– निशानदाजु भट्टराई
दाङ, ५ बैशाख । एकीकृत नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले पार्टी एकताका लागि एमाओवादी जस्तोसुकै त्याग गर्न तयार रहेको बताउनु भएको छ ।
आज घोराहीमा क्रान्तिकारी पत्रकार संघ दाङले गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टी एकताको पक्षमा नै एमाओवादी रहेको र यसका लागी पार्टि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व छोड्न समेत तयार रहेको बताउनुभयो ।
‘एक्ला एक्लै साना–साना गुटका झुण्ड बनाएर माओवादी आन्दोलन सफल हुँदैन, यो कुरा हाम्रा पार्टी अध्यक्ष प्रचण्डले राम्रोसंग बुझ्नु भएको छ, पार्टी एकता अहिले अनिवार्य शर्त भइसकेको छ,’ उहाँले भन्नुभयो– ‘पार्टी एकता गर्न एमाओवादीले आफ्नोतर्फबाट गृहकार्य अघि बढाइसकेको छ, प्रचण्डले नेतृत्व छाडेर भएपनि एकताका लागि प्रयास हुन्छ ।’
एमाओवादी कारण पार्टी एकता रोकियो भनेर गलत प्रचार भइरहेको भन्दै पार्टीका स्थायी कमिटी सदस्यसमेत रहनुभएका शर्माले एकताका लागि आउने पार्टीहरुबीच पार्टीभित्र नै कुरा नमिल्दा समस्या भएको उल्लेख गर्नुभयो । एमाओवादीसंग एकताका लागि आउने पार्टीहरु बीच नै आन्तरिक रुपमा कुरा नमिलेको कारण पार्टी एकताको प्रक्रिया रोकिएको र यसलाई गति दिन आफूहरुले भुमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो ।
सरकारको काम कारवाहीप्रति असन्तुष्टि जनाउनु भएका उहाँले भूकम्प पीडितहरुको समयमै ब्यवस्थापन नभए एमाओवादी पार्टी सरकारमा बसिरहनुको कुनै अर्थ नहुने बताउनुभयो । भूकम्प पीडितहरुको ब्यवस्थापन, पुनर्निर्माणको कामलाई तिव्रता र राष्ट्रिय सहमतिको वातावरण बनाएर अघि बढ्नु वर्तमान सरकारको मुख्य कार्यभार भएको स्पष्ट पार्दै उहाँले सरकारको काम काज कछुवाको गतिमा भएको आरोप लगाउनुभयो । ‘एमाओवादी पार्टिबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले पनि सरकार गएर जनताको काम गर्न सक्नु भएको छैन, यस विषयमा पार्टीले पटक–पटक मन्त्रीहरुको ध्यानाकर्षण गराइसकेको छ, काम कारवाही सही ढङ्गले अघि नवढाएर मन्त्रीहरुलाई पार्टीले जुनसुकै बेला फिर्ता बोलाउन सक्छ’ प्रवक्ता शर्माले भन्नुभयो– ‘सरकारको गति कछुवाको गति जस्तो देखिएको छ, जनअपेक्षा अनुरुप काम गर्न सकेको छैन्, यसतर्फ सरकारको पार्टीको तर्फबाट ध्यानाकर्षण गराउन चाहन्छु ।’
सरकारले भूकम्प पीडितको पुर्नवासको ब्यवस्थासहित मानो र छानो ग्यारेन्टी बर्खा लाग्नु भन्दा अघिसम्म नगरेको खण्डमा आफूहरु कुनै हालतमा पनि सरकारबाट बाहिरिने चेतावनी दिनुभयो । ‘जनजीविका सवाललाई सरकारले ध्यान दिएकोृ छैन्, अहिले भूकम्प पीडितको ब्यवस्थापन गर्न कार्ययोजना ल्याउन जरुरी छ, यदि बर्खा लाग्नु भन्दा अगाडिसम्म उनीहरुको पुर्नवासको ब्यवस्था हुन सकेन भने हामी सरकारमा बस्दैनौ’ उहाले भन्नुभयो ।
अहिले भ्रष्टाचार, कालोवजारी, महंगी बढेको बताउँदै उहाँले यसलाई नियन्त्रण गर्न सरकारी संयन्त्रहरुले काम गर्न नसकेको आरोप लगाउनुभयो ।












प्रतिक्रिया