३० आश्विन २०८३, शुक्रबार

हराएको शान्ति र भेटिने आशा

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gopal Pujaraहाम्रो बस्तीमा अनि देशमा हल्का विवाद भएको हल्ला सुनिन्थ्यो । कता कता सपना जस्तो लाग्थ्यो भविष्यको परिकल्पना गरिन्थ्यो । चारकोशे झाडी भन्दा ५० औं किलोमिटर टाढा पहाडलाई चिरेर बग्ने नदीमाथि वेशीमा हाम्रो सानो गाउँका सदस्यहरु हाम्रा छिमेकी घरहरु, रंगिचंगी फूलहरु, भमरा, पुतली, असोजको चन्द्रमासँगै आवाज निकाल्ने झ्याउँकीरीहरुले लाग्थ्यो, हामी स्वर्गको कुनै एक ठाउँमा छौं भनेर तिमी र म पनि भविष्यको मिठो सपनाको बात गथ्र्यौं । जवकी हाम्रो विद्यालय जाँदाको समय पास हुन्थ्यो । हेर न २०५२ सालपछि मैले काठमाडौं छिर्न जानिन कि कसो ? तिमी त्यहिँ थियौ जहाँ वातावरण नै वेग्लै थियो । पढ्दाको समयमा तिमीलाई छाडेको प्रतिबिम्बको रुपमा कयौंलाई साथी बनाउन खोजे । अँह, तिमीप्रतिको मायाको रुप उसको अनुहार हुन्थ्यो भने त्यो अनुहार मुटुभित्र तिमी नै बसेकी हुन्थ्यौ । गाउँको सोझो स्क्रिनमा मार्टिना हेङ्ग्रीजले खेलेर जितेको देख्दा तिमीले खेलेको भान हुन्थ्यो, किनकी उ पनि नारी भएर एक्लै खेलेर प्रायः जिति रहन्थि । महिलाले सगरमाथा चढ्दा होस् या खेल जितेर आउँदा होस् तिम्रो याद आईरहन्थ्यो । जसरी धर्मालम्बीहरुले आफ्ना देवतालाई सम्झिन्छन् ।

हाम्रो अनौठो प्रेम जो आजभन्दा १८/२० वर्ष अघिबाट सुरु भएको थियो । यहाँसम्म पुग्ला भनेर मैले कल्पनासम्म पनि गरेको थिएन । अव तिमी पनि जान्ने भइसकेकी छौ । आऊ मान्छेबाट सिर्जना भएको समस्या समाधान गर्न सकिने तर समाधान नभएको समस्यालाई समाधान गर्न भनेर तर तिमीले पत्र पायौ या पाएनौ, थाहा भएन ।

समय पनि कति छिटो परिवर्तन हुँदो रहेछ । घुम्दै, फिर्दै, खेल्दै, पढ्दै जाँदा थाहा नहुने त्यहीसँगै हिड्नुपर्दो रहेछ । २०५८ सालको दरबार हत्याकाण्डमा तिमी कहाँ थियौ । खोजे । पत्रिकामा खोजे, टेलिभिजनमा खोजे अहँ पाईन । तिमी र म पढेको स्कूलको सम्झना आउँथ्यो । किनकी म शहरमा अश्रुग्याँस, कफ्र्यूको स्वाददेखि पुलिसको लाठी चार्जसम्म खान पुगें । अँ, साच्चै तिमी पनि ठूली जान्ने भइछौ होला भन्ने लाग्थ्यो । २०६२÷०६३ को जनआन्दोलन अघि माओवादीको युद्धका समयमा तिमीलाई सम्झेर दुई चार शब्द मानसपटलमा आईरहन्थ्यो । किनकी मलाई त्यो बस्तीमा रहेकी शान्तिलाई म कसरी भुल्न सक्थें र ? त्यसैले तिम्रो पुकारका लागि दुई शब्द कविताका माध्यमले कोरेको थिए । जुन यसप्रकार छ–

अधिकारै छैन जस्तो, युद्धभित्र बस्नुपर्ने
झुपडीमा दाउरा बाली डेरा अन्तै सार्नुपर्ने
सबै भन्छन् हाम्रो दिन, अवश्य नै आउँछ होला
राम्रो दिनको खोजी गर्न, जागौं युवा कहाँ जाऊँ ।

कोही आई जंगलबाट, शान्ति गरौं भन्छन् क्यार
भित्रै बस्ने बुद्धिजिवी, निजी जाल बुन्छन् क्यार
जालै काट्ने मुसासँग, प्रीति लाउन कहाँ जाऊँ ।

सिउँदो खाली देख्नुपर्ने, कयौं नारी रोडमा हिँड्दा,
बालक छोरा पागल जस्तो, सामुन्नेमा बुवा ढल्दा
मनको पीर थन्क्याउने, ठाउँ खोज्न कहाँ जाऊँ ।

अनिकालमा बिऊ जोगाउ, लडाईमा जिउ जोगाउ,
उपदेश नै हराएछ, बुढि बज्यै गोली लाग्दा
गोलीभित्रै नाम लेख्ने, लेखक खोज्न कहाँ जाऊँ ।

एउटा गोरु भिरमा खस्यो, खोलातिर बम पड्कँदा
गैरी खेतमा धन झुलेन, रोपाईं छाडी परेड खेल्दा
लडाईमा घर जलेछ, बसाई अन्तै सरे जस्तो
घरबार जोड्ने पैसा छैन, साहु खोज्न कहाँ जाऊँ

आन्दोलनपछि म घर फर्केको थिएँ । आफन्त कहाँ खोजे, पानी भर्ने पधेंरोमा, हामी पढ्ने विद्यालयको कम्पाउण्डभित्र खोजे तर भेट्टाईन । सायद तिमी डेरा सरेर अन्तै पोे गएकी थियौ की ? म त्यहाँ जन्मभूमी पुग्दा प्रकृति पनि परिवर्तन जस्तो, हामी बस्ने चौतारीका रुखहरु पनि बमबारुदका प्रहारबाट घाईते भई डराए जस्तो, गाउँमा त्रास र भयको वातावरण अचम्म लाग्यो तिमीबिनाको मानव बस्तीको हाल बुझ्दा ।

शान्ति संविधानसभाका चुनावहरुमा भाग लियौ कि लिएनौ त्यो त मलाई थाहा भएन । तर शायद तिमी जन्मभूमीबाट अलग्गै थियौ, जहाँ तिमो आफ्नै संसार थियो होला । यदि तिमी यतै भएको भए, यस्तो हुन्थ्यो होला र ? कल्पना गर त, जे भए पनि म चाँही चुनावमा सहभागी भए । मन पर्नेलाई भोट दिएँ । तर परिणाम चित्तबुझ्दो आएन किनकी आजको कम्प्युटर युगमा हाम्रा विचारहरु कछुवा गतिमा हिँडे जस्तो लाग्यो । व्यक्तिवादी सोच भएका हाम्रा ठूला बडाहरुको नियत जस्तो लाग्यो । हामी एक हौं । हामी मानव हौं भन्ने भावना प्रायः पाँच प्रतिशतमा पनि पाईएन । ती भुतका पलहरुमा बाँच्दै आज म २०७२ सालको अन्तिम अन्तिमतिर छु । तिमीलाई खोज्दै छु । भुल्न खोज्दा देश विदेशका समस्याले तिमीलाई सम्झिरहन्छु । जव हामी उत्तरबाल्यअवस्थामा थियौ, हामी स्कुल जाँदा विभिन्न तहहरु उत्तिर्ण हँुदै जाँदा होस् या अतिरिक्त क्रियाकलापमा पुरस्कार जित्दा, शिक्षकहरुले दिएको हौसला एक आपसमा बाँडेर हामी नेता बन्नेछौं । डाक्टर बन्नेछौं, भन्ने हाम्रा सपनाहरु थिए भनि सम्झेर भेट नहुँदाको द्वन्द्वको बेला तिमीलाई मैले हुलाकबाट यस्तो चिठ्ठी पठाएको थिए ।

देश उधोगतिमा गइरहेको बेला नरनारीविनाको जीवन सम्भव नभएजस्तै तिमी बिना संसार शान्त होला भन्ने लाग्दैन । संसारका उखानलाई प्रमाणित गर्न चाहना र मेहनत गरे असम्भव केही पनि छैन भन्ने सन्देश छर्न छटपटाईरहेका असहाय, अनाथ, टुहुराहरुको घाउमा मलम छर्न आऊ, चाँडै आऊ ।

शान्ति,

प्रेम विनाको संसार कल्पना गर्न सक्छौं र ? प्रेम एक अजिव शब्द हो, जुन महशुसबाट प्रस्ट हुन्छ । झै–झगडा, लुटपाट, चोरी डकैती, द्वन्द्व यी सबै कुरा प्रेमलाई गराउने माध्यम हुन् जस्तो लाग्छ । यो मानव बस्तीमा, वायुसँग हिँड्नेहरु, समुन्द्रको अध्ययन गर्नेहरु, तारामण्डलमा बासस्थान बनाउन चाहनेहरु, ऐस आरामको जीवन जिउनेहरु, सुख, दुःख साथी बनाई हिँड्नेहरु छन् । तर यिनीहरुमा पनि त प्रेम होला नि । जे होस् हाम्रो अनौठो प्रेम जो आजभन्दा १८÷२० वर्ष अघिबाट सुरु भएको थियो । यहाँसम्म पुग्ला भनेर मैले कल्पनासम्म पनि गरेको थिएन । अव तिमी पनि जान्ने भइसकेकी छौ । आऊ मान्छेबाट सिर्जना भएको समस्या समाधान गर्न सकिने तर समाधान नभएको समस्यालाई समाधान गर्न भनेर तर तिमीले पत्र पायौ या पाएनौ, थाहा भएन ।

शान्ति,

मैले भनिसकें, म २०७२ सालको अन्तिमतिर छु भनेर । हेर न, प्रकृति पनि कति निष्ठूरी, आफ्नो पारा देखाई छाड्यो । वैशाख १२ र २६ को विनासकारी भूकम्पको पीडा भनिरहनु पर्दा या तिमी पाल मुनि गर्मिली पो छौ कि ? या मधेस आन्दोलनमा छोरा पो गुमाएकी छौ थाहा भएन । म त २०६८ सालदेखि पहाडको फेदीमा बसेर २०५२ देखि २०७२ सालसम्मको झझल्को दिलमा जिवितै राख्दै बाँचेको छु । पक्कै पनि हाम्रो मिलनको त्यो क्षण याद उदाहरणीय हुनेछ । तराईको आन्दोलन जीवितै गाँस नपाएर दाउरा बाल्नुपर्ने अवस्था अनि म पहाडको फेदमा दाउराको कोईलाको रापमा तिमीलाई पाउँछु । गाडीमा डिजेल नहँदा बिरामी आमा बोकेर लैजाँदाको कल्पना गर्न सक्छौं ।

नेताहरुको बोलीमा केही दम नभए जस्तो लाग्यो । दास भएर बाँच्नु पर्ने तर वीर गोर्खालीका छोरा हौं भन्नुपर्ने अवस्था । तिमी विना भए पनि मैले प्रश्न गर्दै छु । हुनत तिमी खोज्दा खोज्दै दशक बिते । या मैले शहर पस्न जानिन या त सवैलाई माया मा¥यौ । तिमी असाध्यै राम्री थियौ । मुसुक्क हाँस्दा हिमाल झै चम्किने दन्त लहर मृग नयनी आँखा चन्द्रमुखी अनुहार निश्चलता पवित्रता बोकेको त्यो मन कसैको आँखामा राखे पनि नबिझाउने तिम्रो मधुरबोली । कति बयान गरुँ तिम्रो रुपको । तिमी बिनाको यो संसार अधुरो छ । कलह छ । दुस्मनी झै–झगडा तिमी बिनाको फल हो । यदि तिमी हरायौ भने पबित्र बुद्धभूमीले के भन्ला ? सगरमाथाको धैर्यता तोडिँदैन होला र ? रोडमा सेतो सारीमा काखमा बच्चा च्याप्ने नारीको व्यथाले के भन्ला । सोच, देश उधोगतिमा गइरहेको बेला नरनारीविनाको जीवन सम्भव नभएजस्तै तिमी बिना संसार शान्त होला भन्ने लाग्दैन । संसारका उखानलाई प्रमाणित गर्न चाहना र मेहनत गरे असम्भव केही पनि छैन भन्ने सन्देश छर्न छटपटाईरहेका असहाय, अनाथ, टुहुराहरुको घाउमा मलम छर्न आऊ, चाँडै आऊ । म त्यहिँ हुनेछु जहाँ हाम्रो सुन्दर बन थियो । वनमा खेल्ने जिवजन्तुहरु थिए । गोठालाहरुका बाँसुरीको मीठो धुन गुन्जिन्थ्यो । छरछिमेकमा सहयोगको भावना थियो । साँझ पख हुक्कामा तमाखु तानिरहेका बुढा बाजेसँग आज साँझ हाम्रो जन्मभूमीमा शान्ति आउँदै छिन् भनेर कुरा गरिरहेको हुनेछु ।

अन्तमा १८/२० वर्षसम्म बिछोड हुनुको कारण तथा पाएका तिता, मीठा अनुभव दुःख सुख साटासाट गरौंला भन्दै र चाँडै भेट्ने विश्वासका साथ विदा माग्छु ।

उही,
गोपाल पुजारा ‘पुजारी क्षितिज’