जेनभा, ३ बैशाख । बुधबारदेखि स्वीट्जरल्याण्डको जेनेभामा सुरु भएको सिरियाका बारेको वार्ताबाट देशमा व्याप्त हिंसाको अन्त्यगरी नयाँ निकासको आशा गरिएको समाचारमा जनाइएको छ ।
गएको पाँच वर्षदेखि जारी रहेको हिंसाको अन्त्यका लागि संयुक्त राष्ट्रसंघको मध्यस्थतामा बुधबारबाट शान्ति वार्ता सुरु भएको छ । त्यस वार्तामा सुरुमा सिरियाली सरकारका प्रतिनिधिसँग पहिलो चरणमा छलफल भएको बताइएको छ ।
सो वार्ताका विषयमा विपक्षीहरुको आधिकारिक भनाई भने आएको छैन । यद्यपि राष्ट्रसंघीय अधिकारीहरुले भने वार्तामा विपक्षीहरु पनि बस्ने र त्यस विषयमा यसअघि नै सहमति भएको बताएका छन् ।
सिरियाली विपक्षीहरुले बुधबार सिरियामा आह्वान गरिएको भनिएको आमनिर्वाचनको व्यापक विरोध गरेका थिए । तर जेनेभा वार्ताका बारेमा केही बताएका छैनन् ।
उक्त वार्ता जेनेभामा सुरु भएको समाचारको संयुक्त राष्ट्रसंघीय अधिकारीले पुष्टि गरेका छन् । तर वार्ताको पछिल्लो प्रगतिका बारेमा भने केही बताइएको छैन ।
सिरियाका लागि राष्ट्रसंघीय विशेष प्रतिनिधि स्टेफन डि मिस्तुराले यस विषयमा प्रतिक्रिया दिँदै भन्नुभयो– यस पटकको वार्तालाई जसरी पनि सार्थक बनाउनुपर्छ र हालको जारी हिंसालाई सकेसम्म संयुक्त सरकारको गठन गर्ने अवस्थासम्म ल्याउनुपर्छ ।
बुधबारबाट सुरु भएको छलफलमा ठोस एजेण्डमा कुराकानी भएको र सरकार तथा विपक्षीहरुसँगको बसाईका क्रममा गम्भीर विषयमा वार्ता गरी सार्थक निष्कर्ष निकाल्नेबाटोमा उन्मुख गराइने उहाँले बताउनुभयो ।
उता सिरियाली जनताले पनि यस पटकको यस वार्ताबाट सार्थक निकासको अपेक्षा गरिरहेका बताइएको छ । जसका कारण सिरियामा गएको कम्तीमा पनि पाँच वर्षसम्म जारी हिंसाको अन्त्य हुने अपेक्षा गरिएको छ ।
जेनेभामा बुधबार सुरु भएको शान्ति वार्ताको मध्यस्थता संयुक्त राष्ट्रसंघले गरेको छ । सिरियाली सरकारका प्रतिनिधिहरु पनि यस वार्तामा सहभागी छन् तर पनि उनीहरुसँग औपचारिक रुपमा वार्ताको थालनी भने भएको छैन ।
सिरियामा गएको कम्तीमा महिनाअघिदेखि युद्धविराम सुरु भएको हो । युद्धविरामको अवस्था अहिले पनि कायमै छ । तर यति लामो समयसम्म पनि सिरियाका बारेमा वार्ता भने सुरु हुन सकेको थिएन ।
यस वार्ताको अगुवाई अमेरिका र रसियाले नै गरेका हुन् । तर सिरियाली विपक्षीहरुले सिरियाली राष्ट्रपति बसर अल असद नहट्दासम्म कुनै वार्ता हुन नसक्ने अडान लिएपछि यो वार्ता अघि बढ्न सकेको थिएन ।
सन् २०११ को मार्च महिनादेखि त्यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको मागगर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । हाल त्यहाँ गृहयुद्ध जारी छ ।
सो समयदेखि हालसम्म जारी हिंंसा तथा द्वन्द्वमा परी दुई लाख ७१ हजार भन्दा बढी सर्वसाधारण एवम् सुरक्षाकर्मीले ज्यान गुमाएको तथ्य बेलायतसँग आवद्ध सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ ।
यस द्वन्द्वमा ७९ हजार भन्दा बढी सर्वसाधारण नागरिक मारिएका र यसमा १३ हजार ५०० बालबालिका र करिब ९ हजार महिला रहेका छन् । एपी















प्रतिक्रिया