– विकाश पराजुली
बुटवल, १७ वैशाख । कपिलबस्तुको सिवगढी गाविस वडा नं. ६ का प्रेमबहादुर थारु तीनदेखि अस्पतालमा बसिरहेका छन् ।
रोजगारका लागि भारत पुगेका उनी काम गर्ने कम्पनीमा खुट्टा थिचिएपछि नेपाल फिर्ता भएर उपचारका लागि अञ्चल अस्पतालमा उपचारका लागि आएका हुन् । तीन दिन वितिसक्दा पनि उनको खुट्टाको उपचार अझै हुन सकेको छैन । डाक्टरले उनलाई अझै ३ दिन लाग्ने बताएको छ । उनी भन्छन्– ‘तीन दिन वितिसक्यो, अझै कति दिन लाग्ने हो, खर्च समेत सकिन आटिसक्यो ।’
२९ वर्षीय थारु भारतमा सामान्य खुट्टाको उपचारपछि नेपाल आएर अञ्चल अस्पतालमा उपचारका लागि आएका हुन् । उनले भने– ‘सरकारी अस्पताल भनेको यही हो, खुट्टाको उपचार गर्न सातादिनभन्दा बढी बस्नुपर्ने रहेछ ।’ थारुका २ छोरी छन् । उनी मात्र हैन् अर्घाखाँचीको मरेङ गाविस वडा नं. ५ बाट आएकी कमला लम्सालको पनि उस्तै व्यथा छ । कोखो दुखेपछि उपचारका लागि दुईदिनअघि अस्पतालमा आएकी उनी कहिले कर्मचारीको आन्दोलन त कहिले डाक्टरको हेलचेक्राईले अझैसम्म उपचार गराउन सकिरहेकी छैनन् । उनी भन्छिन्– ‘२ दिन भइसक्यो, अझै कति दिन लाग्छ थाहा छैन् अब निजीमै उपचार गराएर घर जाने सोचमा छु ।’
थारु र लम्साल त प्रतिनिधी पात्र मात्र हुन । उनीहरु जस्ता अञ्चल अस्पतालमा आउने सेवाग्राहीको गुनासो अस्पतालबाट प्राप्त हुने सेवाभन्दा बढी छ । समयमानै बिरामीको उपचार तथा सेवाग्राहीलाई प्रभावकारी सेवा दिन नसकेको अञ्चल अस्पताल बेला बेलामा चर्चामा आउने गर्दछ ।
सेवा प्रभावकारीता नभएको गुनासो अञ्चल अस्पताललाई भइरहँदा अहिले अञ्चल अस्पताल अप्रत्यासित रुपमा सेवा शुल्कमा बृद्धि गरेको छ । सेवा प्रभावकारितामा चासो नदिने अञ्चल विकास सममितिले एक्कासि शुल्कमा करीव ७७ प्रतिशतसम्म शुल्क वृद्धि गरेपछि सेवाग्राही अचम्म परेका छन् ।
२०७३ वैशाख १ गतेदेखि परिमार्जित दर रेटमा अस्पतालले शुल्क लिन शुरु गरी सकेको छ । स्वास्थ्य सेवालाई सर्वसुलभ र जनताको पहुँचमा पुगाउनुभन्दा पनि अति आवश्यकीय सेवामा अस्पतालले एकैपटक शतप्रतिशतसम्म सेवा शुल्क वृद्धि गर्दा समेत कसैको ध्यान पुग्न सकेको छैन् ।
अञ्चल अस्पतालले रेडियोलोजी, अप्रेशन, ल्याव, आईसियु, ईसिजी, अडियोग्राम, प्लाष्टर र डेन्टल शुल्कमा अप्रत्याशित शुल्क बृद्धि गरेको हो । अन्यको तुलनामा सबैभन्दा बढी दन्त सेवामा वृद्धि गरिएको छ । दाँतको उपचारअन्तर्गत आईएम एफको २५ सयबाट ५ हजार, फ्ल्याप सर्जरी ५ सयबाट १ हजार, एन्टिरियोर टिथमा ८ सय बाट १५ सय, डेन्टल माईनर सर्जरीमा २ सयबाट ४ सय मूल्य वृद्धि भएको छ ।
त्यसैगरी, प्लाष्टर तिथ पर मोलर १ हजार बाट १५ सय पुगाइएको छ । डेन्टल एक्सेरे ५० बाट १ सय,सेलिङग १ सय ५० बाट ३ सय, डेन्डल म्यानर सर्जरी (टाईप ३) ४ सयबाट ८ सय पुगाइएको छ ।
त्यसैगरी, रेडियोलोजीतर्फ युएसजी ३ सय ५० बाट ५ सय पुगाइएको छ । अप्रेशन चार्ज मेजरमा ३ हजारबाट ५ हजारसँगै अन्य धेरै जसो अप्रेशन शुल्कमा वृद्धि गरिएको छ भने ल्याबमा पनि शुल्क वृद्धि भएको छ ।
आईसियुमा ईसिएचओको ७ सयबाट बढाएर १ हजार पुगाइएको छ । भेन्टिलेटरमा भने ३ हजारबाट बढाएर ४ हजार बनाइएको छ । ईसिजीमा १ सय २५ बाट २ सय र ईन्डोस्कोपी ३ सय ७५ बाट ७ सय ५० रुपैया पुगाइएको छ । अडियोग्रामतर्फ १ सय २५ बाट २ सय ५०, टिएम १ सय बाट १ सय २५ र पिटिए १ सय २५ बाट १ सय ५० रुपैया वृद्धि गरिएको छ ।
प्लाष्टरमा पनि रकम बृद्धि गरिएको छ । अब ओपिडी टिकट १० बाट बढेर ३० पुगेको छ । ईमरजेन्सी टिकट पनि १० बाट ३० रुपैयाँ पुगेको छ । क्याविन शुल्क प्रतिदिन ५ सय रहेकोमा ३ सय बढेर ८ सय पुगेको छ ।
लुम्बिनी अञ्चल विकास समितिको मिति २०७२ चैत ७ गते बसेको समितिको बैठकले शेवा वृद्धि गर्ने निर्णय गरेको हो । यस क्षेत्रको सामान्य गरिब जनताले सेवा लिने महत्वपूर्ण अस्पतालको रुपमा रहेको लुम्बिनी अञ्चल अस्पतालले आम नागरिको भावना बिपरित शुल्क वृद्धि गरेको सेवाग्राहीहरु बताउँछन् ।
अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले आफूलाई शुल्क के कारणले बढाइएको हो भन्ने बारेमा विकास समितिले केही नबताएको बताए । उनले भने– ‘खै किन के कारणले बढ्यो त्यो मलाई जानकारी छैन्, शुल्क बढेकै हो ।’
अस्पतालका नवनियुक्त मेडिकल सुपरटेन्डेन्ट डा. विकास देवकोटाले विहिबार छलफलमा शुल्क वृद्धिको कुनै कुरा नभएको र आफूले शुल्क वृद्धिका अध्यायन गर्दै गरेको बताए । उनले शुल्क वृद्धिको प्रतिशत हेरेर केही परिमार्जित गर्न सकिने भन्दै त्यसका केही समय कुर्नुपर्ने बताए । उनले भने– ‘शुल्क बृद्धि कहिले देखि भएको छैन्, कति भएको छ, त्यो हेरेर घटनाउनु परे विकास समितिसँग छलफल हुन्छ ।’
अञ्चल विकास समितिका अध्यक्ष डा. प्राश्चित श्रेष्ठलाई बारम्बार सम्पर्क गर्दा समेत उनी सम्पर्कमा भने आउन सकेनन् । आर्थिक वर्ष २०७२/०७३ को अर्धवार्षिक समीक्षामा ६ करोड १३ लाखको आम्दानी भएकोमा ४ करोड ८९ लाख खर्च भएको देखिन्छ ।












प्रतिक्रिया