२९ आश्विन २०८३, बिहिबार

श्रीमती साटासाट: आफ्नी श्रीमती भगाउनेकै श्रीमती भगाएपछि…

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Wife-Changeहेलो, तपाईं दीपक हो ? हो, किन ? म जितबहादुर दर्नाल, कतारबाट किन मेरी श्रीमती लानुभा’को ? लगेँ, तँ सक्छस् भने मेरी पनि लगेर देखा । यो वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका मोरङ, उर्लाबारी-६, मंगलबारेका जितबहादुर दर्नाल तथा सोही गाविस वडा नम्बर-९ का दीपक नेपालीबीचको फोन वार्ता हो ।

वैदेशिक रोजगारीमा डेढ वर्षअघिदेखि कतारमा रहेका २४ वर्षीय जितबहादुर (गोपाल) दर्नाललाई माघ १४ गते आमा सम्झना दर्नालले बुहारी भगवती दर्नाल घरमा नभएको जानकारी दिएकी थिइन् । श्रीमती घरमा नभएको जानकारी पाएपछि जितबहादुरले श्रीमती भगवतीको नम्बरमा फोन गर्दा रातभर स्वीचअफ भएको दर्नालले बताए । भोलिपल्ट बिहान बल्ल फोन लाग्यो ।

श्रीमती भगवती दर्नालले जितबहादुरलाई आफूले उर्लाबारी-९ का दीपक नेपालीसँग विवाह गरेको बताइन्, तर उनलाई आफ्नी श्रीमतीले अर्कैसँग विवाह गरेको विश्वास लागेन। केही समयपछि उनले श्रीमती लाने दीपक नेपालीसँगै कुरा गरे। जितबहादुरले किन मेरी श्रीमती लगेर घर बिगारिदिएको भनेर गुनासो गरे।

दीपक नेपालीले लगेँ तँ सक्छस् भने मेरी पनि लगेर देखा भन्ने उत्तर दिएको जितबहादुरले बताए। आफ्नी श्रीमती लाने दीपक नेपालीबाट आफ्नी पनि श्रीमती लगेर देखाउन चुनौती आएपछि जितबहादुर दर्नालले बहिनी सुष्मामार्फत दीपक नेपालीकी (जेठी) श्रीमती सुशीला नेपालीको नम्बर फेला पारेर फोन सम्पर्क गरे ।

दीपक नेपालीकी श्रीमती सुशीला नेपालीसँग पहिलो फोन सम्पर्कमा सामान्य झगडा भयो । एकले अर्कोलाई श्रीमान्-श्रीमती ठीक ठाउँमा राख्न नसकेका कारण आफू एक्लो भएको दुवैले गुनासो गरे । ‘कुरा हुदै जाँदा एकले अर्कोलाई स्वीकार्ने कुरा भएपछि सुशीलालाई काठमाडौं बोलाएँ र म कतारबाट नेपाल आएँ,’ जितबहादुर दर्नालले भने, ‘काठमाडौंमा भेटेर पशुपतिनाथको मन्दिरमा सिन्दूरपोते गरेर हामी घर आयौं ।

’ यसरी विदेशमा हुँदा श्रीमती पोइल गएपछि आफ्नै श्रीमती लाने दीपक नेपालीको उनकी श्रीमती लगेर देखाउन दिएको चुनौती जितबहादुर दर्नालले चार दिनमै पूरा गरे । करिब तीन किलोमिटरको दूरीमा घर भएका जितबहादुर दर्नाल र दीपक नेपालीका श्रीमती यसरी नै साटासाट भएका छन् जितबहादुरकी पहिलेकी श्रीमतीबाट पाँच वर्षमुनिका दुई छोरी आकृति र अंशु छन् भने दीपककी सात वर्षीया छोरी दिप्ती छिन् । परिस्थितिले श्रीमान्-श्रीमती साटिए पनि छोरीहरू भने आ-आफैंसँग छन् ।

नयाँ जोडीसँग केही दिन काठमाडौंमा बिताएर घर आएका जितबहादुर र सुशीलाले घरमा पनि टिकाटालो गरेका छन् । कतारमै रहेका बाबु र घर परिवारसँगको सल्लाहमा सुशीलालाई विवाह गरेकाले परिवार पनि खुसी भएको दर्नालले बताए । सुशीलाले पहिलेको श्रीमान छाड्नुपरेकोमा कुनै दुःख नलागेको बताएकी छिन् ।

श्रीमान्ले अर्काकी श्रीमती ल्याएपछि आफू सोही श्रीमतीको श्रीमानसँग गएकोमा स्थानीय भद्र महिलाहरूले धन्यवाद दिँदै आएको सुशीलाले बताइन् । हेर्दा मलिन देखिए पनि दीपक र भगवतीले पनि आफूहरू खुसी रहेको बताए । आफूहरूबीच गहिरो माया बसेकैले आफ्ना श्रीमान् र श्रीमती हुँदाहुँदै विवाह गरेको यी जोडीको भनाइ छ ।श्रीमान्ले सौताका रूपमा भगवतीलाई ल्याएको दोस्रो दिन सुशीला भगवतीका श्रीमान् जितबहादुरलाई भेट्न काठमाडौं हिँडेकी थिइन् ।

अर्को व्यक्तिसँग विवाहका लागि बसमा काठमाडौं हिँडेकी श्रीमती सुशीला नेपालीसँग भएको भावनात्मक फोन वार्तालाप (फोन रेकर्ड) दीपकले सुनाए । अर्काकी श्रीमतीसँग विवाह गरेपछि आफ्नी श्रीमती उम्काएका दीपक नयाँ श्रीमती र छोरीसँग औपचारिक रूपमा फोटो खिचाइरहेका बेला दीपककी आमा चन्द्रमाया नेपाली भन्दै थिइन्, ‘खै यो के देख्नुपर्‍यो ?’ यी दुवै जोडीले प्रेमपश्चात् एरेञ्ज म्यारिज गरेका थिए ।

एक-अर्कासँग श्रीमान्-श्रीमती साटेका यी दुवै जोडी ऋणपान आ-आफै बेहोर्ने र एक अर्कोविरुद्ध कानूनी झन्झट नबेहोर्ने मनसायमा छन् । श्रीमान्-श्रीमती साटिन पुगेका यी दुवै जोडी हाँसीखुसी देखिए पनि यी जोडीमा एउटा प्रतिस्पर्धा पनि सुरु भएको छ ।

काठमाडौंबाट आएपछि जितबहादुर दर्नालले नयाँ श्रीमती सुशीलालाई अँगालो हालेर हिँडेको देखाएपछि आफूले पनि भगवतीलाई अँगालो हालेर उनीहरूसामु हिँडेर देखाइदिएको दीपक नेपालीले बताए । जति पटक जितबहादुरले आफ्नी पहिलेकी श्रीमतीलाई अँगालो हालेर देखाउँछ उति पटक नै आफूले पनि देखाउने दीपकले बताए ।

जितबहादुरले भने आफूहरूले उनीहरूलाई त्यस्तो गतिविधि नदेखाएको बरु उनीहरू नै आफ्नो घर अगाडि आएर त्यस्तो क्रियाकलाप देखाउँदै आएको बताए । ‘भगवती उनको श्रीमानसँग मेरो घर नजिक आउँदा नानीहरू पछ्याउँदै रुन थाल्छन्, त्यतिबेला भने सार्‍है दुःख लाग्छ,’ -जितबहादुरले भने ।

-साप्ताहिकबाट