काठमाडौं, १९ वैशाख । चुरेभावर क्षेत्रलाई समेटेर अलग संघीय प्रदेश बनाइनुपर्ने मागसहित आन्दोलनरत चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले आफ्नो सांगठनिक र जनजागरणको गतिविधिलाई अगाडि बढाएको छ ।
चुरेभावर पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले सुनसरीदेखि मकवानपुरसम्मका विभिन्न जिल्ला घुमेर भरखरै काठमाडौं आइपुगेका छन् ।
त्यसक्रममा उनले जिल्लाहरूमा संगठन सुदृढीकरण, आन्दोलनको तयारी, जनजागरणलगायतमा स्थानीय नेता तथा कार्यकर्तासँग परामर्श गरेका थिए ।
‘हामी आन्दोलनमा छौँ’, अध्यक्ष न्यौपानले दैनिक नेपाल डटकमसँग कुरागर्दै भने, ‘फेरि आन्दोलन चर्काउने तयारी गरिरहेका छौं । जिल्लाका नेता तथा कार्यकर्तालाई आन्दोलनको तयारीमा जुट्न निर्देशन दिएको छु ।’
मधेसी मोर्चासहितका दलहरू आबद्ध संघीय गठबन्धनले आन्दोलन सुरू गरेपछि बल्ल तपाईहरूले आन्दोलन गर्न थाल्नु भएछ नि ? भन्ने जिज्ञासामा चुरेभावर पार्टीका अध्यक्ष न्यौपानेले भन्नुभयो, ‘कसले के गर्छ हामीलाई थाहा छैन । चुरेभावर क्षेत्रलाई समेटेर अलग संघीय प्रदशेन बनाइनुपर्छ । यो माग पूरा गराउन दबाब दिने उदेश्यले हामी आन्दोलनमा उत्रिएका हौँ ।’
संघीय गठबन्धनको आन्दोलनलाई काउन्टर दिने गरेर तपाईहरू किन आन्दोलनमा आउन थाल्नुभएको हो ? भन्ने जिज्ञासामा न्यौपानेले भने, ‘हाम्रो आन्दोलन कैसका विरुद्ध होइन । माग पूरा गराउन दबाब दिन पनि नपाइने ?’
विगतमा आफ्नो पार्टीसँग भएको नौँ बुँदे सहमति कार्यान्वयन, अवैध रुपमा वितरण भएको नागरिकको छानविन, चुरे क्षेत्रको संरक्षण, नेपाली सेनाको व्यावसायिककरणलगायतका माग राखेर आन्दोलनरत चुरेभावर पार्टीले अबको आन्दोलन राजधानीमा हुने संकेत गरेको छ ।
‘चुरेभावर क्षेत्रका जिल्लाका साथै अबको हाम्रो आन्दोलन काठमाडौंमा पनि हुन्छ’, अध्यक्ष न्यौपानेले भन्नुभयो, ‘हाम्रो आन्दोलन कसै विरुद्ध छैन । शान्तिपूर्ण हुन्छ । जनतालाई दुःख दिने गरेर कुनै आन्दोलन गर्ने छैनौँ । तर, कसैले जनतालाई दुःख दिने काम गरेमा भने चुरेभावर पार्टीलाई सैह्य हुँदैन ।’
आन्दोलनका लागि स्थानीय नेता तथा कार्यकर्ताको दबाब रहेको बताएका अध्यक्ष न्यौपानेले भने, ‘अबको आन्दोलन वारपारको हुन्छ ।’












प्रतिक्रिया