पार्टीको भावी नेतृत्व लिन अहिलेबाटै कम्मर कसेर देश दौडाहामा लागेका नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल यतिबेला पार्टीभित्र प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रत्यक्ष टक्कर दिने नेताको रुपमा रहेका छन । उनले पार्टीको हालै सम्पन्न केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार सञ्चालन र पार्टी सञ्चालन दुबै विदामा खुलेर आलोचना गरे । उनले पार्टीभित्र अध्यक्ष स्वयमले गुट चलाएको र सरकार पनि प्रभावकारी रुपमा चलाउन नसक्दा जनचाहना पुरा हुन नसकेको आरोप लगाए । यी सहित मुलुकको समसामयिक राजनीतिक विषय बस्तुमा नेता नेपालसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानीः
मुलुकको समस्याको समाधान बर्तमान सरकारले दिन सक्छ ?
बर्तमान सरकार नेकपा एमालेको नेतृत्वको सरकार हो । यसमा केपी शर्मा ओलीले नेतृत्वको जिम्मेवारी पाउनु भएको छ । यसअर्थमा उहाँले नेकपा एमालेको भावना, नेपाली जनताको चाहना र सबै पार्टीको पनि अन्तर्य देशको हित, समाजको कल्याण अन्तर्यलाई बुझेर छलफल परामर्शको तरिका बुझेर अगाडि बढ्नु पर्छ ।
त्यसो भए सरकारले एमाले र जनताको भावना बुझेर काम गर्न सकेन ?
कुरो र कुलो जता लगे पनि हुन्छ भने जस्तो कुरो उता लानु भएन । यस्तो प्रश्नहरु सोध्नु हुँदैन । कुनै पनि ब्यक्ति प्रफेक्ट हुँदैनन । मुख्यतय कुरा के हो भने देखि सामूहिक भावनाबाट जाँदा खेरी सफल होईन्छ । सबैको सल्लाह परामर्श लिएर, सबैको मन जितेर, सबैको विश्वास जितेर जाँदा खेरी अवश्य पनि सफलता हासिल हुन्छ ।
पार्टीमा त तपाईको कुरा कसैले सुन्दैनन, घर न घाटको हुनु भयो नि ?
हा हा हा, म घर न घाटको छैन । म आफ्नो ठाँउमा छु, मेरो आफ्नै ब्यक्तित्व छ, मेरो आफ्नै पहिचान छ, मेरो आफ्नो ईतिहास छ र मेरो आफ्नो खुबी, क्षमता जे छ, कमीकमजोरीसहितको म आफैमा एउटा ब्यक्तित्व हु ।
पार्टी अध्यक्षले तपाईको कुरा सुन्नु हुँदैन ?
एकै पटक यस्तो कुरामा पुग्नु हुँदैन । सबैको विश्वास जित्ने, सबैको मन राख्ने तरिकाले लिडरसिपले चल्यो भने सबै खुसी हुन्छन । सबैले त्यही जिम्मेवारी बोधको भावना राख्छन ।
प्रधानमन्त्रीले माधवकुमार नेपालभित्र एउटा र बाहिर अर्को कुरा गर्नु हुन्छ भनेर आरोप लगाउनु भएको छ नि ?
छैन, छैन । किनकी माधवकुमार नेपाल यस्तो ब्यक्ति हो जसले गणतन्त्र ल्याउँछु भन्ने संकल्प गर्यो र ल्याई छाड्यो । माधवकुमार नेपाल यस्तो ब्यक्तित्व हो जसले प्रचण्डलाई शान्ति प्रक्रियामा ल्याउछु भनेर निर्णय गर्यो र ल्याई छाड्यो । माधवकुमार नेपाल यस्तो ब्यक्ति हो जसले २०४७ सालको संविधान बनाउँछु भनेर लाग्यो र संविधान बनाई छाड्यो । माधवकुमार नेपाल यस्तो ब्यक्ति हो जसले आगामि सरकार एमालेको भन्ने नारालाई सफल बनाएर एमालेको नौ महिने सरकार गठन गर्यो । माधवकुमार नेपाल यस्तो ब्यक्ति हो जसलाई गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्री बनाउनु पर्छ भनेर सात दलको बैठकमा राख्दा एक मतका साथ सबैले भने । गिरिजाबाबुले मलाई स्वभाविक रुपमा अगाडि बढ्न भन्नु भयो र मैले प्रधानमन्त्रीको रुपमा मलाई दिएको जिम्मेवारीलाई मैले बखुबी त्यत्रो चुनौति जसलाई सामना गर्ने धेरैको आट हुँदैन, कतिपयको सातो गईसकेको थियो, सामान गर्न सकिदैन सम्भव छैन भनेर मेरा निकटका मान्छेहरुले भनिरहेका थिए । तर ति सबै कुरालाई पन्छाएर मैले एक्लो अठोट गरेर सबैको साथ प्राप्त गरेर त्यो काम पुरा गरे । सातौ महाधिवेशनमा संविधानसभाको बारेमा हामीले निर्णय गरेनौ । तर परिस्थिति अनुकुल भयो भने केन्द्रीय कमिटिले निर्णय गर्ने भन्यो त्यही अनुसार गरियो । माधव नेपाल एउटा भन्ने अर्को गर्ने दोहोरो चरित्रको मान्छे होईन ।
माधवकुमार नेपाल पद लोलुप हो ?
माधवकुमार नेपाल पद लोलुप भएको भए महासचिव पदबाट राजिनामा दिन्थ्यो । दुई दिन भए पनि अझै बस्थ्यो होला नि । पद छाड्दिन भन्थ्यो होला, कसैले राजिनामा त मागेको थिएनन नि । पद लोलुप भएको भए प्रधानमन्त्री पदबाट हट्ने थिएन । मान्छे प्रधानमन्त्रीको पदमा एक दिन भए पनि मर्न चाहन्छन मान्छे । अहिले पनि मसँग त्यो विषयलाई लिएर एमाले र नेपाली काग्रेसका नेताहरु रिसाएका छन । विजय गच्छदारजीलाई सोध्नुस उहाँ रिसाउनु भएको छ । एमालेभित्रकै साथीहरु रिसाउनु भएको छ, स्वयम केपी शर्मा ओलीजी रिसाउनु भएको छ ।
१५ बर्ष पार्टीमा महासचिव भएको ब्यक्ति फेरि अध्यक्षमा उठेर पराजित हुनु भयो नि ?
त्यो कुन ठूलो कुरा हो र ।
तपाई सर्वमान्य नेता भएर बस्न सक्नु हुन्थ्यो नि ?
सर्वमान्य भनेको सबै गणेशमान भएर बस्न सक्छ । मेरो स्वभाव भनेको गणेशमान जि जस्तो भएर बस्ने छैन । मेरो स्वभाव गतिशिल छ । म कार्यकारी स्वभावको मान्छे हुँ । कृष्णप्रसाद भट्टराई जस्तो खाली आर्दशको कुरा गरेर चल्ने मान्छे होईन । म मुलुकलाई परिवर्तन गर्नु पर्छ भन्ने भावना बोकेको, उर्जा बोकेको र म खुवी र क्षमता भएको, यसरी मुलुक हाक्नु पर्छ भन्ने योजना भएको मान्छे हो ।
प्रधानमन्त्रीले माधवकुमार नेपाल फेरि दोहोरिन चाहनु हुन्छ तर मलाई लोभ छैन भन्नु भएको छ नि ?
म पनि दोहोरिन चाहन्न, एक पटककोलागि मात्रै हो । अहिलेसम्म म महासचिव मात्रै भएको थिए, अध्यक्ष भएकै थिईन । एक चोटी मात्रै म पनि अध्यक्ष हुन्छु त्यसपछि लड्दिन ।
त्यसो भए तपाईले पार्टीभित्र गुट उपगुट गर्नु भएको छ ?
छैन । सारा कार्यकर्ताले भनिरहेका छन तपाईले यो मुलुक हाक्नु पर्छ, पार्टी हाक्नुपर्छ भनेर अनि कार्यकर्ताको भावना बुझ्नुपर्दैन । प्रधानमन्त्रीले के भन्नु हुन्छ त्यो उहाँको कुरा हो । महाधिवेशनमा ७३ वटा भोट त मेरो मात्रै ब्लाङक छ । मेरा चालिस जना मान्छे त्याँ भए पनि एक दिन अघि भोट नखसालेर केही ईण्डिया र यूरोपको टिकट काटेर पठाईएको छ । त्यसकारण मैले जितेकै हो नि ।
त्यसो भए तपाई महासचिव ईश्वर पोख्रेललाई अध्यक्ष बनाउने पक्षमा हुनुहुन्न ?
ईश्वर पोख्रेल अध्यक्ष बन्नु हुन्छ, बन्नु हुन्न मलाई थाहाँ नै छैन ।
तपाई यूवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न चाहनु हुन्न ?
यूवा पुस्ता भनेको को हो ? ईश्वर पोख्रेल त मेरो हाराहारीको उमेरको मान्छे हो । कार्यकर्ताले भन्छन भने म जिम्मेवारी दिन तयार छु । अमेरिका जस्तो मुलुकमा ७३ वर्षका मान्छे राष्ट्रपति पदमा उठिरहेका छन । ६७ वर्षकि हिलारी क्लिन्टन राष्ट्रपति पदमा उठेकी छिन । त्यहाँ यूवा पुस्ताका कुरा चल्दैनन । यूवाहरु मात्रै भनेर हुँदैन । लिडरसिप भनेको विश्वासको पनि कुरा हो ।
त्यसो भए एमालेको भावी अध्यक्ष तपाई नै हो ?
तीन वर्ष बाँकी छ । अहिले अध्यक्ष बन्ने कुरा हुँदैन । कार्यकर्ताको माग अनुसार जिल्ला जिल्ला गएको हुँ । कार्यकर्ताले माग गर्दा नजाने हो भने के म कोठामा थुनिएर बस्नु पर्ने ? कार्यकर्ता आएपछि मैले ढोका बन्द गर्ने कि स्वागत गर्ने ? कार्यकर्ताले मलाई माया गर्नु हुन्छ, मैले कार्यकर्तालाई सम्मान गर्छु । स्वभाविक रुपमा पार्टी कार्यकर्ताको माझमै जम्ने हो, फस्टाउने हो, हुर्किने हो र नेता कार्यकर्ताको विचमा नै स्थापित हुने हो । कार्यकर्ताले माधव नेपाललाई मन पराउँछन भनेर ईश्र्या राखेर, डाहा गरेर, भित्रभित्रै पोलेर कोही बस्नु हुन्छ भने मैले केही गर्न सक्दिन ।
त्यसो भए एमाले पार्टीमा गुट उपगुट छैन ?
एमाले पार्टीभित्र गुट छ, गुट चलाईरहेका छन, गुटका मान्छेहरुले आफ्नो मनपरी गरिरहेका छन । यो हुनु हुँदैन ।
प्रधानमन्त्रीले त गुट छैन भनेर भन्नु भएको छ नि ?
ती मिठा कुरा हुन । मिठा कुराले हुँदैन, काम गर्नुपर्छ । एउटा पंक्तिका विद्यार्थीहरुलाई विहान देखि बेलुकासम्म बालुवाटारमा भोजभतेर, आफ्नो विपक्षका मान्छेलाई कहि भोज भतेर खुवाएको सुन्नु भएको छ ?
तपाईले यो कुरा पार्टी अध्यक्षलाई भन्न सक्नु भएन ?
मैले यो कुरा बैठकमा उठाएको छु । यो समस्यालाई हल गर्नुपर्छ, समाधान गर्नुपर्छ । गुटबन्दीले कसैलाई फाईदा गर्दैन ।
सरकारले जनचाहना अनुसार काम गर्न नसकेको गुनासो आईरहेको छ, यसले एमालेलाई घाटा भएको छैन ?
यस्तो नितान्त निजी कुराको विषयमा म धेरै भन्न चाहन्न । यो सरकारले आफ्नो काम र आफ्नो गतिलाई तिब्र बनाउनु पर्छ । भ्रष्टाचारलाई पहिलो सत्रु ठानेर उभिनु पर्छ । कमिसन तन्त्र, कालाबजारी, मुल्यबृद्धि गर्नेहरु, तस्करहरु, माफियाहरुको जालोलाई तोड्नु पर्छ । काम समयमा सुरु गर्ने र समयमै सम्पन्न गर्न सक्न पर्छ । सरकारले केही गर्न सकेको छैन भन्ने जनताको गुनासो छ भने त्यसलाई उहाँले सुन्नु पर्यो र त्यसलाई सुधार्नकोलागि के गर्नु पर्छ कानून बदल्नु पर्छ कि, संरचनामा परिवर्तन गर्नु पर्छ कि, मान्छे फेर्नु पर्छ कि त्यो गर्नु पर्छ । सबै भन्दा पहिला आफ्ना वरिपरि रहेका मान्छेहरुको अनुहार हेर्नु पर्यो ।
तपाई प्रजातान्त्रिक विचारको मान्छे. पार्टीमा एक मान्छे एक पदको अवधारणा लागु हुन सकेन नि ?
त्यो पदमा नआउँदासम्म गफ गरिएको विषय मात्रै हो । पदमा आईसकेपछि सबै पद ओगट्ने प्रबृत्ति त हाम्रो नेपाली समाजमा छदैछ ।
त्यसो भए केपी शर्मा ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्ष मध्ये एक पद छाड्नु पर्छ भन्ने तपाईको मान्यता हो ?
मैले त्यस्तो केही भनिरहेको छैन । सारा मान्छेहरु पदमा नआउँदासम्म ठूला ठूला कुरा गर्छन, लोकतन्त्रको कुरा गर्छन, प्रजातान्त्रिकरणको कुरा गर्छन । बन म्यान वन पोष्टको कुरा गर्छन । पदमा आईसकेपछि न प्रजातन्त्र चाहियो न लोकतन्त्र चाहियो न एक ब्यक्ति एक पदको कुरा चाहियो सबै कुराहरु हावा खान्छन ।
सरकार परिवर्तन गर्ने बेला भएको हो ?
यो सरकारलाई आफ्ना कमि कमजोरी सुधारेर आउ भनेर भन्ने बेला हो । आफ्नै पार्टीको सरकारलाई मैले ढाल्ने भन्ने कुरा गर्न मिल्दैन ।
तपाई भित्र भित्र यो सरकारको पक्षमा हुनु हुन्न ?
कस्ले भन्यो यो । यो सरकारलाई म विस्थापित गर्न चाहन्न ।
तपाई राष्ट्रिय सहमतिको सरकारको नेतृत्व नगर्ने ?
अहिलेको परिवेश भित्र मैले यो कुरा गरेको छैन । अरु सबै बन्छु भन्दै मुखमा लड्डु खादै हिडे भने अरुले पनि हिड्न मिल्छ ? यो हावादारी कुरा हो । मलाई अहिले कसैले त्यस्तो प्रस्ताव गरेको छैन र प्रस्ताव ल्याएको पनि छैन । कसैलाई तपाईलाई स्वर्ग जाने भनेर प्रस्ताव राख्यो भने तपाई स्वर्गको राजा बन्ने हो र । अहिले हामीले त्यस्ता किसिमका चाहना र आकांक्षा भन्दा पनि यो मुलुकको निर्माण गर्ने काम, मुलुकको विकास गर्ने काम, यूवाहरुलाई रोजगारी उपलब्ध गराउने काम, देशभित्र रोजगारी सृजना गर्ने काम, आर्थिक विकासलाई तिब्रता प्रदान गर्ने काम, भुकम्प पीडितहरुलाई पुनःस्थापना गर्ने काम, क्षतिग्रस्त संरचनाका पुनःनिर्माण गर्ने काम, देशको नवनिर्माणको महाअभियान सञ्चालन गर्ने काममा जुट्ने हो ।
तर नेपालमा त कुनै पनि नेताले काम गर्न सकेनन नि ?
गर्न सकेनन भन्ने होईन । मेरै पालामा फाष्ट ट्रयाक सिलान्यास गरेर ट्रयाक नै खुल्यो । अन्तर्राष्ट्रिय एयरपोर्टको विषयमा कसैले दाङ, कसैले मकवानपुर, कसैले चितवन भनेर गफ मात्रै हाके, मैले निजगढमा भनेर निर्णय नै गरिदिए । मेरै पालामा पोखरा रलुम्बिनीमा एयरपोर्टको निर्णय गराए ।
नाका खुलेको दुई महिनावितिसक्यो तर अहिलेसम्म ग्यास पाउन सकिएको छैन ?
अभाव छ, तर त्यसमा सरकारको जति ध्यान जानु पर्ने हो जान सकेको छैन । यसबाट शंका के खडा हुन्छ भने कतै यी भ्रष्टहरुसँग साठगाठले गर्दा खेरी यो अवस्था त सृजना भएको होईन ?
सरकारका मान्छेहरुको साठगाठ भ्रष्टहरुसँग छ ?
सरकारका मान्छेहरुको त पक्कै छ । क कस्को छ त्यो थाहाँ छैन तर दुनियाँले देखिरहेको छ । खास खास ब्यापारीहरु कुनै मन्त्री विशेषको निवासमा सधै चक्कर लगाईरहेका हुन्छन । बेडरुममा समेत प्रवेश पाईरहेका हुन्छन । उनीहरुसँगको सम्बन्ध के हो, कतै उनीहरु आर्थिक पार्टन त भईसकेका छैनन ?
तपाई मधेसबाटै हुनु हुन्छ तर मधेसको समस्या समाधान गर्न सक्नु भएन नि ?
मधेसको समस्या बास्तवमा खासै केही पनि छैन । मधेसले हिजो २०५ निर्वाचन क्षेत्र हुँदा जति निर्वाचन क्षेत्र पाएको थियो आज पनि त्यो भन्दा कम पाउँदै छैनन । अहिले झुठा प्रचार गर्दैछन । संविधानमा भएको यथार्थ कुरा नबताएर झुठा कुराको जुन प्रचार भएको छ त्यो प्रचारको पछि नलाग्नुस ।
तपाईलाई मधेस विरोधी नेताको रुपमा जनताले हेर्न थाले नि ?
छैन । मलाई त मधेसी जनताले आफ्नो नेताको रुपमा ठान्छन । मलाई विजयी बनाए । म आफ्नो घर यो बीचमा गएको छु ।
सीमांकनको कुरा कसरी टुङग्याउने त ?
सीमांकनमा स्पष्ट के छ भने झापा, मोरङ र सुनसरीले हामी यता आउँदैनौ भनेका छन । मधेसी बस्ने वित्तिकै त्यो मधेसमा लाने होईन । मधेसी त काठमाडौमा पनि बस्छन के काठमाडौलाई मधेसमा लाने हो र ?
तपाईहरुले स्वायत्त प्रदेश मधेस दिने कुरा गर्नु भएको होईन ?
त्यो अनुसार मधेस प्रदेश भएको छ । सम्झौतामा हस्ताक्षर गराउने मान्छे म हुँ । सम्झौता त देखाउने कुरा हो तर भित्री कुरा के भने कुनै एउटा ठाँउमा मधेसको प्रदेश बनाई दिने । समथर भुभाग मधेसमा भन्ने कुरा होईन । जनसंख्याको सम्बन्ध हेर्नु पर्छ भने सबैको सम्बन्ध जोडिएको छ पहाडसँग, मधेससँग कम छ अनि त्यो ठाँउलाई मधेस प्रदेश बनाउने भन्ने कुरा हुँदैन । मधेस मात्रै छुट्टै प्रदेश मिल्दैन । मधेस, हिमाल र पहाड प्रदेश भन्ने नेपालमा सम्भव छैन । मधेसी दलहरु आन्दोलनमा गए पनि त्यो सम्भव छैन ।
शेरबहादुर देउवाले मधेसको समस्या समाधान गर्न कांग्रेस तयार छ भन्नु भएको छ नि ?
तयार छ भने उहाँले कैलाली र कञ्चनपुर मधेसमा मिसाए भई हाल्यो नि । उहाँ तयार हुनु हुन्छ भने कैलाली कञ्चनपुरलाई मधेसमा ल्याईदिए हुन्छ ।
तपाई चाँही झापा, मोरङ, सुनसरी छाड्न चाहनु हुन्न ?
मैले के गर्ने ? त्यहाँ जनता तयार छ भने हुन्छ ।
एमाले मधेसको मुद्दामा किन हल्का फुल्का टिप्पणी गरेर समय खेर फाल्दैछ ?
हल्काफुल्का टिप्पणी गर्नु हुँदैन । तर यो मधेसको समस्या होईन, मधेसी नेताहरुको समस्या हो । समस्या भनेको डिलिङ र ब्यवहारको समस्या मात्रै हो ।
मधेसी मोर्चा आन्दोलनमा गएपनि तपाईहरु सम्झौता गर्न तयार हुनुहुन्न ?
जायज कुरामा किन सम्झौता नगर्ने ? उहाँले भनेको घाईतेलाई उपचार गर्ने कुरा ठिक हो । मरेका मान्छेका परिवारलाई क्षतिपूर्तिको कुरा पनि ठिकै हो । मुद्दा मामिलाको कुरा पनि ठिकै हो । यस्ता कुरा राज्यले गरिदिने हो भने र उहाँहरुको भावन कद गर्ने हो भने हुन्छ ।
तर उहाँहरुको भावना त कदर गरिएन नि ?
भावनाको कदर गरिएको छ, पहिलो चरणमा संविधान संसोधन गरियो । उहाँहरुको आन्दोलन चुनावसम्म चलिरहने हो । चुनावसम्म मुद्दा लिएर जाने र जनताको मत लिने भन्ने ठानिएको छ । तर मधेसका जनता बाक्क भईसकेका छन ।
शेरबहादुर देउवा र माधव नेपाल भित्रि रुपमा मिलेर सरकार ढाल्न लागेको हो ?
कस्ले भन्यो तपाईलाई, माधव नेपाल केपी ओलीलाई असफल बनाउन लागेको छ भनेर तपाईलाई कस्ले सुनायो ? यस्तो चर्चा कतै छैन, यो तपाईले बनाएको कुरा हो । मैले बोलेका कुरा सबै केपी ओलीको पक्षमा छन ।
संविधान कार्यान्वयन हुन सकेको छैन नि ?
कार्यान्वयन हुँदैछ । कार्यान्वयन नभएको भए राष्ट्रपति, प्रधानमन्त्री, सभामुख हुने थिएनन । कानून बनाउन सुरु भईसकेको छ । अगाडि बढ्नुपर्छ कस्ले छेक्छ त्यो बाधक भन्ने कुरा स्पष्ट भई हाल्छ ।














प्रतिक्रिया