काठमाडौं, १७ वैशाख । नेकपा एमालेका युवा नेता महेश बस्नेतले युवा तथा खेलकुद विभागको सदस्य पद अस्वीकार गरेका छन् ।
एमालेको नवौं महाधिवेशनपछि पूर्णता पाउन नसकेका ३१ विभागमध्ये महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा गठित कार्यदलले अध्यक्ष केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेताहरुसँग छलफल गरी विहीबार १९ वटा विभागका सदस्यहरुको नाम टुंगो लगाएको थियो ।
जसमा युवा तथा खेलकुद विभागको प्रमुखमा कर्णबहादुर थापा र सदस्यमा पूर्व उद्योगमन्त्री समेत रहेका युवा नेता महेश बस्नेतलाई राखिएको छ । बस्नेत थापालाई विस्थापन गरी उद्योगमन्त्री बनेका थिए । तत्कालिन सुशील कोइराला सरकारमा थापा उद्योगमन्त्री थिए । पछि उनलाई फिर्ता बोलाएर एमालेले बस्नेतलाई सरकारमा पठाएको थियो ।
आफ्नो नाम विभागको सदस्यमा राखिएपछि विहीबारै सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेखी युवा संघका पूर्व अध्यक्ष बस्नेतले आफू सदस्य पदमा नबस्ने जानकारी दिएका छन् ।

उनले भनेका छन्- ‘नेकपा एमाले केन्द्रीय युवा तथा खेलकुद बिभागको सदस्य भनी मेरो नाम प्रचारमा आए छ । कतिपय साथीहरुले फेसबुकबाट र फोनबाट पनि बधाई दिनुभयो । म पार्टीको उक्त बिभागको सदस्य हुने या भएको बिषयमा कोहि साथीहरू तथा नेता ज्यूहरुसँग कुनै सल्लाह या सोधनी भएको पनि छैन । तसर्थ म उक्त बिभागमा छु भनी गलत प्रचार नगरी दिन आग्रह गर्दछु । कुनै मित्रले सहानुभूति प्रकट गरि उक्त बिभागमा राख्नु भएको भए उहाँलाई आभार प्रकट गर्दै उक्त पदमा म नरहेको ब्यहोरा जानकारी गराउदछु । युवा संघको पूर्व अध्यक्षको हैसियतले नै म युवा आन्दोलनमा निरन्तर खटिरहने छु ।’
उनको यस्तो स्टाटसपछि एमालेमा खैलाबैला मच्चिएको छ । उनले किन सदस्य पदमा अस्वीकार गरे भन्ने बारेमा पनि बहस भइरहेको नेताहरु बताउँछन् ।
यस्तो छ स्टाटसः













प्रतिक्रिया