काठमाडौं, १६ वैशाख । मानव अधिकारकर्मी चरण प्रसाइँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्ति लोकमान सिंह कार्की जनआन्दोलनका दमनकारी रहेको भन्दै उनलाई कारबाहीको कुनै अधिकार नरहेको दाबी गरेका छन् ।
प्रसाइँले आज बिहान नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमललासँग कुरागर्दै साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई व्यक्तिगत प्रतिशोधका कारण पक्राउ गरेको दाबी गरे । ‘लोकमान सिंह कार्की जनआन्दोलन दमनकारी हुन्’, उनले भने, ‘दमनकारीलाई लोकतन्त्रका लागि लडेका व्यक्तिलाई कारबाही गर्ने कुनै अधिकार छैन ।’
अख्तियारको प्रमुख लोकमान सिंह कार्की हुनु हुँदैन भनेर विरोध गर्दा आफू पक्राउ परेको बताएका अधिकारकर्मी प्रसाइँले भने, ‘लोकमान सिंहले लोकतन्त्रको उपहास गरिरहेका छन् ।’
राप्रपा नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापा पनि जनआन्दोलनका दमनकारी रहेको बताएका प्रसाइँले भने, ‘कमल थापा जस्ता व्यक्तिलाई उपप्रधानमन्त्री बनाएर लोकतन्त्रको खिल्ली उडाइएको छ । उपहास गरिएको छ ।’
तपाईहरूले युरोपियन यूनियनको डलर पचाउ लोकमान सिंह कार्कीको विरोध गर्नुभएको हो ? भन्ने प्रश्नको जवाफमा अधिकारकर्मी प्रसाइँले भने, ‘त्यो बोल्नु अगाडि होस गरेर बोल्नुस् । पैसा लिने बाध्यता सरकारले गरिदिएको हो । सरकारले पैसा लिन छुट दिएपछि लिन्छौँ । सरकारले रोकिदियो भने हामीले विदेशी डलर लिँदैनौँ ।’
कनकमणि दीक्षित पक्राउ परेको विषयमा आक्रोशित देखिएका अधिकारकर्मी प्रसाइँले भने, ‘कनकमणि दीक्षितले कमाएको सबै सम्पत्ति पारदर्शी छ । सहि छ । अख्तियारलाई किन चासो ? यो सबै व्यक्तिगत रिसिइवी हो ।’
प्रसाइँले दीक्षितलाई तत्काल छाड्न अख्तियार प्रमुख कार्कीसँग माग गरे । उनले भने, ‘कनकमणि दीक्षित निर्दोष छन्, अख्तियारले छाड्नुपर्छ ।’












प्रतिक्रिया