
लक्ष्मी काफ्ले
बिर्तामोड, २१ बैशाख । पाँचथर ओयाम–३ की देवीमाया डाँगीलाई गत बैशाख १३ गते राति उनका श्रीमान राजेन्द्र डाँगीले कत्ति (धारिलो हतियार) प्रहार गरे । ४५ वर्षकी देवीमायाको देव्रे हातको नाडी दुई टुक्रा भयो । घटना हुँदा रातको झन्डै १० बजेको थियो ।
देवीमाया पीडा सहन नसकेर चिच्याउँदै छट्पटाउन थालिन् । आफन्त तथा छिमेकी के गनेर् र कसो गनेर् भन्दै अतालिन थाले । दुई टुक्रा भएको देवीमायाको नाडीलाई कपडाले बाँधियो । र, उपचारका लागि घरबाट हिँडाइयो । तर, कहाँ लगेर उपचार गनेर् भन्ने कसैले निर्णय गरेका थिएनन् ।
देवीमायाका दाजु जगत वाग्लेले केही महिनाअघि बी एण्ड सी टिचिङ हस्पिटल बिर्तामोडमा छिनेको नाडी जोडिएको समाचार अखबारमा पढेका थिए । समाचारमा बी एण्ड सीका वरिष्ठ अथोर्पेडिक सर्जन डा. निराजन पराजुलीको बारेमा पनि पढ्न पाएका थिए जगतले । आफ्नी बहिनीलाई बी एण्ड सीमै लगेर उपचार गराउने निधो गरे उनले । तर, समय धेरै बितिसकेको थियो ।
झन्डै १२ घण्टा बितेपछि १४ गते दिउँसो उनीहरु बिरामी लिएर बी एण्ड सी आइपुगे । छिनेको नाडी ८ घण्टाभित्रमा मात्र जोड्न सकिने डा. निराजन बताउँछन् । डा. निराजन नेतृत्वको टोलीले उपचार सुरु गर्दा नाडी छिनेको १५ घण्टा पुगिसकेको थियो । त्यसैले नाडी जोड्न सकिन्छ भन्ने कुरामा डाक्टर नै विश्वस्त थिएनन् । ‘उपकरण छँदैछ, एक पटक प्रयास गरेर हेरौँ न त भनेर सुरु गरियो,’ उनले भने, ‘उपकरण भएकैले हामी सफल भयौँ ।’
देवीमायालाई बी एण्ड सी ल्याइपुर्याउँदा रगत धेरै बगिसकेको थियो । ६ पोका रगत दिइएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए । ‘बहिनीलाई बचाउनसम्म चाहिँ सकिन्छ कि भन्ने झिनो आशा थियो,’ उनले भने, ‘डा. निराजन नेतृत्वको टोली हाम्रा लागि भगवान् नै भए ।’ उच्च गुणस्तरको उपकरण ल्याएर बिरामीको ज्यान बचाएकोमा उनले बी एण्ड सीका कार्यकारी निदेर्शक दुर्गा प्रसाईंलाई धन्यवाद दिए । ‘अब त बहिनीको औँला पनि चल्न थालिसक्यो,’ खुसी हुँदै उनले भने । शल्यक्रिया गरेको ठाउँमा रगत जम्न नदिनका लागि डाक्टरले रगत पातलो बनाउने औषधी प्रयोग गरिरहेका छन् ।
डा. पराजुलीसँगै एनेस्थेसिस्ट डा. राजु श्रेष्ठ, अथोर्पेडिक सर्जन डा. ओमप्रकाश चौधरीलगायत ९ जनाको टोलीले ८ घण्टा लामो शल्यक्रियापछि देवीमायाको नाडी जोडेको हो । ‘फेरि पनि दुई टुक्र भएको हात जोडियो, बिरामीका आफन्तको मुहारमा बल्ल खुसी देखियो,’ बी एण्ड सी का कार्यकारी निदेर्शक प्रसाईंले भने, ‘यो सब उपकरण र डाक्टरहरुको अथक मेहनतले नै सम्भव भएको हो ।’ अस्पतालका मेडिकल डाइरेक्टर डा. उमेशकुमार शर्माले यस प्रकारको शल्यक्रिया दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि र राम्रा साधनस्रोत भएको अस्पतालमा मात्र सम्भव हुने बताए ।
प्रहरीले देवीमायाका श्रीमान राजेन्द्रलाई पक्राउ गरिसकेको छ । राजेन्द्रको मानसिक सन्तुलन ठीक नभएको शङ्का लागेपछि प्रहरीले उनलाई मानसिक अस्पताल पठाएको छ । बी एण्ड सीमा यसअघि पनि डा. निराजन नेतृत्वकै टोलीले छिनेको नाडी जोडेको थियो ।












प्रतिक्रिया