२९ आश्विन २०८३, बिहिबार

हेडलाइन मात्रै पढ्नेले दिएको सास्ती

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khema-Basnet-बिहान ब्युँझेकी पनि थिइनँ, फोन आयो । चिनेकै मान्छेका रै’छ । फोन उठाएँ । ‘हजुरको जीवनमा यस्तो ठूलो घटना घटिसकेको रै’छ । बिचरा तपाईं । मलाई त थाहै थिएन,’ फोन गर्ने व्यक्तिले भने । म आश्चर्यचकित भएँ । भनें, ‘के भो र मलाई ?’

‘तपाईंको त विवाह भएर डिभोर्स पनि भइसकेको रहेछ,’ उनले भने । ‘हिजोआज निराश देखिनुहुन्थ्यो,’ उनले मेरो मनोविज्ञान समेत पढिसकेका रहेछन्  !

हरेकका जीवनका सुःखदुःख कलमको सहारा बाहिर ल्याउने पेशामा छु म । त्यसैले मैले पनि केही दिनअघि एकजना दिदीको दुःखको कथा लेखेकी थिएँ- ‘डिभोर्सी केटी’ शिर्षकमा। त्यसपछि प्राप्त प्रतिक्रियाको एउटा उदाहरण हो यो। मलाई थाहा थिएन, मान्छेहरूले यसरी प्रश्न गर्लान् भनेर। पूरै पढेपछि कसको कहानी थियो त्यो भन्ने प्रष्टै बुझिन्छ। तर, हेडलाइन हेरेर प्रतिक्रिया जनाइहाल्ने नराम्रो प्रवृत्तिको मारमा परें म।

कुरो नबुझ्ने मान्छे थिएनन्। राम्रै पढेलेखेका मान्छे थिए। तर, उनले हेडलाइन मात्रै हेरे र प्रतिक्रिया दिने हतारो गरे। किनभने उनलाई डिभोर्स भएकी केटीमाथि सहानुभूति दर्शाउनु थियो। मैले उनलाई आफ्नो विवाह र डिभोर्स दुईटै नभएका, तर यस्तो समस्या भोगेकीअर्कै महिलाको कथा लेखेको बताएँ। उनी लामो हाँसो हाँसे।

‘ए मैले त तपाईंकै कथा ठानेको!’ भन्दै फोन राखे। कस्तो अचम्म, उनले त मलाई त्यो कथासँग जोडेर दुःखी देखिसकेछन्। लेख प्रकाशित भएको तेस्रो दिन हो। काम सकेर घर पुगें। घरमा सबैजना मलाई नै पर्खिएर बसेका रहेछन्। म पुग्ने वित्तिकै हरेकले अनौठो तरिकाले मलाई हेरिरहेका थिए। मैले सोधें, ‘के भो आज सवैलाई ?’ भिनाजुले मुख खोल्नुभयो, ‘तिमीले किन यस्तो लेख लेखेको ? हामीलार्ई त थाहा छ तिमी पत्रकार हौ। तिमीले यस्ता घटना लेख्छौ, तर समाजले त्यसरी बुझ्दैन।’

कुरो बुझियो माथिका मान्छे जस्तै हेडलाइन मात्रै पढेर बाँकी कहानी आफैँ बनाउनेहरूले घरसम्म हैरानी दिइसकेछन्। कुरा भएको यसो रहेछ। मेरो भिनाजुका साथीले लेख पढ्नु भएछ। भिनाजुका साथीले ‘तेरो सालीको विवाह भएर पनि डिर्भोस भएको रहेछ’ भनेर प्रतिक्रिया दिएछन्। भिनाजुले उनलाई धेरै सम्झाउनु भएछ। उसले लेखेकी मात्र हो। कथा अर्कैको हो। त्यहाँ पढेपछि थाहा हुन्छ। तर, उनी कुरा बुझ्न तयारै भएनछन्। त्यसपछि मलाइ आगामी दिनमा यस्तो नलेख्नू भन्न घरसम्म दुःख पाएछन् भिनाजुले।

राम्ररी पढेर प्रतिक्रिया दिनेले कसैको जीवनको यथार्थ कति मज्जाले लेखेको भनेर प्रतिक्रिया दिए। तर, ती निकै कम थिए। फेसबुकमा र फोनमा ‘ए डिभोर्सी पो हौ’ भन्ने ज्यादा थिए।

कहिलेकाहिँ यस्ता कुराले हतोत्साही पनि बनाउने रहेछ। कथा अर्कैको, पीडा अर्कैको भएपनि मैले उप्काउन गल्ती पो गरें कि जस्तो पनि लाग्ने। तर, यस्ता कुराले विचलित हुनुहुँदैन भन्ने पनि ठानें। यो लेखबाट एउटा मज्जैको सबक भने सिकियो। सबैले पूरै पढ्छन् वा सबैलाई कुरा बुझाउन सकिन्छ भन्ने भ्रम मुक्त भएकी छु म।

त्यो भन्दा ठूलो पाठ सिकें, समाजले एक्ली महिलालाई हेर्ने दृष्टिकोण के रहेछ? धेरैको प्रश्न थियो, ‘अझै लामो जीवन छ कसरी जिउछ्यौ?’ कतिको दया थियो, ‘बिचरा तिमी !’

कसैले भन्दो रहेनछ, ‘हरेश नखाउ। जीवन नयाँ शिराबाट सुरु गर।’ कसैले सोच्दो रहेनछ, ‘जसरी यो दुनियाँमा डिभोर्स भएर पनि पुरुषले पहिला कै जीवन जिउँछन्। त्यसैगरी उसले पनि जिउन सक्छे भनेर।’बरु उसलाई दया देखाएर, भय सिर्जना गरिदिएर जीवनलाई ऊर्जावान् बनाउनबाट रोकिरहेका हुँदा रहेछन्। र, मेरो आग्रह– प्रतिक्रिया दिनुअघि राम्ररी पढ्ने कि ? वा पढ्न मन लागेन भ्याइएन भने प्रतिक्रिया नै नदिने कि ?

(सौजन्यः महिला खबर।बस्नेत कैलालीका पत्रकार हुन् । )