जनकपुर बम विस्फोटलगायतका आपराधिक घटनामा संलग्न रहेको आरोपमा जेल सजाय भोगिरहेका निलम्बित सांसद सञ्जय साहलाई बचाउन अहिले पनि विभिन्न प्रयास भइरहेका छन् । सञ्जय साहलाई बचाउन आज जनकपुरमा नारा लगाउनेहरु आफू धेरै नै राम्रो काम गरेको ठानेका होलान । तर के संजय साह अपराधी होईनन् त ? अरुको सम्पत्ति लुटेर, निर्दोष ब्यक्तिलाई मारेर र विभिन्न अवैध काम गरेर शक्तिशाली बनेका सञ्जयलाई बचाउन खोज्ने पनि अपराधी नै हुन् ।
वर्षौंदेखी जनकपुरमा शुरु भएको जातीवादको लडाईं अहिले आएर उत्कर्षमा पुगेको छ । हुनतः मधेशमै जातीवाद हाबी भइसकेको छ । फरवार्ड भर्सेज ब्याकवार्डको चक्कीमा पिसिएको मधेस झन्–झन् पछाडी धकैलिँदै गएको अवस्थामा जनकपुर जस्तो धार्मिक नगरीमा पनि जातीवादले श्रय पाउनु पुरै मधेशको लागि खतरा हुने निश्चित छ ।
अहिले जनकपुरमा सञ्जयलाई बचाउन साह, महतो, चौधरी (कलवार) र केही मुस्लिमहरु लागि परेका छन् । यता, पचपुनीयाको नेतृत्व गरेका राजेन्द्र महतो र उनको नेतृत्वमा रहेको सद्भावना पार्टीले खुलेर नै सञ्जयलाई बचाउन अभियान चलाएको पाइन्छ । सञ्जय जेल जानु अघिसम्म सद्भावनाका बरिष्ठ उपाध्यक्ष पनि थिए । सञ्जयलाई पार्टी प्रवेश गरेको केही महिना पछि नै वरिष्ठ उपाध्यक्ष बनाईनुको प्रमुख कारण पनि जातीवाद नै रहेको थियो ।
२०६६ साल बैशाख १८ गते ५ जनाको ज्यान जाने गरी जनकपुरमा भएको बिस्फोट, सञ्चार उद्यमी अरुण सिंहानीयाको हत्यालगायत दर्जनौ ठूला अपराध सञ्जयकै निर्देशन र लगानीमा भएको स्पष्ट हुँदाहुँदै पनि उनलाई बचाउन कम्मर कसेकाहरु किन अपराधी नहुने ?
जनकपुरमा ब्याकवार्डको नेतृत्व गरिरहेका सञ्जय शाह र फरवार्डको नेतृत्वकर्ता जीवनाथ चौधरीबीच लडाईं रहेको थियो । जीवनाथले सञ्जयलाई कहिल्यै आफ्नो प्रतिद्वन्द्वी ठानेनन् । तर सञ्जयले शुरुदेखि नै जीवनाथ जस्तो शक्तिशाली बन्ने सपना राखेका थिए । सुरुमा एकदमै घनिष्ठ मित्र रहेका सञ्जय र जीवनाथको सम्बन्ध बिग्रिनुमा पनि शक्ति नै प्रमुख कारण थियो । जिविसमा जागिरे रहेका जीवनाथ शुरुदेखि नै शक्तिशाली थिए भने पछि ठेक्का पट्टा र जग्गाको दलाली गर्दै सञ्जय पनि शक्तिशाली हुन पुगेका थिए । मधेश आन्दोलनका नाममा चुनाव जितेर सांसद बनेका सञ्जय कुख्यात अपराधी हुन् भने कुरा उनको बिगतको इतिहासलाई हेरेर बुझ्न सकिन्छ ।
सञ्जय जस्तो अपराधीलाई बचाउन अभियान चलाउनुभन्दा जनकपुरको विकासका लागि कदम चाल्न नसोच्ने जनकपुरका केही युवा अहिले पनि डनगिरीमा विश्वास गर्ने गरेका छन् ।
पचपुनीयाको हाली मुहाली रहेको जनकपुरमा जातीवादकै कारण सञ्जय जस्ता अपराधीको बर्चस्व बढेको छ । स्वघोषित मधेश मसिहा राजेन्द्र महतोलाई पनि आफ्नो छबि सुधार्नुपर्ने आवश्यक छ । जातीवादको भुमरीबाट निस्किनु जरुरी छ र जनकपुरलाई पनि शान्त र विकसित बनाउन सहयोग गर्नुपर्छ ।
– स्वस्तिक साह/जनकपुरधाम















प्रतिक्रिया