बेइजिङ्ग, ७ बैशाख । चिनियाँ राष्ट्रपति सि जिनपिङ्गले सोमबार जापानी समकक्षीलाई टेलिफोन गरी गत हप्ता जापानमा गएको भूकम्पका कारण भएको धनजन र सम्पत्ति क्षतिप्रति शोक प्रकट गरेका छन् ।
भूकम्पमा परी मृत्यु हुने जापानी नागीरकका परिवारजनहरु प्रति समवेदना प्रकट गर्दै राष्ट्रपति सिले दिएको शोक सन्देशमा जापानले भोग्नु परेको यस दैवी विपत्तिका कारण कुमामोतो प्रान्तमा अकल्पनिय धनजनको क्षतिको समाचारबाट आफू अत्यन्त मर्माहत भएको बताएका छन् ।
त्यसैगरी उनले घाइतेहरुको पनि शीघ्र स्वास्थ्य लाभको कामना गर्नुका साथै भूकम्प पीडित सम्पूर्ण जापानी नागरिक यस दुखदः घडीबाट छिटै मुक्त हुनुको साथै भत्किएका भवन तथा अन्य संरचनाहरुको पुनर्निमाणका लागि सदाशयतासमेत ब्यक्त गरेका छन् ।
जापानमा गत बिहीबार ६.५ र शनिबार गएको ७.३ रिक्टर स्केलकोे भूकम्पमा परी कम्तीमा ४२ जनाको मृत्यु हुनाको साथै अन्य १ हजार भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
यी भूकम्पहरुपछि कुमामोतो प्रान्तमा ५ सय भन्दा बढी पराकम्पनहरुको महसूस गरिएको छ ।
इक्वेडरमा भूकम्पमा ४१३ को मृत्यु
यसैबीच ल्याटिन अमेरिकी देश इक्वेडरको तटिय क्षेत्रमा गत शनिबार गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ४१३ भन्दा बढी भएको छ ।
अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था अनुसार ७.८ रिक्टर स्केलको मापन गरिएको यो भूकम्पमा परी कम्ती दुई हजार व्यक्ति घाइते भएका छन् ।
भवन भग्नावशेषमा कैयौ व्यक्ति पुरिएर रहेको हुनाले मृतकको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ ।
राजधानी क्विटोबाट १ सय ६० किलोमिटर टाढा रहेको म्युसिनी सहरलाई केन्द्रविन्दु बनाएर गएको यो भूकम्पको जमिनसतहबाट १९ किलोमिटर गहिराईमा रहेको थियो । रासस/सिन्ह्वा/एएफपी
















प्रतिक्रिया