काठमाडौं, १२ वैशाख । गत १२ वैशाखको भूकम्पले घर भत्काएपछि टहरामा पुगेका चाँगुनारायण– ३ का सन्तोष थापाले वर्ष दिन त्यहीँ गुजारे । साउनको मुसलधारे पानी र पुसको कठ्यांग्रिँदो ठन्डी खेपेको उनको परिवार अहिलेको प्रचण्ड गर्मी पनि टहरामै काटिरहेको छ ।
थापा र उनको परिवारले जसरी टहरामा कष्टपूर्ण जीवन बिताइरहेका भूकम्पपीडित भक्तपुरमा धेरै छन् । भूकम्पको वर्षदिन बित्दै गर्दा आइतबारबाट पुनर्निर्माण अभियान पनि सुरु हुँदै छ । फसिदेगबाट सरकारले पुनर्निर्माण थाल्दै छ । तर, भूकम्पपीडितमा उत्साह भने थपिएको छैन । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
टहराको बासमा खेपेको दुःख मात्र होइन, घर बनाउन सरकारले दिने भनेको दुई लाख रुपैयाँले कसरी घर बनाउनु भन्ने चिन्ताका कारण पनि भूकम्पपीडितमा उत्साह नभएको हो । ‘सरकारले अहिलेसम्म दिएको २५ हजार रुपैयाँ सामान्य खर्चमै सकियो, अरू रकम पाएका छैनौँ’, थापाले भने, ‘सरकारले घर बनाउन दिने भनेको दुई लाख रुपैयाँले जग हाल्न पनि पुग्दैन, कसरी घर बनाउने भन्ने चिन्ता छ ।’
भूकम्पले भत्काएका संरचनामा पुरिएर यहाँ तीन सय ३० जनाको मृत्यु भएको थियो । सरकारले तिनका परिवारलाई किरिया खर्चबापत ४० हजार तथा एक लाख रुपैयाँ राहत वितरण गरेको छ ।
जिल्ला दैवी प्रकोप उद्धार समितिका अनुसार मृतकका परिवारलाई चार करोड १३ लाख रुपैयाँ राहत वितरण गरिसकिएको छ । पीडितलाई परिचयपत्र पनि दिइएको छ ।
समितिका अनुसार सरकारले भूकम्प प्रभावितका लागि तत्कालीन राहतस्वरूप जिल्लामा २४ करोड ६७ लाख रुपैयाँ बजेट दिएको थियो । समितिले यो बजेटबाट २३ करोड रुपैयाँ खर्च गरिसकेको छ । यस रकममध्येबाट अस्थायी आवास निर्माणका लागि १९ करोड रुपैयाँ खर्च गरिएको छ ।















प्रतिक्रिया