१६ कार्तिक २०८३, सोमबार

बिस्केट जात्रामा प्रहरीको क्विक रेस्क्यु स्क्वाड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bisket Jatraभक्तपुर, २३ चैत । भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्केट जात्रामा यस वर्ष पहिलो पटक प्रहरीको क्विक रेस्क्यु स्क्वाड टोली खटाइने भएको छ ।

गत वैशाखको भूकम्पका कारण टेकोमा अडिएका एवम् जीर्ण घर रथतान्ने क्रममा भत्किन सक्ने सम्भावनालाई ध्यानमा राखेर मानवीय क्षति नहोस् भनेर यसप्रकारको टोली परिचालन गरिने भएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले भन्नुभयो– “चैत २७ गते र वैशाख ५ गते तौमढीबाट रथ तान्नेक्रममा रथको पाङ्ग्राबाट आउने कम्पन र रथले छोएर भूकम्पले जीर्ण बनाएका घरमा क्षति भएमा सम्भावित दुर्घटना एवम् मानवीय क्षति नहोस् भनेर तत्काल उद्धार गर्न क्विक रेस्क्यु स्क्वाड टोली खटाउने भएका छौँ ।” प्रहरी हेडक्वार्टरबाटै आउने यो टोलीले उद्धारका लागि आवश्यक सम्पूर्ण सामग्रीसमेत लिएर प्रहरी परिसर भक्तपुरमा तयारी अवस्थामा रहने छन् ।

त्यसैगरी, रथ लैजाने रुटमा भूकम्पले क्षति पु-याएका जीर्ण एवम् टेको लगाएका घरमा क्षति नपुगोस् भनेर यस वर्ष रथ लैजाने रुटसमेत छोट्याउने निर्णय भएको छ । प्रहरी उपरीक्षक बज्राचार्यका अनुसार तौमढीबाट माथिल्लोपट्टि क्वाछेसम्म र तल्लोपट्टि बोलाछेसम्म मात्रै रथ लैजाने निर्णय भएको छ । यसका लागि भक्तपुर नगरपालिकाले पनि सघाउने भएको छ ।

विगतमा तौमढीबाट रथ तान्न सुरु भएपछि माथिल्लोपट्टिकाले सके दत्तात्रयसम्म र तल्लोपट्टिकाले सके नासमनासम्म रथ लैजाने परम्परा रहेको थियो । जात्रामा मादक पदार्थ खाएर हिंसात्मक गतिविधि हुने, झगडा हुने, जात्रामा ढुङ्गा हानाहान हुने भएकाले यस वर्ष जात्रा सञ्चालन हुने क्षेत्रमा पूर्णरुपमा मदिरा पसल बन्द गराइने भएको छ ।

प्रहरी उपरीक्षक बज्राचार्यले भन्नुभयो˗ “कुनै पनि पसलबाट मदिरा बिक्री गरेको पाइएमा तत्कालै पक्राउ गरी कारबाही अगाडि बढाउनेछौँ, त्यसैले जात्रा अवधिभर जात्रा सञ्चालन हुने र आसपासका क्षेत्रलाई निषेधित क्षेत्र बनाउने भएका छौँ ।”

त्यसैगरी, जात्रामा हिंसात्मक घटना हुन नदिन एक हजार प्रहरी परिचालित हुने भएका छन् । जात्रा स्थल र आसपासका क्षेत्रमा सादा पोसाक र प्रहरी पोसाकमा जनपथ एवम् सशस्त्र प्रहरी परिचालित हुने भएको उहाँले जानकारी दिनुभयो ।

हिंसात्मक गतिविधि गर्नेको निगरानी गर्न चोकचोकमा सिसी क्यामरा जडान गरिसकिएको छ भने जात्राको दिन केही प्रहरी व्यक्तिगत रुपमा म्यानुअल क्यामरासहित खटाएर निगरानी गरिने भएको छ ।

त्यस्ता व्यक्तिको पहिचान गरेर तत्कालै पक्राउ गरी सार्वजनिक मुद्दा लगाएर कारबाही गरिने भएको छ भने नेपाल रेडक्रस सोसाइटी र स्थानीय क्लबसँग सहकार्य गरेर जात्रालाई शान्तिपूर्ण बनाउन स्वयम्सेवक समेत परिचालन गरिने भएको छ ।

चैत २६ गते शुभकामना आदानप्रदान गर्ने र जात्रा सुरु हुने दिन २७ गते बिहान सद्भावना -याली प्रदर्शन गरिने भएको छ । नागरिकलाई कुनै समस्या परेमा तत्कालै सहयोग गर्न यस वर्ष सामुदायिक प्रहरी र पर्यटक प्रहरी परिचालित गरी नागरिक सहायता कक्ष खडा गरिने भएको छ ।

त्यसैगरी, नेपाल विद्युत् प्राधिकरणले जात्रा अवधिभर विद्युत्भार कटौती नगर्ने भएको छ भने खानेपानी कार्यालयले खानेपानी उपलब्ध गराउने भएको छ । जात्रामा घाइते भएमा तत्कालै उपचारको व्यवस्था गर्न भक्तपुर अस्पताललाई तयारी अवस्थामा राखिने भएको छ । रासस