतन्त्रता आफ्ना लागि नभएर देश र जनताका लागि हुनपर्छ भन्ने पक्षमा छन् । पत्रकारहरुको पेशागत सुरक्षाले पेशालाई जनउत्तरदायी बनाउन सहयोग गर्छ । त्यसैले प्रेस स्वतन्त्रता र पेशागत सुरक्षाका लागि नेपाली सञ्चारकर्मीहरु जस्तोसुकै मूल्य चुकाउन तयार छन् । प्रेस स्वतन्त्रताको ग्यारेण्टी कुनै पनि बाहनामा वा सम्झौतासँग जोड्ने पक्षमा नेपाली सञ्चारकर्मीहरु छैनन् ।

स्वतन्त्र प्रेसको वकालत पत्रकारिताको मूल मन्त्रसँग जोडिएको छ । मुलुकको चौतर्फी समृद्धिका लागि गर्नुपर्ने पत्रकारिता प्रेस स्वतन्त्रताको जगमा उभिएर मात्र हुन सक्छ । मुलुक र जनताको हितका लागि गर्नुपर्ने पत्रकारिता कसैको पनि दाष वा कैदमा रहेर गर्न सकिदैन । कुनै पनि देशमा प्रेस र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन्छ भने जनता रैतिकारुपमा शाषकबाट शाशित हुन्छन् भन्ने सञ्चारकर्मीहरुको ठहर छ । जुन कुरा इतिहासले समेत पुष्टि गरिसकेको छ । त्यसैले शाषण व्यवस्थालाई जनमुखी, जनउत्तरदायी र लोककल्याणकारि बनाउनका लागि पनि प्रेस स्वतन्त्र हुनैपर्छ । प्रेस शाषक वा कुनै पनि शक्तिको गुलाम हुने अवस्था आयो भने त्यो देश शाषणका हिसाबले निरंकुशताको दलदलभित्र रुमलिएको हुन्छ, जनता दाषताको जञ्जीरमा कैद हुन्छन् । यद्यपी त्यतिबेला पनि प्रेस र पत्रकारिता चालू नै हुन्छ । तर, यस्तो अवस्थाको पत्रकारिता भाटगिरीमा लिप्त हुन्छ । जसले गर्दा जनताको बोली प्रेसले बोल्न पाउँदैन । निरंकुश शाषकको गुणगानमा बाध्यात्मकरुपमा घुम्ने त्यतिबेलाको प्रेसले जनघाति कुराहरुलाई समर्थन गर्दै अगाडि बढ्नुपरेको प्रत्यक्ष अनुभूति नेपाली जनताले गरिसकेका छन् । बन्दुक र शक्तिको बलमा प्रेस स्वतन्त्रताको धज्जी उड्दा निरंकुशताले जनता र दलहरुलाई समेत रैतिकारुपमा उपभोग गर्ने प्रयत्न तत्कालिन राजा ज्ञानेन्द्रले गरेको कुरा अझै ताजा छ । यति हुँदाहुँदै पनि निरंकुशताको बिरुद्धमा खरो ढंगबाट नेपाली प्रेस नै सडकमा उत्रिएको थियो । जसको बलमा राजनीतिक दलहरुलाई लोकतान्त्रिक आन्दोलन सफल बनाउन धेरै सहयोग पुगेको थियो । यी सबै कुराहरुलाई समीक्षा गर्दा स्वतन्त्र प्रेसको अवधारणा अनिवार्य छ । २०४६ सालको संविधानले प्रेसलाई स्वतन्त्र बनाउनका लागि धेरै हदसम्म काम गरेको थियो । जसले गर्दा निरंकुश व्यवस्था लादिएको समयमा पनि प्रेसमाथि अंकुश लगाउन तत्कालिन शाषकहरुलाई निकै कसरत गर्नुपरेको थियो ।

नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको जगेर्ना, श्रमजीवी पत्रकारहरुको हीत’ भन्ने मान्यता सधैंभरि अगाडि सार्नुको पछाडि मुख्य उद्देश्य देश र जनताको पक्षमा नेपाली पत्रकारितालाई उभ्याउनु नै हो । प्रेस र अभिव्यक्ति स्वतन्त्रताको जगेर्नाले जनता स्वतः बलियो हुन्छन् । यसको साथै स्वतन्त्र प्रेस भयो भने श्रमजीवी पत्रकारहरु समेत पेशागतरुपमा बलियो हुने वातावरण बन्छ । प्रेस स्वतन्त्र भयो भने मुलुकको समृद्धिका लागि प्रेसले भूमिका खेल्न सक्छ । अहिलेको समयमा निर्माण र विकासको भएकाले पनि स्वतन्त्र प्रेस अपरिहार्य छ । यी सबै कुराहरुलाई निष्कर्षकारुपमा स्वतन्त्र प्रेसको कुनै विकल्प छैन भन्न सकिन्छ । यतिबेला मुलुकको भविष्यसँग जोडिएको नयाँ संविधान जनताले पाई सकेका छन् । संविधानलाई धेरै हदसम्म लोकतान्त्रिक र उत्कृष्ट बनाइएको छ । प्रेस स्वतन्त्रताको पक्षमा पनि नयाँ संविधानले ग्यारेन्टी गरेको छ । यस हिसाबले पनि संविधानसभाबाट बनेको नयाँ संविधान जनपक्षिय छ भन्ने मान्यता आम नेपालीले राखेका छन् । तर अहिले पनि संविधान कार्यान्वयनको सवालमा विभिन्न जटिलताहरु देखा परेका छन् । विभिन्न बाहनामा राज्य सञ्चालकहरु स्वतन्त्र प्रेस माथि धावा बोल्ने तवरले अगाडि बढेको आभाष हामीले पाइ रहेका छौं । तसर्थ राज्य र सरकारले समेत प्रेसलाई संकुचित बनाएर अगाडि बढाउने भन्दा पनि स्वतन्त्र प्रेसको मर्म मुलुकको समृद्धिसँग जोडिएको छ भन्ने कुराको हेक्का राख्न जरुरी छ ।

वर्षौंवर्षदेखि विभेदको चपेटामा परेका वर्ग, समुदाय, भाषा, क्षेत्र, लिंगहरु आफ्नो अधिकार संविधानले ग्यारेन्टी गरेको छ, अब यो कार्यान्वयन हुन्छ भन्ने मान्यतामा छन् । यस्तो अवस्थामा संविधानले प्रत्याभूत गरेका अधिकारलाई सही तवरबाट लक्षीत वर्ग र समुदायसम्म पुग्ने वातावरण निर्माण गर्नका लागि पनि स्वतन्त्र प्रेस अपरिहार्य छ । प्रेस स्वतन्त्र हुन सकेन भने जनताका आधारभूत आवश्यकता, संविधानले ग्यारेण्टी गरेका अधिकारहरु समेत लक्षित वर्गले पाउन नसक्ने वातावरण बन्छ । यी र यावत कुराहरुले गर्दा नै जनताका लागि राजनीति गर्छौं, जनताका लागि संविधान बनाएका छौंं भन्ने राजनीतिक दलहरुले स्वतन्त्र प्रेसको अवधारणालाई अंगीकार गर्न कञ्जुस्याई गर्नैहुँदैन ।

स्वतन्त्र प्रेस नेपाली सञ्चारकर्मीहरुको आर्दश हो । प्रेस स्वतन्त्रताले स्वच्छ र निर्भय पत्रकारिताको समेत ग्यारेण्टी गर्दछ । मुलुक दिनप्रतिदिन भ्रष्टाचार, व्यथिति, अराजकतातर्फ उन्मूख भइरहेको समयमा प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने काम यदि कसैबाट पनि हुन्छ भने यो भन्दा ठूलो बिडम्वना अरु केही हुन सक्दैन । यदि नेपाली प्रेस संकुचित घेराभित्र रहन पुग्यो भने मुलुकलाई प्रगतिपथमा लम्कन नदिने यी र यस्ता तमाम जनघाति कार्यहरु व्यापकरुपमा फस्टाउनेछन् । त्यसैले स्वतन्त्र प्रेसको अवधारणालाई जसरी नयाँ संविधानको प्रस्तावनामै उल्लेख गरिएकोछ, त्यसरी नै लागू गर्ने सवालमा पनि सबैले उदारता देखाउनुपर्छ । प्रेस स्वतन्त्रताले पत्रकारितामा बिकृति, अराजकता र दम्भ निम्तन्छकि भन्ने पनि केहीले विश्लेषण गरेको सुनिन्छ । तर, यो विश्लेषणले पत्रकारितामा बिकृति, अराजकता र दम्भ स्वतन्त्र प्रेस हुँदा हुन्छ भन्ने पुष्टि गर्न सक्दैन । स्वतन्त्र र निष्पक्ष पत्रकारिता प्रेसमाथि अंकुश लगाउँदा हुन सक्दैन । जुनकुरा बिगतमा नेपाली समाजले भोगिसकेको छ । प्रेससँगै डराउने वा मनपरी गर्न चाहनेहरुले नै स्वतन्त्र प्रेसको अवधारणा माथि धावा बोल्ने कुचेष्टा गरिरहेका छैन । जसलाई आम परिवर्तनका पक्षधरहरुले समयमै बुझ्न जरुरी छ । पत्रकारितालाई निष्पक्ष बनाउनका लागि पत्रकार आचारसंहितालगायतका विषयहरु छन् । जसलाई स्वतन्त्र प्रेसको कसीमा राखेर तौलन मिल्दैन । प्रेस स्वतन्त्र र जिम्मेवार हुनुपर्छ । यसमा दुईमत छैन । स्वतन्त्र र जिम्मेवार प्रेसका लागि पनि प्रेस स्वतन्त्रता अपरिहार्य छ ।

यतिबेला स्वतन्त्र प्रेसको कुरा गरिरहँदा प्रेस माथि धावा बोल्न चाहने केही प्रवृत्तिहरु सतहमा सल्वलाउन थालेका हुन् कि भन्न सकिन्छ । अहिले पनि समाचारको विषयलाई लिएर सञ्चारकर्मीहरुलाई तर्साउने, ज्यान लिने धम्कि दिनेलगायतका कार्यहरु भइरहेका छन् । यस्तो अवस्थामा सञ्चारकर्मीहरुको मनोवल उचो बनाउँदै निष्पक्षरुपमा निर्भयका साथ स्वतन्त्ररुपमा पत्रकारिता गर्ने वातावरण निर्माण गर्नका लागि पनि प्रेस स्वतन्त्रता अनिवार्य छ । विगतको द्वन्द्वको समयमा सञ्चारमाथि युद्धरत पक्ष र राज्यबाट पनि धेरै हदसम्म धावा बोल्ने प्रयत्न गरिएको थियो । ज्ञानेन्द्र शाहको निरंकुशतामा त झनै प्रेसको घाँटी नै निमोठिएको थियो । अहिले पनि कुनै न कुनैरुपमा यस्तो प्रवृत्ति बेला मौकामा देखिन्छ । तर, प्रेस माथि धावा वा नियन्त्रण गर्छु भन्ने प्रवृत्ति र शक्ति कुनै पनि हालतमा टिक्न सक्दैन । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सम्पूर्ण सञ्चारकर्मी, नेपाली जनता र सबै पक्षलाई हार्दिक शुभकामना दिँदै स्वतन्त्र प्रेसको महत्व सबैले बुझ्न सकून् भन्ने शुभेच्छा छ । स्वतन्त्र प्रेस हाम्रो लक्ष्य, उद्देश्य र संकल्प हो । प्रेस स्वतन्त्रताका लागि हामी जस्तो सुकै मूल्य चुकाउन पछाडि पर्ने छैनौं । स्वतन्त्र प्रेस, श्रमजीवि पत्रकारहरुको हित र लोकतन्त्रको रक्षाका लागि हामी हाम्रा सहिदहरु कृष्णसेनदेखि डेकेन्द्रराज थापाले देखाएको बाटोमा एक ढिक्का भएर लागि रहनेछौं । विश्व प्रेस स्वतन्त्रता दिवसको अबसरमा आज देखि नेपाल पत्रकार महासंघको साधारणसभा चितवनको सौराहामा हुन लागि रहेको छ । डा. महेन्द्र विष्टको नेतृत्वमा रहेको नेपाल पत्रकार महासंघको साधारणसभाले स्वतन्त्र प्रेसको अवधारणालाई अझ उचाईमा पु¥याउने सवालमा भूमिका निर्वाह गर्नेछ भन्ने हामीले विश्वास लिएका छौं । पत्रकार महासंघको वर्तमान कार्यसमितिले प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको अधिकारको सवालमा र नेपालको सञ्चार विकासको सवालमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । आगामि दिनमा पनि अझ प्रभावकारी भूमिका पत्रकार महासंघले खेल्नेछ, खेल्नुपर्छ । सम्पूर्ण नेपाली जनता एवं श्रमजीवी सञ्चारकर्मीहरुलाई विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना ।