३० आश्विन २०८३, शुक्रबार

अमेरिकाका नेपाली पत्रकारको नेतृत्व लिन रस्साकस्सी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

neaja my kind logoन्यूयोर्क (अमेरिका) । अमेरिकामा रहेका नेपाली पत्रकारहरुको संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आउँदो महिना हुन लागेको अधिवेशनको चुनावी सरगर्मी बढेको छ । आउँदो मे महिनाको ६ र ७ तारिक हलिउड शहर लसएन्जलसमा हुन लागेको अधिवेशनका लागि पत्रकारहरु चुनावी प्रतिस्पर्धा गर्न अहिलेदेखिनै थालेका छन् ।

दुई वर्षे कार्यकालको नेतृत्व लिन अहिले दुई पत्रकारहरु अघि बढेका छन् । अध्यक्ष पदमा नेपालमा छँदा गोरखापत्रको प्रधानसम्पादक भइसकेका तारा बराल र न्यूयोर्कमा रहेर सेतोपाटी ग्लोबल अनलाइनमा कार्यरत भोला आचार्य यतिखेर अघि सरेका छन् । बराल अमेरिकाको टेक्सस राज्यको ह्युस्टन शहरमा बस्छन् ।

दुई वर्ष अघि ह्युस्टनमा भएको अधिवेशनपछि केही पत्रकारहरुले संस्था छाडेपछि यसपटक सबैलाई मिलाएर लैजानुपर्नेमा बरालले जोड दिँदै आएका छन् । उनी सर्वसम्मत रुपमा निर्विरोध रुपमा अध्यक्ष बन्ने प्रयासमा छन् । बराल अध्यक्षमा उम्मेदवार हुने भएपछि भर्जिनियामा बस्दै आएका अर्का पत्रकार गुणराज लुइँटेल ‘स्मीत’ ले अध्यक्षमा तयारी गरिसकेको उम्मेदवारी फिर्ता लिने भएका छन् ।

बरालसँग नेपालमा गोरखापत्र दैनिक र नेपाल टेलिभिजनको प्रमुख कार्यकारी भएर काम गरिसकेको अनुभव छ । यता आएपछि पनि उनी समय समयमा बिभिन्न पत्रपत्रिकाहरुमा लेख र समाचार लेख्दै आएका छन् । उनलाई अध्यक्ष बनाउन सकेमा नेजाको ओज बढ्ने भन्दै केही पत्रकारहरु सकृय भएका छन् । पूर्व अध्यक्ष गिरिश पोखरेलदेखि लिएर आङछिरिङ शेर्पासम्मले बराललाई अध्यक्ष बनाउने विषयमा सकारात्मक छन् ।

वर्तमान नेजा कार्यसमितिका बहुसंख्यक पदाधिकारी र सदस्यहरु बराललाई निर्विरोध रुपमा अध्यक्ष बनाउन सकृय भएका छन् ।

उता अध्यक्षमा उठ्ने तयारी गरिरहेका भोला आचार्य दुई साता अघि चुनावी प्रचारप्रसारको लागि सानफ्रान्सिस्को पुगेका थिए । त्यहाँ रहेका नेपाली पत्रकारसँग उनले आफू अहिले महासचिव भएकोले अध्यक्षमा उठ्नैपर्ने दवाव रहेको बताएका थिए । तर बरालको पक्षमा माहौल बन्दै गएको र न्यूयोर्ककै नेपाली सञ्चारकर्मीहरुले समेत सहयोग नगर्ने संभावना देखेपछि उनी अहिले के गर्ने भन्ने निर्णयमा पुग्न सकेका छैनन् ।

उनी यतिखेर कि आफू अध्यक्षमा उम्मेदवार हुनैपर्ने वा कि भने नेजाबाट बिदा हुने योजनामा रहेको निकठस्थहरुलाई बताउँदै आएका छन् ।
दुई वर्ष अघि ह्युस्टनमा भएको अधिवेशनपछि अमेरिकामा रहेर प्रवासी पत्रकारिता गरिरहेका दुई दर्जनभन्दा बढीले असन्तुष्टी जनाउँदै संस्थानै त्यागेका छन् ।

यसपटक न्यूयोर्कमा रहेर पत्रकारिता गर्दै आएका विजय पौडेल, किशोर पन्थीदेखि लिएर विष्णु पौडेल, दिनेशजंग शाह लगायतले सदस्यतनै नवीकरण गराएनन् । यस्तो अवस्थामा नेजाको नेतृत्वमा सबै नेपाली पत्रकारलाई समेटेर लैजानसक्ने व्यक्तिको आवश्यकता खड्किएको छ ।

गत अधिवेशनपछि वर्तमान महासचिव आचार्यले केही सदस्यहरुलाई पूर्वाग्रही रुपमा बाइपास गरेको, सदस्यता खारेज गराएको जस्ता आरोप लागेको छ । यसलाई समाधान गर्न परिपक्व नेतृत्व आवश्यता रहेकोमा सदस्यहरुले जोड दिएका छन् ।

उता वरिष्ठ उपाध्यक्षमा न्यूयोर्कमा रहेर पत्रकारितामा सक्रिय सूर्य थापा उम्मेदवार हुने भएका छन् । ह्युस्टन अधिवेशनपछि असन्तुष्ट समूहमा थापा पनि रहेकोमा उनी संस्था आवश्यकता रहेकोमा जोड दिदै चुनावी प्रकृयामा सहभागी हुने भएका छन् । अहिलेसम्म वरिष्ठ उपाध्यक्षमा अर्को उम्मेदवार अघि सरिसकेका छैनन् ।

अध्यक्षमा तारा बरालको उम्मेदवारी अघि बढेपछि गुणराज लुइटेल ‘स्मीत’ले उपाध्यक्षमा उम्मेदवार हुने संभावना बढेको छ । तर उनले यो विषयमा बाहिर आफ्नो धारणा सार्वजनिक गरिसकेका छैनन् । नेपाल टेलिभिजनमा लामो समय काम गरेकी रमा सिंहको चर्चा वरिष्ठ उपाध्यक्षमा भएपनि उनी नर्थक्यारोलाइनमा बस्ने भएका कारण यो पद न्यूयोर्कमा रहेर पत्रकारिता गरिरहेकालाई दिँदा नेजाको गतिविधि सञ्चालनमा सहजता हुने धारणा धेरै सदस्यहरुको छ ।

महासचिवमा भने अहिलेसम्म विजय घिमिरेको नाम मात्र बाहिर आएको छ । नेपालमा रहँदा कान्तिपुर, नागरिकको आर्थिक व्यूरो प्रमुख रहिसकेका र अमेरिकामा रहेर पनि नेपालको पत्रकारितामा निरन्तर सकृय घिमिरेलाई महासचिवमा ल्याउँदा राम्रो टीम हुनेमा नेजाका सदस्यहरु विश्वस्त देखिन्छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)का अध्यक्ष समेत रहिसकेका घिमिरे हाल सेतोपाटी अनलाइनसँग आवद्ध छन् । सचिवमा लसएन्जलसका अग्नी चौलागाई अघि बढेका छन् ।

क्षेत्रीय उपाध्यक्षहरुमा पश्चिम क्षेत्रबाट तोया दाहाल र मध्यक्षेत्रबाट विकासराज न्यौपाने सर्वसम्मत हुने संभावना बढेको छ ।

सदस्यताको आवेदन दिने म्याद अप्रिल ३ सम्म एकसय ५४ जनाले निवेदन दिएका थिए । तर कार्यसमितिले १० जना आजीवन सदस्य र एकसय ३८ साधारण सदस्यताको सूचि गत साता सार्वजनिक गरेको छ ।