३० आश्विन २०८३, शुक्रबार

यात्रा संस्मरण : तिबेरियामा नव वर्ष २०७३ मनाउँदा …

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Diya Chapagainइजरायल, भूमध्य सागरले चारैतिर घेरेको मध्यपूर्वको एउटा देश । विदेशी कामदारहरूका लागि सुरक्षित र कामको उचित सम्मान हुने देश । विदेशी कामदारहरू पनि यस्तै अनुभव गर्छन् । त्यसैले नै होला, पछिल्ला केही वर्षयता इजरायल विदेशी कामदारहरूको आकर्षण रोजगार गन्तव्य बनेको छ । नेपालीहरू पनि उल्लेख्य संख्यामा काम गर्छन्, इजरायलमा ।

इजरालमा काम गर्ने नेपालीको संख्या हाल करिब छ हजार पुगेको बताइन्छ । नेपाली कामदारहरू प्रायः केयरगिभर (सुसारे) र कृषि पेसामा आवद्ध रहेको बताइन्छ ।

यो पंक्तिकारलाई इजरायलमा काम गर्न थालको दश वर्ष भइसके छ । यहाँ आएपछि थाहा भयो– इजरायलको इतिहास लडार्इँ, झगडाले जेलिएको छ, इजरायलको इतिहास युद्धले भरिएको छ । छिमेकी मुलुक प्यालेसटाइनसँग अझै पनि युद्ध जारी छ । दशकौंदेखि युद्ध लडिरहेको छ ।

युद्ध लड्नकै लागि वार्षिक ठूलो धनराशी खर्च गर्नु परिराखेको छ । तर, इजरायलको अर्थतन्त्र कहिल्यै डगमगाएको छैन । इजरायलीहरू इतिहासको गर्वमा मात्रै बाँच्दैनन्, वर्तमानका चुनौति र अवसरको भरपूर उपयोग गर्न माहिर छन् र भविष्यप्रति सदा आशावादी हुन्छन् । त्यसैले होला, उनीहरू कहिल्यै पनि थाकेको भावमा हुन्नन् ।

photo 1

इजरायल २२०७२ वर्ग किमी क्षेत्रफलमा फैलिएको सानो छ, तर सुन्दर पर्यटकीय देश । इजरायली र आप्रवासीहरू आधुनिक सञ्चार प्रविधिमा अभ्यस्त छन् । यसले इजरायलमा रहेका नेपालीहरूलाई एकआपसमा भेटघाट गर्न, चाडवाड बनाउन वा अरु कुनै कार्यक्रम गर्न त्यत्ति साह्रो धपेडी गरिरहनु पर्दैन ।

कुनै समुदाय, कोही व्यक्ति विश्वको जनुसुकै कुनामा गए पनि आफ्नो भाषासंस्कृति, चालचलन, भेषभूषा बिर्सदैन । जहाँ गए पनि ऊ आफ्नो संस्कृतिलाई जीवन्त राख्न चाहन्छ । इजरायलमा काम गर्ने नेपालीहरू पनि प्रत्येक चाडपर्व बढिभन्दा बढि उत्साहका साथ मनाउन चाहन्छन् । यहाँ रहेका हामी सबै नेपालीले विभिन्न चाडवाड र पर्वको अवसरमा जमघट भएर उत्साहपूर्वक मनाउने गरेका छौं । यहाँ (इजरायलमा) रहेका नेपालीहरूमा को हिमाली, वा पहाडी, वा मधेसी भन्ने छैन । न त कुन जात वा धर्मको भनेर छुट्याइन्छ । यहाँ मात्र नेपाली भएकोमा गर्व लाग्छ ।

photo 2
इजरायलमा भेटिने हरेक नेपालीलाई नेपाली हुनु र आफ्नो कला, संस्कृति र साहित्य जगेर्ना गर्नुमा गर्व छ । यहाँ रहेका प्रत्येक नेपाली आफ्नो कलासंस्कृति जोगाउन हरपल प्रयत्नरत हुन्छ । नेपालीहरूको महान चाड वडादसैं होस् वा नयाँ वर्ष, अथवा उभौली, ल्होसार होस् वा छठ पर्व, प्रत्येक नेपालीले समयले भ्याएसम्म आपसमा जमघट भएर मनाउने गरेका छन् ।

नेपाली नयाँ वर्ष २०७३ को शुरुवात भयो । आम नेपालीले हर्षोल्लासका साथ पुरानो वर्षको बिदाई गरे । र, नयाँ वर्षको स्वागत गरे । परदेशमा रहेका हामी नेपालीले पनि हाम्रो नयाँ वर्षलाई भव्य रूपमा मनाउने निधो गर्यौं ।

photo 4यहाँ (इजरायलमा) रहेका साथीभाईबीच छलफल गरियो । सामुहिक सल्लाहबमोजिम नयाँ वर्ष २०७३ को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा क्याम्पियन टुरको आयोजना गर्ने तय भयो । यसको अगुवाइ पर्वत सेवा समाज, इजरायलले गर्ने तय भयो । पर्वत सेवा समाजका लागि यो ठूलो अवसर र चुनौती थियो ।

कार्यक्रम तिबेरियाको किब्बुज अमियादमा आयोजना गरिने निधो भयो । अप्रिल १५ र १६ तारिख अर्थात बैशाख ३ र ४ गते कार्यक्रमको मिति तोकियो । कार्यक्रम तालिकाबमोजिम शुक्रबार (१५ तारिख) हामी सबै ५५ जना तेलअविवमा जम्मा भयौं र त्यहाँबाट साढे पाँच बजेतिर बस रिजर्भ गरेर भ्रमणस्थलतिर लाग्यौं ।

सधैं कामको चपेटामा रहने हामी, दुई दिनको समय मिलाएर सँगै बसमा भ्रमण गर्न पाउँदा खुशीको सीमा नै थिएन । हरेकको मुहारमा उमंग थियो, उत्साह थियो । कार्यक्रमस्थल इजरायलको राजधानी तेलअविवबाट (विवादित जेरुसेलम) दुई घण्टाको दूरी उत्तरमा रहेको तिबेरियाको किब्बुज अमियाद थियो ।

बाटोभरि सबैले नयाँ वर्षको शुभकामना साटासाट ग-यौं । सबै सँगै बसमा यात्रा गरिरँदा लाग्थ्यो– जीवनमा योभन्दा खुसीको क्षण अरु भएन । बसभित्र कोही गीत गाउँदै थिए, कोही नाच्ने र कोही आपसमा भलाकुसारी गर्न तल्लीन थिए । सबैको मुहारमा एउटै भाव थियो– ‘हामी नेपाली, हाम्रो नेपाल । हिमाल, पहाड, तराई, कोही छैन् पराई ।’

दुई घण्टाको बसयात्रापछि कार्यक्रम स्थल तिबेरियाको किब्बुजमा पुगियो । हर्षोल्लासका साथ राति अबेरसम्म साँस्कृतिक कार्यक्रम, नाचगान, रमाइलो खेल सञ्चालन गरी ढिलै भए पनि २०७२ को बिदाई र २०७३ को स्वागत गरी भरपुर मनोरञ्जन लियौं ।

दोस्रो दिन, अर्थात् १६ अप्रिल (बैशाख ४ गते) प्राकृतिक सौन्दर्यले भरिपूर्ण तिबेरियाको रमणीय किन्नेरेत तालमा बोटिङ गर्यौं । ताल छेउमा रहेको तातो पानीमा नुहायो भने शरिर दुख्ने लगायतका रोग निको हुने किंबदन्ती रहेछ । त्यहाँको तातो पानीमा धित मरुन्जेल डुबुल्की मार्यौं ।

photo 5

साथै किन्नेरेत ताललगायत पहाडको अवलोकन गर्र्यौं । तिबेरिया भएर बग्ने ऐतिहासिक नदी जोडर्नमा नुहायौं र सिरियाको बोर्डरसम्म भ्रमण गरेर एकआपसमा भरपुर फोटो खिचायौं । साथमा आफैंले बनाएको नेपाली परिकारको स्वाद लियौं ।

लाग्थ्यो, तिबेरियामा समयले चाँडै फन्को मार्दैछ, एकछिन रोकेर राखुँ । मनले त्यसो भनिरह्यो, तर समयभन्दा बलवान कोही छैन । दिउँसोको तीन बजिसकेको छ । तिबेरियालाई छोड्न अझैं मनले मानेको छैन, तर फर्किनुपर्ने बाध्यता छ । तिबेरियामा फेरि पनि आउने कल्पना गर्दा गह्रौ मनका साथ हामी सबै आ–आफ्ना झोलीझिम्टा बोकेर फर्कियौं ।

बसको गति बढ्दै गयो, हामी प्रत्येकको अनुहार भने मलिन हुन थाल्यो । दुई दिनको अस्मिरणीय सँगैको बसाई, भ्रमणबाट अलग हुनुपर्ने कल्पनाले नै प्रत्येकको अनुहार न्यास्रो थियो । ठाउँ ठाउँमा बस रोकिँदै गर्दा साथीहरू झर्दै गए र हामी फेरि भेटघाट गर्ने बाचा गर्दै एकअर्कालाई विदाई गरिरह्यौं ।

भ्रमणमा सहभागी हरेकले हरेकलाई चिन्ने कुरा भएन । इजरायलमा रोजगारी वा अरु कामले इजरायलमा बसोबास गर्ने नेपालीहरूलाई एकअर्कासँग चिनजान गर्ने अवसर पर्वत सेवा समाज इजरायलले जुराइदियो– नयाँ वर्षको अवसरमा ।

तिबेरिया भ्रमण अवधिभर मेरो मानसपटलमा अनेक कुरा खेलिरहे । लाग्यो– ‘वार टुरिज्म’ का माध्यमबाट रातारात चम्किएको इजरायलबाट हामी नेपालीले सिक्नु पर्ने धेरै कुरा छ । हामी नेपाली प्राकृतिक सम्पदामा विश्वकै धनी छ, तर हामी कहिलेसम्म घोर गरिबीको दुस्चक्रमा छट्पटाइरहने । हामी कहिलेसम्म परनिर्भर भइरहने ? आमनेपालीले सोच्ने बेला भएको छ ।

इजरायलको आर्थिक विकास संसारका लागि उदाहरणीय छ । इजराइलीहरू आफ्नो इतिहास र संस्कृतिप्रति सधैं सजग र सचेत हुन्छन् । तेलअविव, जेरुसेलम, हाइफा, तिबेरिया लगायत स्थलमा बाह्रै महिना आन्तरिक र बाह्रय पर्यटकले भरिभराउ हुने गरेका छन् ।

Group Photo

मैले मनमनै सोचे– स्वर्गको टुक्राजस्तो हाम्रो देश नेपालमा पनि इजरायलीले जस्तै बाह्रय तथा आन्तरिक पर्यटक तान्न सके आर्थिक विकासको गति कति द्रुत हुन्थ्यो होला । यसका लागि राज्य, राजनीतिक नेतृत्व र प्रत्येक नेपालीमा दृढ इच्छाशक्तिको आवश्यकता छ ।

तथ्यहरूले भन्छ– इजरायलले ‘वार टुरिज्म’ बाट मनग्य आम्दानी गरिरहेको छ । तर, हामी विश्व कै अग्लो चुचुरो सगरमाथा, विश्व शान्तिदूत गौतम बुद्ध, दुर्लभ एकसिंगे गैडा, सयौं प्राकृतिक गुफा, झरना, हिमाल, तालतलैया, मौलिक कला र संस्कृतिको धनी भएर पनि पर्यटक तान्न सकिरहेका छैनौं । न त राज्यले यसबारे गम्भीर ढंगले सोच्छ । सायद राज्य अझै पनि विदेशबाट कमाएर पठाएको रेमिटान्समा नै भर परिरहेको छ की ?

एकात्मक संसदीय गणतन्त्र ब्यवस्था रहेको इजरायल मानव विकास सूचकांकमा विश्वभर १९ औं स्थानमा र २०१४ को तथ्यांक अनुसार प्रतिव्यक्ति आय वार्षिक सरदर १५२०१६ सिकेल अर्थात $३५,६५८ रहेको छ । आय हिसावले इजरायल विश्वभर २५ औं स्थानमा पर्छ ।

इजरायलीहरू प्रायः घुमघाम गर्न रुचाउँछन् । इजरायलीका लागि नेपाल पनि प्रमुख पर्यटकीय गन्तब्य बन्न सक्ने प्रबल सम्भावना छ । यसका लागि नेपाल र इजरायलबीच सीधा हवाई सम्पर्क बनाउन सके नेपाल इजरायलीका लागि राम्रो बजार बन्न सक्छ ।

अन्त्यमा,

यात्रा जीवन हो, जीवन यात्रा हो । यात्रा टुंगिएको दिन नै जीवनको अन्तिम दिन हो । जीवनमा जति यात्रा गरिँदो रहेछ, त्यति नै नयाँ अनुभव बटुल्ने मौका पाईंदो रहेछ ।

जाँदा जाँदै ढिलै भए पनि सम्पूर्ण नेपाली जन र मनहरुलाई नयाँ वर्ष २०७३ साल फलदायी होस् हार्दिक मंगलमय शुभकामना ।

(नेपालको पर्वत जिल्ला घर भएकी लेखक चापागाई पर्वत सेवा समाज इजरायलकी महाचिव हुन् ।)