२५ कार्तिक २०८३, बुधबार

संघीय गठबन्धनलाई फेरि लाग्यो झट्का, मधेशी मोर्चाभित्र खटपट शुरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morcha-madeshi

काठमाडौं, १८ वैशाख । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय गठबन्धनको नाममा शुरू गरिएको राष्ट्रिय आन्दोलन काठमाडौं बाहेक पहाडको कुनै पनि जिल्लामा देखिएको छैन् ।

तीन दिन पहिले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम ७५ वटै जिल्लामा गरिने बताईए पनि तराई मधेशको २० जिल्ला बाहेक काठमांडौंमा मात्र देखियो । गठबन्धनको नाममा २७ वटा दल भए पनि मधेशी मोर्चामा आबद्ध ७ वटा दलको मात्र सक्रियता देखिएको थियो ।

यस्तै शुक्रवार सरकारी कार्यालयमा कालो झण्डा लगाउने काम पनि मधेशका केही जिल्लामा मात्र सीमित हुन पुग्यो । काठमाडौंमा आदिवासी जनजाति संस्थाहरूले गर्ने भनेको आन्दोलन सांकेतिक रूपमा पनि गरेनन् । पहाडका कुनै जिल्लामा यस्तो कार्यक्रम देखिएन भने तराईसंगै जोडिएको मकवानपुर, चितवन, उदयपुरमा समेत आन्दोलनको कुनै संकेत नदेखिनु संघीय गठबन्धनको आन्दोलनको राष्ट्रिय स्वरूप फ्लपनै भएको विश्लेषण हुन थालेको छ र यसले मधेसवादी दलको आन्दोलनलाई अर्काे झट्का दिएको छ ।

मधेशमा मात्रै आन्दोलन गर्दा केही उपलब्धि नभएको दावा गर्दै उपेन्द्र यादवले मधेशी मोर्चालाई निस्तेज पार्दै केही जनजाति संस्थालाई मिलाएर संघीय गठबन्धन बनाएका थिए । तर, प्रभावहीन संस्थाहरूको संघीय गठबन्धनले आन्दोलनमा न त कुनै उर्जा नै थपियो न मधेश बाहेकका कुनै जिल्लामा जनसहभागिता नै बढायो । संघीय गठबन्धन बनाएर मधेशी मोर्चालाई निस्तेज बनाएको आरोप उपेन्द्र यादव माथि लाग्यो । गठबन्धनका घटक दलहरूले समेत अब संघीय गठबन्धनको औचित्यमाथि प्रश्न उठान थालेका छन् ।

तमलोपा महासचिव जीतेन्द्र सोनलले सार्वजनिक कार्यक्रममै संघीय गठबन्धन र उपेन्द्र यादवको आलोचना गरेका थिए । बारा जिल्लाको कलैयामा तराई मधेश विद्यार्थी फ्रन्टको अधिवेशनमा बोल्दै तमलोपा महासचिव सोनलले संघीय गठबन्धनमा मधेशको अधिकार दिलाउने क्षमता नरहेको बताएका थिए । सोनलले उपेन्द्र यादवको आलोचना गर्दै आफ्नो निजी स्वार्थका लागि मधेशी मोर्चालाई समाप्त पार्ने षडयन्त्र गरेको आरोप समेत लगाए ।

उता तमलोपाका अर्का केन्द्रिय सदस्य र पूर्व सभासद बिपी यादवले संघीय गठबन्धनको आडमा उपेन्द्र यादवले आफ्नो पार्टी विस्तारको काम मात्रै गरेको आरोप लगाए । मधेशी मोर्चालाई संघीय गठबन्धनबाट अलग गर्ने अभियानमा सक्रिय रहेका बिपी यादवले उपेन्द्र यादवको पार्टीलाई मोर्चाबाट निकालेर भएपनि मधेशी मोर्चालाई फेरि सक्रिय बनाउने र मोर्चाको नेतृत्वमा नै आन्दोलन गर्ने बताई रहेका छन् ।

उपेन्द्र यादवको विशेष पहलमा गठन गरिएको यस संघीय गठबन्धनदेखि मोर्चा आबद्ध कुनै दल सन्तुष्ट नभएको कुरा बाहिर आउन थालेका छन् । अशोक राईसंग एकीकरण भए देखिनै उपेन्द्र यादव मधेश र मधेशीसंग टाढिन थालेका छन् ।

आफूलाई राष्ट्रिय नेता बनाउने दाउँमा उपेन्द्रले पहिले पार्टीको नामबाट मधेशी हटाए । पार्टीलाई राष्ट्रिय स्वरूप दिन कतिपय मधेशी नेताहरूलाई पार्टीबाट निष्कासित गरे । पछिल्लो समय भएको मधेश आन्दोलनमा उनको सक्रिय भूमिका रहेन किनभने आन्दोलनको नेतृत्व मधेशी मोर्चाले गर्दै थियो । मधेशी मोर्चाको नाममा भएको आन्दोलनलाई राष्ट्रिय आन्दोलन देखाउन र मधेशी नामबाट पन्छिन उनले त्यही बेला संघीय गठबन्धन बनाएका थिए । आन्दोलनको क्रममा संघीय गठबन्धनको बैठक बोलाउने र गठबन्धनकै ब्यानरमा आन्दोलन गरि मधेशी मोर्चालाई साईड गर्ने उनको योजना थियो ।