यदि तिमीले कोहीबाट केही चिजको आशा गरेका छैनौ भने तिमी कहिले पनि दुखी हुँदैनौ । तर, आशा गरेको छौ र पाएनौ भने तिमी जति दुखी कोही पनि हुँदैन । आशा गर्नु र नगर्नु मान्छेको स्वभाव हो । व्यक्तिगत रुपमा आशा नगर्नुले व्यक्ति खुसी हुन्छ, तर मुलुकका लागि आशा नगर्ने हो भने मुलुक दुखी हुन्छ । सामुहिक आशा अवश्य गर्नुपर्दछ । लोकतन्त्र प्राप्त गरेको पनि ११ वर्ष वित्न केही दिन बाँकी छ । एक दशक एक वर्षको यो दौरानमा नेपालले कति सरकार पायो, कति विकास गरेको होला ? यसको लेखाजोखा हुन सकेको छैन । सरकारहरु फेरिए तर मुलुकको मुहार फेरिएन, कारण के हो ? सरकारमा पुग्नेहरुको चरित्र, उनका आसेपासेहरुको चरित्र र कर्मचारीतन्त्रको व्यवहार यसको मुख्य जिम्मेबार हो भन्ने लाग्छ । समय यस्तो उल्टो दिशातिर दौडिरहेको छ की एक दशकमा धेरै उल्टा निर्णयहरु पनि जनताले गरेर देखाए । यसको अर्थ हो, दशकअघिको लोकतान्त्रिक लडाइमा तत्कालिन राज्यको गृहमन्त्रीका रुपमा रहेका कमल थापालाई गणतान्त्रिक मुलुकको उपप्रधान तथा परराष्ट्रमन्त्री बन्नेसम्मको सौभाग्य दिलाउनु असामान्य राजनीतिक परिवर्तन हो । तर, के लोकतन्त्र संरक्षित भयो ? जनताको आशा र अधिकारहरु संरक्षित भए त ?
३ घन्टाभन्दा बढी समय पर्खिएर तीन मिनेट आफ्ना दलका नेता वा मन्त्रीलाई भेटेपछि उनीहरु दंग पर्छन् । तर, यो एउटा भयानक पीडाको रुपमा बुझें मैले । मुलुक पछि पर्नुको कारण भनेकै राजनीतिक दल सत्तापुगेपछि हुने दुरुपयोगपूर्ण व्यवहार, चरित्रको पीडा रहेछ ।
वितेका ७ वर्षमा नेपालको मुल प्रशासनिक केन्द्र सिंहदरबार परिसमा गत साता प्रवेश गरेको थिएँ, दोस्रो पट । त्यसअघि भनेको गत वर्ष भूकम्प जाँदा त्यस परिसरमा प्रवेश गरिएको थियो । सिंहदरबार, त्यहाँभित्रका प्रशासनिक केन्द्र, केन्द्रमा विराजमान रहेका मन्त्रीगणहरु र उनका भरौटेहरुको चुरीफुरी बलियो देखियो । लाग्यो, सत्ता बलियो रहेछ । मन्त्रीका वरिपरिका आसेपासेहरुको बल भस्मासुर भन्ने दैंत्यको कथा पढेजस्तो लाग्यो । हामी हिन्दु धर्मग्रन्थमा पढ्छौं, महादेवलाई भेट्नका लागि नन्दी भ्रिंगीहरुको अनुमति लिनु पर्दथ्यो । यसको अर्थ उनीहरुले समय नमिलाईकन महादेवसँग भेट असम्भवप्राय हुन्थ्यो । हो, यहि शैलीको संरचनामा प्रत्युत्पादन भइरहेको सिंहदरबारभित्रका नन्दी भ्रिंगीहरुको कथा अनौठो छैन । यो शक्ति कसरी भयो ? यो ताकत कहाँबाट आउँछ ? कुर्सीले दिने ताकत हो, कुर्सीको दुरुपयोगको उपज हो । एउटी वेश्याको शरिर भन्दा पनि कुर्सीको मोह भयानक मिठो हुँदो रहेछ, सायद । त्यसैले कुनै एक मन्त्रालयको प्रतिक्षालयमा २ घन्टाभन्दा धेरै पर्खिँदा पनि उपल्ला वर्गको पहुँचको केन्द्रमा पुग्न कठिन संघर्ष गर्नुपर्ने बाध्यताबाट नेपाल अहिले पनि गुज्रिरहेको छ । विकल्पको लोकतन्त्रको अर्थ शुन्यप्राय देखिरहेको थिएँ, मैले सिंहदरबारमा ।
दैनिक हजारभन्दा बढि मानिसहरु आफूले जिताएका नेतासँग भेट गर्नका लागि सिंहदरबार प्रवेश गर्छन् । आफ्ना गाउँका, आफ्ना ठाउँका विकासका, दुःखका व्यथाहरु लिएर सिंहदरबार छिर्नु एउटा पीडादायी कथा बन्ने रहेछ । खै कसले कति नोट गर्छ त्यहाँ ? ३ घन्टाभन्दा बढी समय पर्खिएर तीन मिनेट आफ्ना दलका नेता वा मन्त्रीलाई भेटेपछि उनीहरु दंग पर्छन् । तर, यो एउटा भयानक पीडाको रुपमा बुझें मैले । मुलुक पछि पर्नुको कारण भनेकै राजनीतिक दल सत्तापुगेपछि हुने दुरुपयोगपूर्ण व्यवहार, चरित्रको पीडा रहेछ ।
एउटा राजनीतिक दलका युवा नेताका अनुसार कुर्सीमा पुगेपछि मान्छेको शरिरमा फरक किसिमको तन्तुको सक्रियता बढ्छ । जस्तोसुकै मान्छे पनि कुर्सीको पहुँचमा पुग्नासाथ उसको व्यवहारमा परिवर्तन आउनुको कारण त्यहि तन्तुको सक्रियता हो । भावनात्मक रुपमा मान्छेमा आत्मरतीको फरक जोस पलाउँछ, कुर्सीमा बसेको मान्छेको मात्र होइन, उसका वरिपरि घुम्ने नन्दी, भ्रिंगीहरुको पनि त्यस्तै व्यवहार हुन थाल्छ । सत्तालाई केही समर्पण गर्नसक्ने शक्तिको रुपमा भन्दा पनि आयआर्जनको अवसरका रुपमा राजनीतिक दलका नेताहरु, तिनका वरिपरिका कार्यकर्ताहरुले लिने गरेका कारणले नै नेपाली राजनीति धुमिल हुँदै गएको हो । कुर्सी बाहिर हुँदा केही गर्छु, केही गर्नुपर्छ भन्ने तर सिंहदरबारभित्र पसेपछि मन्त्रालयमा देखिने झकिझकाउले मान्छेको मन स्वार्थमा परिणत गर्दाको परिणति नै हो, नेपाल अल्पविकसीत मुलुकको सूचीमा रहनुको मुख्य कारण । स्वतन्त्रताको दुरुपयोग गर्नु भनेको स्वतन्त्रताकै लागि खतरा हो, शक्तिको दुरुपयोग भनेको पनि लोकतन्त्रविरोधी काम गर्नु हो । तर, लोकतान्त्रिक व्यवस्थामा आएर शक्ति केन्द्रमा पुगेका कारणले नै लोकतन्त्रको उपहास गर्नेहरु, लोकतान्त्रिक मान्न सकिँदैन । लोकतान्त्रिक चरित्रमा, व्यवहारमा र प्रक्रियामा निरन्तर रहनुपर्छ ।
यो यथार्थ बुझ्न नसकेको राजनीतिक दललाई जिम्मेवारीको भारी बोकाएर सिंहदरबार पठाउँको दृश्यले मन कुँडिन्छ । यसर्थ, अझै समय विति नसकेका कारणले पनि म ती दल र मन्त्री र मन्त्रीका .भतुवाको जागिर खानेहरुलाई भन्छु मन्त्री तिमीले बनाएको होइन, सिंहदरबारको कुर्सी कसैका लागि तिमीले राखिदिएको होइन । त्यो कुर्सीमा आम साधारणले दिनभरी भोकै लाइन बसेर लगाएको स्वस्तिक चिन्हको महत्व छ, भूमिका छ ।
राजनीतिमा साँघुरो दायरामा रहँदा जनताका दैलोमा जाँदा आशा र भरोसाका अनेक आश्वासनहरु दिएर जब निर्वाचनमा मतहरुको थुप्रो आइपर्छ अनि त्यहि जनतालाई समय दिन नसक्ने राजनीतिक नेतृत्वको कुनै पनि अर्थ हुँदैन । चार वर्ष अघिसम्म यस्तै चरित्र बोकेको एउटा राजनीतिक पार्टी सत्तामा पुगेपछि, उनका अध्यक्ष मन्त्री भएपछि उनको च्याम्बरमा पर्खिरहेका उनकै पार्टीका सांसदहरुको पीडामात्र होइन, उनका क्षेत्रका जनताहरुको निराश र मलिन्द्र अनुहारमा हाँसिरहेका कथित मन्त्रीका पिएहरुको घमन्डले भरिएको चेहरा देख्दा म चकित भएँ । मैले बारम्बार साथीहरुलाई प्रश्न गर्छु, साथी सिंहदरबार केही उर्जाशील काम गर्नका लागि केही समयका लागि त्यहाँ अवसर दिइएको हो, यस्तो व्यवहारले काम चल्दैन । तर, उनीहरुको आत्मरतीको बाँधको दायरा अलिक फरक भइसकेको पाइयो । जहाँ शक्ति केन्द्रमा रहेका मानिसहरु विना सम्पर्क सरासर मन्त्रीहरुको च्याम्बरमा कफीसहित मजाक गर्ने समय पाउँछन् र आफ्नै क्षेत्रका मानिसहरु, जनताहरु, साधारण मानिसहरुका लागि लामो पर्खाइको घेरा राखिन्छ । सडकमा हुँदा हारगुहार गर्ने तर शक्तिमा हुँदा वास्ता नगर्ने स्वार्थी प्रवृत्तिका कारणले नै नेपाली राजनीतिक क्षेत्रमा मानिसहरुप्रति आम विश्वास पलायन हुँदै गएको हो । राजनीतिक दल भनेको आफ्नो विचार राख्न पाउने संस्था भएका कारणले नै नेपालको कानुनले पनि संगठन खोल्ने अधिकार दिएको हो । तर, जहाँ विचारको कुनै स्थान छैन, त्यसलाई राजनीतिक दल भन्ने की नेपालीको कर्म फुटाउने दलदल भन्ने ?
म पर्खिरहेको थिएँ, मन्त्रीज्यूले समय दिनुहुनेछ, चाँडै भनेर । उहाँको पनि ३ वटा मन्त्रालयमा समय दिनुपर्ने बाध्यता थियो । खैर, समय नै मिलेन भने पनि पत्र छाडेर जाउँला भन्ने सोच थियो । तर, मन्त्रालयमा भिआइपी भनिने सुकिलामुकिलाका लागि वेग्लै समय र जनताका लागि वेग्लै समयको चाँजो मिलाइएको हुँदो रहेछ । एक निमेष पनि नपर्खी कफीको स्वादमा सेता केशधारी महामानवले च्याम्बरमा निर्वाध प्रवेश पाउनुुभयो, हामी हेरेका हेरै भयौं । तर, मन्त्रीज्यूका सांसदभन्दा हामी भाग्यशाली बन्न पुग्यौं, किनभने सांसदहरुभन्दा अगाडि हामीले मन्त्रीज्यूलाई दर्शन भेट गर्न पायौं । यो तेस्रो विश्वको साधारण समस्याको बारेमा म चर्चा गरिरहेको छु ।
तेस्रो विश्व भनेको विचारहरुको राज्यमात्र हो, हाम्रा अनेक घमण्डहरु परिवर्तन गर्न आवश्यक छ अन्यथा नेपाल कुनै त्यस्तो विश्वमा पर्नेछ जुन चौथो, पाँचौ या छैठौंका रुपमा गणना हुनेछ । नेपाल अहिले विचारहरुको राज्य हो । यहाँ युवाको उत्पादन, निर्यात र व्यापार बस्तुनिष्ठ हिसावले भएकाले अहिलेसम्म टिक्न सकेको छ अन्यथा फगत विचार र तर्कहरुको भुमरीभन्दा केही पनि छैन । यो यथार्थ बुझ्न नसकेको राजनीतिक दललाई जिम्मेवारीको भारी बोकाएर सिंहदरबार पठाउँको दृश्यले मन कुँडिन्छ । यसर्थ, अझै समय विति नसकेका कारणले पनि म ती दल र मन्त्री र मन्त्रीका .भतुवाको जागिर खानेहरुलाई भन्छु मन्त्री तिमीले बनाएको होइन, सिंहदरबारको कुर्सी कसैका लागि तिमीले राखिदिएको होइन । त्यो कुर्सीमा आम साधारणले दिनभरी भोकै लाइन बसेर लगाएको स्वस्तिक चिन्हको महत्व छ, भूमिका छ । त्यसकारण आम जनतालाई सिंहदरबारको मन्त्रालयबाहिर घन्टौं कुराएर राख्ने दुश्प्रयत्न तिम्रो जागिरको वफादारिता हो भने तिम्रो मालिकको भविष्य फेरि त्यही आम साधारणले केही वर्षपछि कोरिदिनेछ, याद राखेको राम्रो । यसकारण सत्तारुढ सवैलाई सुझाव छ, सत्ता क्षणिक सुख हो ।
















प्रतिक्रिया