काठमाडौं, १९ वैशाख । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले वर्तमान सरकार ढाल्न केहि नेपाली नेता छिमेकमा साउती गर्न गएको भन्दै त्यो अभिलाशा पुरा नहुने बताउनुभएको छ ।
उहाँले नेपाली जनताको बलमा बनेको सरकारलाई अरु कसैले चाहेर पनि फ्याँक्न नसक्ने बताउनुभयो ।
नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) द्धारा १ सय २७ औं मे दिवसको अवशरमा आयोजित सभालाई प्रमुख अतिथिका रुपमा सम्वोधन गर्दै महासचिव पोखरेलले पहिले संविधान जारी नै गर्न नदिने प्रयासमा लागेकाहरु अहिले अँध्यारो कुनामा बसेर संविधानलाई कार्यान्वयन हुन नदिने षड्यन्त्रको जालो बुन्न तल्लीन रहेको बताउनुभयो । उहाँले त्यो षड्यन्त्रलाई सवै मुख्य राजनीतिक शक्तिहरु मिलेर निस्तेज बनाउन आवश्यक रहेको भन्दै त्यसका लागि श्रमिक शक्ति पनि एक हुनुपर्ने धारणा राख्नुभयो ।
नयाँ संविधान जारी भएसँगै संक्रमणकालीन एक कालखण्ड पार भएको भन्दै महासचिव पोखरेलले संविधानको प्रभावकारी कार्यान्वयन मुख्य चुनौति रहेको बताउनुभयो । यसमा असफल भएमा मुलुकमा ठूलो असहजता सिर्जना हुने भन्दै पोखरेलले त्यो अवस्था आउन नदिन सजग रहनु पर्ने बताउनुभयो ।
हालै पूर्व राष्ट्रपति डा. रामवरण यादवले मलाई संविधान जारी गर्न मन नभएपनि बाध्य बनाइयो भनेर सार्वजनिक गरेको भनाई प्रति लक्षित गर्दै महासचिव पोखरेलले त्यसले एउटा षड्यन्त्रको उदाहरण प्रस्तुत गरेको बताउनुभयो । “त्यस्ता पात्रहरु दुलोभित्रबाट विस्तारै बाहिर निस्कँदैछन्” महासचिव पोखरेलले भन्नुभयो “त्यस्ता पात्रहरुका बारेमा सजग रहन जरुरी छ ।” उहाँले नयाँ संविधान कहिंबाट आयात गरिएको नभई स्वयं नेपाली जनताका प्रतिनिधिहरुले अत्यधिक बहुमतले जारी गरिएको भन्द यो नेपाली जनताको विवेकको दस्तावेज भएको धारणा राख्नुभयो । यसलाई जलाउनुपर्छ वा च्यात्नुपर्छ भन्दै कोहि आएमा त्यस्ता तत्वप्रति सजग रहन र खवरदारी गर्न उहाँले जिफन्टकर्मीहरुलाई आव्हान गर्नुभयो ।
२०५१ सालमा प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको एमालेको सरकारले धेरै लोकप्रिय काम गरेको र वर्तमान सरकार पनि त्यहि दिशामा अगाडी बढेका कारण कतिपय दलका नेताहरुलाई राजनीतिक भविष्यको चिन्ता लागेका कारण उनीहरु सरकार लडाउने खेलमा लागेको महासचिव पोखरेलको भनाई थियो । उहाँले अबको एक महिना भित्रै वर्तमान सरकारले नीति तथा कार्यक्रम र बजेट मार्फत नेकपा एमालेले मुलुकलाई कता अगाडी बढाउन चाहेको छ भन्ने प्रष्ट पाने भन्दै एक महिना पर्खिन आग्रह गर्नुभयो । नेकपा एमालेको योजना र दृष्टिकोण सरकारको नीति तथा कार्यक्रम मार्फत सार्वजनिक हुने भन्दै महासचिव पोखरेलले त्यो निक्कै प्रगतिशिल हुने जानकारी गराउनुभयो ।
उहाँले नेकपा एमाले कुनै एउटा छिमेकीको काखमा सुतेर अर्कोलाई चिढ्याउने पक्षमा नरहेको भन्दै भारतवेष्ठित नीतिको विपक्षमा रहेको धारणा राख्नुभयो । उहाँले वर्तमान सरकार दुवै छिमेकीसँग उस्तै सम्वन्ध राख्न ईच्छुक रहेको भन्दै छिमेकी देशहरुलाई पनि सोही अनुरुपको व्यवहार गर्न आग्रह गर्नुभयो । उहाँले नेपाल सदैव स्वतन्त्र मुलुक रहि आएको भन्दै नेपाली नागरिक स्वाभिमानी भएर बाँच्न चाहेको बताउनुभयो ।
एमाले महासचिव पोखरेलले पञ्चायतकालमा मनाइने मे दिवसको स्मरण गर्दै त्यो प्रतिकुलताका बीच पनि तत्कालिन श्रमिक नेताहरुले यसलाई भव्य रुपमा मनाउने गरेको बताउनुभयो । उहाँले राजनीतिक अधिकार प्राप्तीको लडाईका समयमा मनाइने मे दिवस पनि मुख्य गरी राजनीतिक अधिकारमै केन्द्रीत हुने गरेपनि अहिले परिस्थीति फेरिएको धारणा राख्नुभयो । उहाँले नयाँ संविधान जारी भएसँगै राजनीतिक अधिकार प्राप्तीको आन्दोलन निश्कर्षमा पुगेको भन्दै अवको लक्ष्य आर्थिक, सामाजिक रुपान्तरण थतथा समृद्धि हुनुपर्ने बताउनुभयो ।
मुलुक नयाँ ढंगले अगाडी बढेको अवस्थामा अव ट्रेड यूनियन आन्दोलनमा पनि पुनव्र्यवस्थापन जरुरी रहेको भन्दै जिफन्टले त्यसमा तयार भएर अगाडी बढ्न महासचिव पोखरेलले सुझाव दिनुभयो । हिजोका अभ्यास, निश्कर्ष र संगठनको तौरतरिकाले अव नहुने भन्दै त्यसमा गृहकार्य गर्नुपर्ने उहाँको भनाई थियो । स्वदेशमा रोजगारीका अवशर कम भएका कारण ४० लाख बढी नेपाली बैदेशिक रोजगारीमा गएको भन्दै महासचिव पोखरेलले अव स्वदेशमा नै रोजगारीको अवशर सिर्जना गर्न नसकिए राजनीतिक परिवर्तनले मात्र कुनै भिन्नता अनुभव नहुने बताउनुभयो ।
सो अवसरमा कि नोट स्पीच राख्दै प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार समेत रहेका जिफन्ट अध्यक्ष विष्णु रिमालले भूकम्प पश्चातको पुनर्निर्माणको मुख्य अभिभारा सहितको मे दिवस विशेष रहेको बताउनुभयो । गत बर्षको मे दिवस भूकम्पमा थिचिएका व्यक्ति निकाल्न र राहत वितरणका बीच मनाएको स्मरण गर्दै रिमालले अव बर्खा लाग्नु अगाडी नै भूकम्पपीडितलाई ओत लाग्ने घर बनाउन सघाउनु आवश्यक रहेको धारणा राख्नुभयो ।
अध्यक्ष रिमालले स्वदेशमा हाल श्रमिकको ठूलो अभाव रहेको भन्दै पुनर्निर्माण कार्यलाई तिव्र बनाएर लैजानु पर्ने भएका कारण यस बर्ष नेपालका लागि विशेष बर्ष भएको बताउनुभयो । पुनर्निर्माण ट्रेड यूनियनको सहभागिता विना सम्भव नभएको भन्दै अध्यक्ष रिमालले यसले नेपाली श्रमिकलाई विदेशिनु नपर्ने वातावरण निर्माण गर्ने बताउनुभयो ।
उहाँले नयाँ संविधान जारी भएसँगै अधिकार प्राप्तीको आन्दोलनलाई अव प्राप्त संवैधानिक अधिकारलाई प्रभावकारी कार्यान्वयनमा लैजानेतर्फ केन्द्रीत गर्नुपर्ने धारणा राख्नुभयो । सामाजिक सुरक्षा ऐन, श्रम ऐन लगायतलाई यथासक्य छिटो पारित गर्दै श्रमजीवि नेपालीको अधिकार सुरक्षित गर्नु अहिलेको मुख्य आवश्यकता भएको उहाँको भनाई थियो ।
हायर एण्ड फायर प्रति अझै पनि कतिपय श्रमिक सशंकित रहेको भन्दै अध्यक्ष रिमालले काम गरेको पहिले दिन देखि नै श्रमिकले सम्पूर्ण सेवा, सुविधा पाउने गरी श्रम ऐनलाई लचिलो बनाउन खोजिएको र यसले श्रमिकलाई कुनै हानी नगर्ने उहाँ बताउनुभयो । अव जारी हुने श्रम ऐनले अनौपचारिक क्षेत्र, घरेलु काम, कृषि लगायत सम्पूर्ण क्षेत्रलाई समेट्ने अपेक्षा प्रकट गर्दै रिमालले आफूहरुले सहअस्थीत्वको माग गरेको धारणा राख्नुभयो । २०४७ सालदेखि जिफन्टले उठाउँदै आएका मागहरु अहिले पुरा भएको र अन्य ट्रेड यूनियनहरु पनि त्यहि बाटोमा आइपुगेको भन्दै खुशी प्रकट गर्नुभयो ।
सभामा जिफन्ट महासचिव विष्णु लम्सालले शिकागोमा मारिएका चारजना श्रमिकको स्मरणमा मनाइने मे दिवस नेपालमा भव्यताका साथ मनाइने गरेको जानकारी गराउनुभयो । उहाँले राजनीतिक अधिकार प्राप्त नभएको समयमा समेत यो दिवसलाई सोही कुरामा केन्द्रीत गर्ने गरिएको भन्दै अव जिफन्टले नयाँ संविधानको प्रभावकारी कार्यान्वयनमा आफूलाई केन्द्रीत गरेको जानकारी गराउनुभयो ।
सो अवशरमा विमोचित कविता संग्रह शाही तवेलाका बुढा घोडाहरुका सर्जक उमेश उपाध्यायले २०६२ को आन्दोलनका चरमकालमा सिर्जना गरिएका कविताहरुलाई आफूले ढिलो गरी भएपनि सार्वजनिक गर्नपाउँदा खुशी लागेको बताउनुभयो । उहाँले कविताहरु सम्पूर्ण शहीदहरुप्रति समर्पण गर्दै यसलाई मे दिवस २०१६ को उपहारका रुपमा लिइदिन आग्रह पनि गर्नुभयो ।













प्रतिक्रिया