काठमाडौं, ५ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको छ ।
एमाओवादी अध्यक्ष दाहालको लाजिम्पाटस्थित निवासमा आज बिहान भएको झण्डै एक घन्टा लामो भेटवार्तामा सरकारको कामकारबाहीका विषयमा केन्द्रित रहेको स्रोतले जनाएको छ । ‘सरकारले सोँचेअनुसारको काम गर्न सकेन’, भेटवार्ताको विषयमा जानकारी दिँदै उच्च स्रोतले भन्यो, ‘यो सरकारबाट जनताले अपेक्षा गरेका साना कुरा पनि हुन सकेन, अब कसरी अगाडि भन्ने विषयमा कुराकानी भएको छ ।’
सरकार परिवर्तनको चर्चा पाइरहेका बेला प्रमुख विपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल र दोस्रो ठूलो सत्तारुढ दल एमाओवादीका अध्यक्ष दाहालबीच लामो कुराकानी भएको हो ।
कांग्रेसका वरिष्ठ नेता पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीका अनुसार एमाओवादी अध्यक्ष दाहालसँगको भेटवार्तामा संविधान कार्यान्वयन, मधेसी दलका माग, भूकम्पसम्बन्धी प्राधिकरणले काम गर्न नसकेको, बजारमा अहिले जारी रहेको तेल र ग्याको अभावको अन्त्यका विषयमा कुराकानी भएको छ ।
जनतालाई राहत दिने गरेर सरकारका कामकारबाही अगाडि बढाउन पौडेलले दाहालसँग आग्रह गर्नु भएको थियो । जवाफमा दाहालले आफूले प्रधानमन्त्री र मन्त्रीहरूसँग सो विषयमा परामर्श गर्ने आश्वासन दिनुभएको छ ।












प्रतिक्रिया