इटहरी, १७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेपालको प्रधानमन्त्री रहुन्जेल कोही पनि नेपाली भोकै नमर्ने बताएका छन् ।
नेकपा एमालेका अध्यक्ष ओलीले शुक्रबार धरान नगरको सातौँ नगर अधिवेशन उद्घाटन गर्दै कोही नेपालीले त्यस्तो समस्या भोग्नुपरेको छ भने तत्काल सरकारलाई सूचना दिन आग्रह गरे ।
प्रधानमन्त्री ओलीले भूकम्पमा नेपालका विभिन्न जिल्लामा आठ लाख घर तथा नौ हजार सरकारी कार्यालय तथा विद्यालय र ऐतिहासिक धरोहर लगायतको भौतिक संरचना ध्वस्त भएको स्मरण गराउँदै गरिब अशक्त र विपन्न समुदायका लागि सामूहिक घर बनाउने योजना रहेको र ती चाँडै निर्माण गरी आगामी असारभित्र त्यस्ता परिवारलाई ओतमुनि ल्याइसकिने जानकारी गराए ।
उनले एमालेले पनि भूकम्प प्रभावितका घर बनाउन विशेष तालिमप्राप्त स्वयम्सेवक परिचालन गर्ने जानकारी दिए। उनले मधेसकेन्द्रित दलमध्ये तमलोपाका अध्यक्ष महन्थ ठाकुरसँग पनि भूकम्प प्रभावित क्षेत्रमा तराईका युवालाई स्वयम्सेवकका रुपमा खटाउन अनुरोध गरिएको जानकारी दिए ।
सरकारले यस वर्ष ल्याउने बजेटमा गरिबी निवारणका लागि आउने कार्यक्रमको खाका देखेर विपक्षीहरु अहिले नै तिलमिलाइसकेको विचार व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले कोशी राजमार्गको जोगबनी–किमाथाङ्का जोड्ने सडक दुई लेनको हुने र त्यो दुई वर्षभित्र निर्माण गरिसक्ने सरकारको योजना रहेको जानकारी दिँदै धरानको पूर्वपट्टि सेउती खोलाका किनारबाट ‘बाइपास’ भएर त्यो सडक जाने पनि बताए ।
उनले सोही अवसरमा धरान–चतरा–उदयपुर भएर हेटौँडा जोड्ने सडक पनि निर्माण हुने तथा हेटौंडा–काठमाडौं जोड्ने सडकसँगै मेचीदेखि पश्चिम कञ्चनपुरसम्मको रेलमार्ग बनाइने जानकारी दिए ।
प्रधानमन्त्री ओलीले धरानको बहुजातीय सङ्ग्रहालय निर्माण गर्न सरकार प्रतिबद्ध छ भन्दै जमिन कमी रहेकाले त्यसको व्यवस्थापन गरेर धरानवासीले चाहेअनुरुपको बनाउन सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गरे। उनले हरेक सहरमा खेल मैदान लगायत भौतिक पूर्वाधार निर्माण गर्न पनि सरकार प्रतिबद्ध रहेको स्मरण गराए ।
अर्को प्रसङ्गमा प्रधानमन्त्री ओलीले भने–“नेपाली जनताले आफ्नो भविष्य सुन्दर बनाउनका लागि नयाँ संविधान निर्माण गरेका हुन्, यो संसारकै उत्कृष्ट छ र परिवर्तनीय छ ।”
संविधानमा केही छैन भनेर चित्त नबुझाउने सबैलाई सरकारका तर्फबाट सहमति र छलफलबाट समस्याको समाधान निकाल्न आह्वान भइसकेको बताउँदै प्रधानमन्त्री ओलीले शनिबार त्यही विषयमा छलफल हुने भएकाले सबै असन्तुष्ट दललाई बैठकमा भाग लिन आह्वान गरे । रासस













प्रतिक्रिया