काठमाडौं, १८ वैशाख । डडेल्धुराको बागबजारमा शुक्रबार विहानैदेखि लागेको आगोलाई नेपाली सेनाको गरुड दल गणले नियन्त्रणमा लिएको छ ।
शुक्रबार डडेल्धुरास्थित अमरगढी नगरपालिका ६ बागबजारमा रहेको स्थानीय गणेश भट्टको घरबाट सल्किएको आगोले भीषण रुप लिएको थियो ।
भट्टको घरमा भाडामा किराना पसल सञ्चालन गर्दै आएका स्थानीय टेकराज पाण्डेको घरमा खाना पकाउने ग्यास चुहावट भई सल्किएको आगोलाई गरुड दल गणका गणपति एवं प्रमुख सेनानी श्रवण कुमार विष्टको कमाण्डमा खटिएको ७७ जनाको सैनिक टोलीले ४ घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएको सैनिक जनसम्पर्क निर्देशनालय जंगी अड्डाले जनाएको छ ।
ग्यास चुहिएर लागेको आगो पाण्डेको घरसँगै जोडिएका अन्य घरहरुमा फैलिएको थियो । आगो नियन्त्रणमा लिएको सुरक्षा फौजको संयुक्त प्रयासबाट सँगै जोडिएका अन्य घरहरु क्षति हुनबाट जोगिएका छन् ।
आगो नियन्त्रणमा अन्य सुरक्षा फौज र स्थानीयहरुको समेत सहभागिता थियो । आगलागी हुँदा दुई वटा पक्की घर पूर्ण रुपमा जलेर नष्ट भएको र अन्य सामाग्रीसहित करिब १ करोड ५ लाख बराबरको भौतिक क्षति भएको प्रारम्भिक रिपोर्ट समेत नेपाली सेनाले सार्वजनिक गरेको छ ।
उक्त नगरपालिकामा दमकल समेत तयारी अवस्थामा नहुँदा बढी क्षति भएको स्थानीयहरुले बताएका छन् । ‘सेना नभएको भए पुरै बजारै खरानी हुन्थ्यो’ स्थानीय दीपक पन्तले भने ।














प्रतिक्रिया