२९ आश्विन २०८३, बिहिबार

थर भयो भन्दैमा भर नपर ओलीजी…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oli

– प्रदीप ढुंगाना

ओलीज्यु …
आजकाल न त फोन नै गर्छाै न त फेसबुकमा म्यासेज नै । किन यती धेरै निर्दयी भयौ हँ ओली ? पहिले सँगै हिँडेको, डुलेको केही याद त तिमीलाई पनि आउँदो हो । समयले कोल्टे फेर्दैमा यति धेरै निष्ठुरी हुनसक्छ र कोही । यस्ता घटनाक्रमहरु त चलचित्रमा मात्र देखेको थिएँ । तर वास्तविक जीवनमा पनि गुन र बैगुनको खाता खोलेछौ तिमीले । आफ्नो अनुकूल हुँदा त निकै भावनात्मक अनि संवेगात्मक नाताहरु जोड्ने तिमी ओली आजकाल निकै फरक भएछौ । गल्ती अन्जानमै भएको भए पनि जानेर गरे झैं लाग्दैन मलाई । तिम्रो हालचाल बुझ्नैको लागि पत्र कोर्दै छु, आशा छ प्रतिउत्तर आउँछ होला । फेसबुक, इमेल इन्टरनेटको जमानामा पनि पत्र कोर्दैछु भन्दा आश्चर्य लाग्ला तिमीलाई । तर आश्चर्य नमाने हुन्छ । फेसबुकमा र इमेलमा पठाएका पत्रहरुको कुनै उत्तरहरु आएनन् त्यसैले पत्र कोर्दैछु ।

कहिले कही त म पनि निकै भावनामा डुब्छु । निकै सोच्दछु म आखिर किन ओली भइन । समय ओलीहरुकै रहेछ । साउदीको खाँडीमा भए पनि तिम्रो मेरो चिन्जान करिब १ बर्ष भन्दा माथि नै छ । इतिहास हेर्ने हो भने कुनै दिन निकै नै माया पे्रम र स्नेह थियो हामीबीचमा । सायद विपरित लिंगी भएको भए तिमीले मलाई निकै सम्झिन्थ्यौ होला । समय यस्तो छ कि तिम्रो माया पाउनैका लागि म चाहेर पनि लिंग परिर्वन गर्न सक्दिन । तिमी त त्यस्तो अवस्थताको कल्पना पनि गर्न सक्दैनौ किनकी तिमी ओली हौ । अहिले साउदीमा छौ र के भो नेपाल र नेपाली जनताको भाग्यको रेखा कोर्ने या मेट्ने त ओली ज्यू नै होनी । त्यसैको धङ्धङ्गी तिमीमा पनि रहेछ ।

आज तिमी जुन स्थानमा छौ त्यसमा केही प्रतिशत श्रेय मेरो पनि होला । हिसाबै माग्न खोजेको हैन तर स्मरण तिमीले पनि गर्नु जरुरी छ । समयले कोल्टे फेर्दै छ । समय अहिले तिम्रो साथमा छ परिस्थितिहरु तिम्रा अनुकुल छन् । अहिले वचश्र्व ओलीहरुकै छ । आजकाल यसैले गर्दा तिमी प्रफुल्लित भएका छौ । जस्तो सुकै अवस्था र अवसर अनि अप्ठ्यारा आई परे पनि तिमी पनि खाडीमै जीन्दगी खोजी रहेका छौ म पनि । तिमीमा घमण्ड हुनु स्वभाविक पनि होला, किनकी नेपालका प्रधानमन्त्रीसँग तिम्रो थर मिल्छ ।

तर, भ्रममा नपर्नु किनकी तिमी पश्चिमको ओली हौ भने प्रधानमन्त्री पूर्वको ओली । थरै मात्र मिलेको हो बाँकी केही पनि मिल्दैन । तिमी एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डको युद्धकालीन कार्यक्षेत्र रोल्पाका ओली हौ । गर्व यस पक्षमा गर कि कहिँ कतै अझै एकीकृत नेकपा माओवादीले काठमाडौंलाई संसार र सिहंदरबारलाई सम्पत्ति मानिरहँदा यदा कदा तिम्रो रोल्पालाई सम्झिरहन्छ । तर तिमै्र ओलीले कति सम्झिँदा हुन् । यदा कदा तिम्रा ओलीले रोल्पाको नामै नलिएको हैन । माओवादीलाई गाली गर्न र उखान टुक्का भन्नका लागि एक दुई वाक्य रोल्पाको बारेमा बोलेका होलान् । यति भन्दैमा माया गरे भन्ने भ्रममा नपर तिमी ओली । यसरी थरमै आशा र भरोसा खोज्ने हो भन मेरा थरधारी त तारानाथ रानाभाटको भटट…मै खेर गए । हुन त कागलाई बेल पाक्यो हर्ष न बिस्मात भने झै भटट … आयोगमा रानाभाट सँगै उनी पनि पत्ता साफ भएर हराए ।

दुई चार वटा उखान टुक्का मलाई पनि आउँछ किनकी म पनि ओलीलाई माया मात्र गर्दिन की आवश्यक पर्दा पहरेदारी अनि खबरदारी पनि गर्छु । मैले ओली सरकार र ओलीहरुलाई सहयोग नै गरेको छु । कोमल ओलीले बिहे गर्नलाई केटा नपाएर तिजमा शीव भगवान्लाई आड बनाउँदै पोइल जान पाम भन्ने गीत गाउँदा मनोकामना पुरा होस् भनेर सदीक्षा राखेकै थिएँ । जीवनको उत्तराद्र्धमा गीतैले मात्र र रेडियो नेपालको समाचार वाचनले मात्र हुँदैन भन्ने मनसायले दाङमा मिनिरल वाटर कम्पनी खोल्दा पनि ओलीहरुको जय होस् त भनेकै हो तर याद गर तिमी दाङ जाँदा र तिर्खा लाग्दा तिमी ओली भएकै भरमा कोमल वलीको कोमल जल सितैमा पिउँन पाउँदैनौ होला ।

तर मेरै घर छिर्दा आत्मग्लानी मान्दैनौ भने अतिथि सत्कार गर्न म तत्परै छु । थर र जातकै आड लिएर जीवनमा धेरै मान्छे अगाडि बढेका पनि देखेकै छु । त्यही कोही कसैलाई हेरेर यसरी भावनात्मक नाता तोडदै छौ भने केही समय पछि पछुताउनु पनि पर्न सक्ला । कोही लाशमाथि जीवन खोज्दछन त कोही लाशसँगै जीवन समाहित पनि गर्दछन् । तिमी हामी त परदेसी । परदेसीको सपनामा हाम्रो घर परिवार हाँस्छ, बाँच्छ अनि नाच्छ । तिम्रो हाम्रो जीवनको पनि के भरोसा कुन दिन बाकसले माया गर्न पनि सक्छ । तर सबैको भाग्य खुश्बु ओलीको जस्तो पनि नहुँदो रैछ । कहिले डनको लाशमाथि प्रेमी भन्दै रुने तर लाशमाथीको राजनीतिले जीवनको ढोका नखुल्ने देखेपछि बैबाहिक जीवनमा बाँधिने । तर, प्रसंग जता भए पनि मेरो तर्फबाट शुभकामना । उनी ओली नै भएको भरमा चर्चामा रहिन् । नेपालका प्रधानमन्त्री ओलीज्यू नै वैवाहिक कार्यक्रममा सरिक हुँदै आशिर्वाद दिए । यतिमात्र हैन उनले ठूलै पदीय जिम्मेवारी दिँदै आफ्नो बाँचा पुरा पनि गरेका छन् । तिमी पनि ओली हौ, तिमीलाई पनि केही गरिदेलान् । तर तिमी खाडी राष्ट्रमा छौ के नै गर्न सक्लान र ?

समग्र नेपाली कामदारको हक हितमा एउटा खाँका बनाएर कुरा गर्न आइज भनेर साउदी सरकारले भन्दा त केही गर्न नसक्ने जम्बो टोली मात्र पठाउने ओलीले तिम्रा लागी केही गरिदेलान झैं लाग्दैन । भूकम्प पीडितलाई सहयोग र राहत दिनुपर्नेमा राहतको नाममा नियमावली र बैंकबाट ऋण लिने वातावरण मिलाईदिएको छु भन्दै भारतीय टेलिभिजनमा अन्तर्वार्ता दिएर देशको स्वभिमान जोगाउने र चर्चामा आउने काम गरेको ओली सरकारले गर्ने बाँकी काम त हेर्दै जाउँ । देशको शान र आङ खस्न नदिने भन्ने ओली सरकारले कति महिलाहरु आङ खस्ने रोगबाट ग्रसित हुँदा उपचार नपाइ रहेको अवस्थामा ४० थरीको औषधि निःशुल्क वितरण गरेको छु भन्ने ओली आफैं पनि अनुदानको जिन्दगी बाँचिरहेका छन् । तिमी ओली हौ ओली भएकाले कुल पूजा र ओली जात्राहरुमा भेटहुँदा बोलिदिए नै तिमी भाग्यमानी ठान्नु ।

यता, दाहाल थर भएकाले पुष्पकमल दाहाल प्रचण्डको दम्ब छर्दै दौडलान, ओलीको त सरकारै छ । सापकोटा जे जस्तै भए पनि अग्नि सापकोटालाई हेर्दै त्यही अनुरुपको सिको गर्लान् । भट्टराई बाबुराम जस्तै चित्त नबुझ्दैमा भिन्नै बस्छु भनेर बाबुलाई थर्काए झैं मीठोको आशमा अर्कै चुल्लो बाल्लान् । पश्चिम मेरो हो र म पश्चिमको मसिहा हुँ भन्दै अनेकौ बिल्ला भिरेर अन्तत कोइराला बिरासतबाट कांग्रेस छुटाएर आफ्नै हो भने देउवाहरुको पनि दम्ब कम नहोला । यता पौडेलहरु रुँदै पक्कै बसेका छैनन् । रामचन्द्र पौडेल पटक–पटक संसद्देखि कांग्रेसकै महाधिवेशन मात्र नभई हरेक स्थानमा हार बेर्होनकै लागि उम्मेदवारी दिएर कांग्रे्रेसको केही प्रतिशत संस्थापकप्रतिको बफादारी पनि निभाइरहेका छन् । ‘माझी दाईले जुनिभरी डुंगा तारी रह्यो’ भन्ने गीत जस्तै भएको छ । उनलाई डुंगा बनाए र धेरैले कांग्रेसको राजनीतिमा आफ्नो खुट्टा दरो बनाएका छन् ।

समयमा बर्षा नहुँदा र किसानलाई बैकल्पिक पानीको व्यवस्था नहुँदा पनि रामबहादुर थापा ‘बादल’लाई हेरेरै कतिले चित्त पनि बुझाएकै छन् । किनकी उनी ‘बादल’ हुन न पानी पारी पो दिन्छन् कि । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवका कारण यादव थर पनि राम्रै अब्बल स्थानमै आउँछ । अझ तराई आन्दोलनमा यादव थर भएकाहरुको वर्चश्वले गर्दा पनि होला यादवहरुसँग बोल्नै डराउनु पनि पर्ने अवस्था छ । यता जनजातिहरु सभामुख नेम्वाङ हाम्रो हो भन्दै गफ छाँट्नमा अगाडि नै छन् ।

यता आफ्नो साख जोगाउन थापाले हिन्दु राष्ट्र र राजतन्त्र भन्दै आफूलाई स्थापित गराईरहेका छन् । सरसर्ती हेर्दा राष्ट्रिय राजनीतिमा रहेका थरहरुले नेपालीलाई बेला बखत फुस्रो ध्वाँस छर्ने स्थान प्रशस्त दिएको छ । जात र थरका भरमा कसैले दम्ब अनि कसैले प्रश्रय पाउनु हुँदैन । कसैलाई बिना ल्यागत बिना दक्षता काखि च्याप्नु पनि राम्रो होइन तर जसको हातमा पावर छ अहिलेसम्म बिना नियम कानुन सबैले आफ्नै खिचडी पकाइरहेकै छन् । यस्ता पाटोहरुमा गरिएका खबरदारीहरु पनि अन्ततः पार्टी व्यक्ति अनि थरहरुमै गएर गाँसिदो रहेछ, बिडम्बना । थर र जातहरु भन्दा धेरै माथि उठेर देश विकासमा सबै हातेमालो गर्न अब ढिला नगरौं । बेर भइसकेको छ तर अबेर भएको छैन ।