काठमाडौं, २९ चैत । नेपाल दूरसञ्चार प्राधिकरणले सबै ल्यान्डलाइन टेलिफोन नम्बर परिवर्तन गरेर १० अंकको बनाउने भएको छ । अहिले काठमाडौं उपत्यकामा ७ अंकको ल्यान्डलाइन नम्बर छ भने उपत्यका बाहिर ६ अंकको छ ।
ल्यान्डलाइन, टेलिफोन, मोबाइल सेवा र एसएमएस सिस्टममा परिवर्तन गर्न अध्ययन भइरहेको प्राधिकरणले जनाएको छ । ल्यान्डलाइन नम्बर १० अंकका परिवर्तन गर्नुअघि प्राधिकरणले मोबाइल र एसएमएस सेवामा केही परिवर्तन गर्ने भएको छ । दूरसञ्चार सेवाको अन्तर्राष्ट्रिय मापदण्डअनुसार नेपालको सेवालाई पनि अघि बढाउन लागिएको प्राधिकरणले स्पष्ट पारेको छ ।
मोबाइल सेवाको कोर्ड परिवर्तन गरिए पनि १० अंक नै रहने छ । ग्राहकको मोबाइल नम्बर पनि परिवर्तन नहुने प्राधिकरणले जनाएको छ ।
त्यसैगरी प्राधिकरणले इन्टरनेट प्रदायक कम्पनीहरुलाई पनि दूरसञ्चार सेवा चलाउने अनुमति दिने तयारी गरेको छ । इन्टरनेट प्रदायक कम्पनीहरु सेवाका लागि प्रतिस्पर्धामा उत्रँदा विदेशमा गर्ने फोन अहिलेको भन्दा निकै सस्तो पर्ने छ । त्यसो भएमा कल बाइपास गर्ने प्रविधि पनि त्यसपछि अन्त्य हुने प्राधिकरणको विश्वास छ ।















प्रतिक्रिया