– विजय थापा
वाशिंगटन डिसी । गत वर्ष नेपालमा आएको विनासकारी भूकम्पबाट नेपालले ठूलो जनधनको क्षति बेहोर्नु परेकोले अमेरिकाको पेनसेलभेनिया राज्यको पित्ट्सबर्गमा नेपालको पुनर्निर्माणको लागि म्याराथुन दौडको आयोजना गरिएको छ ।
आपतकालीन खतरा न्यूनीकरण गर्ने र कालान्तरमा नेपाललाई भूकम्पबाट थप क्षति हुनबाट कसरी बचाउने भन्ने हेतुले गरिएको कार्यक्रममा अमेरिकाका बिभिन्न राज्य तथा शहरमा रहेका नेपाली समुदायका सदस्यले प्रत्यक्ष सहभागिता जनाएका छन् ।
दि सोरवे फाउन्डेसन पित्ट्सबर्ग म्याराथुन २०१६ नामक कार्यक्रम गत मे १ ,२०१६ तारिखमा भब्यताको साथ सम्पन्न भएको छ । नेपालको पुनर्निर्माणको लागि २५ हजार डलर आर्थिक सहयोग जुटाउने लक्ष्य राखिएको भएता पनि पछिल्लो जानकारी अनुसार ६ हजार ५ सय डलर संकलन भै सकेको छ ।
सोरवे फाउन्डेसन, इन्टरनेसनल डेवलपमेन्ट इन्सटीट्युट, वाशिंगटन डिसी तथा अपरेसन्स नमस्ते नामक तीन संस्थाको सयुक्त आयोजनामा पित्ट्सबर्ग म्याराथुन २०१६ नामक कार्यक्रम गरेको हो ।
सुमन तिम्सिना, माइक कोबोल्ड, जेसिका कोसिस्कक, मुकेश कुमार सिंह, जेम्स ल्याण्डन, परशु नेपाल, राजु गड्तौला, रामचन्द्र खरेलले म्याराथुन दौडमा सहभागिता जनाएका थिए ।
सहभागिताको मुख्य उद्धेश्य नेपालको पुनर्निर्माणमा सहयोग गर्नु रहेको छ ।
यी तीन संस्थाको पहलमा आगामी सेप्टेम्बर महिनामा युद्धमा घाइते अमेरिकी सैनिक र बिकालंग योद्धा (एथलेट)लाई नेपाल लाने कार्यक्रम रहेको बताएका छन् ।
कार्यक्रमको उद्धेश्य नेपाललाई विकलाङ्ग पर्यटकको गन्तब्य बनाउन र जागरुक ल्याउन गरिने भएको छ । म्याराथुनमा उठेको सम्पूर्ण रकम नेपालको पुनर्निर्माणमा मात्र खर्च गरिने बताइएको छ ।















प्रतिक्रिया