२९ आश्विन २०८३, बिहिबार

‘डिभोर्सी केटी’

12.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khema-Basnet-कुनै केटासँग बोलियो र हाँसियो भने पनि बिग्रिएकी  केटीको संज्ञा दिन्छ समाजले । प्रेमको चक्करमा परेको थाहा भयो भने त बाँकी के रहन्छ र ? त्यसैले म पुरुषदेखि सक्दो टाढा रहेँ  । सँगै पढ्ने केटा साथीसँग पनि एउटा दूरी बनाएर बसेँ । मास्टर्ससम्म पढ्दा पनि म कुनै केटाको नजिक म गइनँ । यसको मतलब समाजको नजरमा म बिग्रिइनँ ।

उसका लागि विवाह एउटा सानो खेल थियो । यो समाजका हरेक पुरुषका लागि विवाह एउटा सानो खेल हो, उसले खेल खेलिसकेपछि ‘गल्ती भयो’ भनेर फेरि सानदार जीवन जिउन सक्छ, तर महिलाका लागि विवाह खेल होइन, जीवनभरि उम्किन नपाउने जेल हो ।

मास्टर्स सकेपछि भने घरपरिवार र समाज आफैंले केटासँग सम्बन्ध गाँस्न जोड गर्न थाल्यो । प्रस्ताव पनि धेरैबाट आए  । किनभने म सप्रिएकी केटी थिएँ । विवाह गर्ने उमेर पनि भइसकेको थियो । त्यसैले नाइँनास्ति गरिनँ, बरु घरपरिवार सवैको चित्त बुझ्ने केटा खोज्नमै जोड दिएँ । नाइँनास्ति गर्नु नपर्ने अर्काे कारण पनि थियो, म पछिका दुई बहिनी हुर्किसकेका थिए  । विवाहका लागि मैले गरिरहेको ढिला सुस्ति उनीहरुका लागि पनि बाधक भइरहेको थियो ।

यही सन्दर्भमा एकदिन एउटा परिवार मलाई माग्न आयो । घरघराना सवै परिवारका अन्य सदस्यलाई थाहै थियो । केटाका बारेमा सोधें, हेरें र बुझें, अस्वीकार गरिहाल्नुपर्ने अवस्था देखिनँ  । यसैपनि जीवनमा अलिअलि सम्झौता गर्न त जोसँग पनि परिहाल्छ भन्ने लाग्यो । केटाले पनि मेरा बारेमा बुझेरै माग्न आएको थियो, त्यसले मेरो स्वीकृतिपछि उसले कुनै प्रश्न गरेन ।

एउटा मान्छेका जीवनमा तीनटा ठूला घटना हुन्छन् रे, जन्म, विवाह  र मृत्यु । तीमध्ये सुखद् घटना दुईटा हुन्छन्, जन्म र विवाह  । जन्म आफूलाई थाहा हुने कुरा भएन, मृत्यु झन् अकल्पनीय भइहाल्यो । मान्छेले जीवनमा देख्न पाउने र मनाउन पाउने उत्सव एउटा विवाह न हो । त्यसैले यसलाई सक्दो अवस्मरणीय बनाउनुपर्छ भन्ने लाग्ने नै भयो । बेहुली बन्नुअघि मनमा अनेक सपना थिए । के के न गरिएला जस्तो पनि लागेको थियो, तर सोचेजस्तो नहुँदो रहेछ । के पुगेन, के पुगेन जस्तो हुँदो रहेछ, बेहुली बन्दा । विवाह भयो, जस्तो भए नि राम्रो भयो । नयाँ साथी पाएँ, जीवन जिउने नयाँ बाटो समाते । अलि अलि उत्साह र अलि अलि डर लिएर बेहुलाको घर लागियो ।

हिन्दूहरूको पवित्रस्थल हरिद्वारमा हाम्रो विवाह भएको थियो ।  त्यहाँबाट २४ घण्टाको दूरीमा थियो केटा घर । जुन घर भर्खरै मेरो पनि भयो । त्यो २४ घण्टाको यात्रामा धेरै कल्पना गरें । सबैभन्दा बढी त मेरो छेउमा बसेकै मान्छे जुन भर्खरै विधिवत रुपमा मेरो सबभन्दा नजिकको मान्छे बनेको थियो, उसको बारेमा सोचें । उसले दिने माया र उसले गर्ने जीवनसाथीको व्यवहार कल्पना गरेर मनभित्र रमाइलो अनुभूतिले तरंग सिर्जना गरिरहेको थियो, हामी चढेको कार रोकियो । उसको अर्थात् मेरो घर आइपुगेछ ।

‘त्यो सामान लिएर आइजा,’ ऊ अर्थात् दुलाहाले झर्केर भन्यो । म त बेहुली न थिए, त्यसरी मप्रति किन झर्केको होला ? अरु कसैलाई भन्यो होला भनेर मैले वास्ता गरिनँ  । मैले आफ्नो सुझबुझले केही सामान लिएर घरको गेटतिर पाइला बढाएँ  । उसका बहिनीहरूले घर प्रवेश गराए  । मलाई उसको कोठामा लिएर राखे । मसँगै ऊ पनि बसिरहेको थियो । उसका आफन्त मलाई हेर्न तँछामछाड गर्दै थिए । कतिले भन्थे, ‘कति राम्री ।’ कतिले भन्थे, ‘केटाले दुलही लक्षिणकी पायो ।’ ‘पढेलेखेकी नि रैछ, केटो भाग्यमानी भयो’ भनेको पनि सुनें ।

यत्तिकैमा ऊ बाहिरियो । एकछिन यतैकतै गयो होला भनेर कसैले सोधखोज गरेन  । लामै समय ऊ कोठामा प्रवेश नगरेपछि एकजनाको मुखबाट फ्याट्ट निस्कियो, ‘उसले मन पराएको केटीसँगै विवाह गरिदिनुपर्छ नि । नमानेपपिछ यस्तै हुन्छ ।’ मैले आधा बुझें, आधा बुझिनँ र धेरै त वास्ता गरिनँ  । किनभने विवाहअघि नै उसले मलाई लभसव भएको वा नभएको सोधेको थियो । मेरो प्रेम सोध्ने उसका त्यस्तो चक्करसक्कर नहोला भन्ने लागेरै केही सोधिनँ । माग्न ऊ आएको थियो, मलाई हेरेर र मेरा बारेमा बुझेर ऊ माग्न आएकाले ऊ मसँग जीवन बिताउन राजी भएरै आएको होला भन्ने लाग्नु पनि त स्वभाविक थियो ।

जसले जे भनेपनि नकारात्मक सोच्नुहुन्न भनेर विवाहको पहिलो रात उसको प्रतिक्षामा बसें । त्यो पहिलो रातका हरेक पल जीवनभरका लागि सजाएर राख्ने कल्पना थियो । उत्साह थियो, उमंग थियो र थोरै उत्साह मिसिएको त्रास पनि थियो । मेरो प्रतिक्षा व्यर्थ भयो, ऊ आएन ।

विवाहको तेस्रो दिन, चलन अनुसार दुल्हन फर्काउनुपर्छ ।  ऊ मसँगै मेरो माइतीघर जानुपर्छ । तर, विहानैदेखि उसको अनुहार समेत देखिएन । सासुससुराको कर र आग्रहमा ऊ मेरो माइत जाने भनेर घर आयो । मलाई माइत पुर्‍यायो, तर ऊ आफ्नो ससुराली घरमा पानी समेत नपिएर फक्र्यो ।

बाआमालाई घरमा जरुरी काम भएकाले तुरुन्तै फर्केको भनेर ढाँटें । मेरो मनमा चिन्ताको आगो बल्न सुरु गरिसकेको थियो, तर त्यो बाआमाको मनमा समेत सल्काउन चाहिनँ  । किन उसले मलाई विहे गर्‍यो ? किन ऊ मदेखि यसरी टाढा भाग्छ ? म आफैँले सही उत्तर पाइरहेकी थिइनँ, अरुलाई के भन्नु ?

यसरी २ वर्ष बिते । मेरो मोबाइलमा बज्ने हरेक घन्टीमा उसको नम्बरको आशा गर्थें । उसले गरेको पो हो कि भनेर हतारमा उठाउथें, तर कहिल्यै उसको मोबाइल नम्बरले मेरो फोनको बाटो देखेन, मलाई माइती पुर्‍याएर गएपछि आफ्नो ससुरालीको बाटो नदेखे जस्तै । विवाह भएको २ वर्ष वितेपछि उसको नम्बरबाट फोन आयो । उत्साहित भएँ, उठाएँ, तर आवाज अपरिचित महिलाको आयो । कसलाई खोज्नुभएको भनें । उताबाट उत्तर आयो, ‘तेरो बुढा र म एकअर्कालाई धेरै माया गर्छाैँ तँसँग उसले बाध्यताले विवाह गरेको हो  । उसलाई छाडिदे  ।’

यो समाजमा कसरी पुरुष बाध्यतामा पर्छ ? यसैपनि ऊ त्यस्तो बाध्यतामा थियो भन्ने त उसको घरमा पुगेपछि पनि मैले महशुस गरिनँ  । विवाह गरेकै दिन घरबाट हराउन छुट भएको ऊ कसरी बाध्यतामा पर्याे मसँग विवाह गर्न ? सत्य कुरा के हो भने उसका लागि विवाह एउटा सानो खेल थियो । यो समाजका हरेक पुरुषका लागि विवाह एउटा सानो खेल हो, उसले खेल खेलिसकेपछि ‘गल्ती भयो’ भनेर फेरि सानदार जीवन जिउन सक्छ । तर, महिलाका लागि विवाह खेल होइन, जीवनभरि उम्किन नपाउने जेल हो । किनभने म समाजका नजरमा अहिले एउटा कैद भोगेर आएको मान्छे जत्तिकै छु ।

उसले जति दूर राख्न चाहेपनि मेरो मनदेखि उसलाई दूर राखिनँ । श्रीमान् न हो एकदिन विधवत रुपमा आफ्नी श्रीमती बनाएकी मलाई स्वीकार्छ भन्ने आशा थियो ।  यही सोचेर उसका आमाबुवाको दुई वर्ष सेवा गरें । घरधन्दा सम्हालिदिएँ  । तर, यी दुई वर्ष एक शब्द मीठो बोलेको मलाई याद छैन । अहिले बाटो बिराएपनि ऊ मेरो दृढतामा, धैर्यतामा र मायामा पग्लिएर एकदिन फर्केर आउने आशा जिवित राखेकी थिएँ  । त्यसैले त घर अघि मोटरसाइकल रोकिएको आवाज आयो कि ऊ आयो भनेर दौडिदै बाहिर निस्किन्थें । तर, ऊ कहिल्यै आएन  । आएपनि कहिल्यै बोलेन मसँग  ।

मैले हार मानिसककी थिएँ  । मेरो धैर्यताको बाँध धेरै दिन टिक्न सक्ने अवस्थामा थिएन  । उसले मलाई फोन गर्ने थालेको थियो, तर फोनमा मुखमा आएजति असभ्य शब्द बोलेर गाली गथ्र्याे ।  कुनै समय उसको फोनको प्रतिक्षामा तड्पिने म अब उसको फोन आउँदा तर्सिन थालेकी थिएँ । उसले आफ्नो जीवन र घरबाट टाढा जाऊ भनेर गाली गथ्र्याे । म आफ्नो मर्जीले आएकी थिइनँ, उसले मागेको थियो । डोली लिएर आएको थियो उ मेरो घर र आएकी थिएँ म  । कसरी जाउँ म ? कहाँ जाउँ म ?

तर, मसँग अर्काे विकल्प पनि थिएन । म उसको जीवनबाट भागें अर्थात् डिभोर्स गरें । गल्ती उसकै थियो, म भाग्दा स्वतन्त्र उही भयो । म त हिजो पनि कैदी थिएँ र आज पनि छु । किनभने समाजले भन्ने गरेको ‘डिभोर्सी’ केटीको हतकडी मेरा हातबाट कहिल्यै निस्किने छैन । ऊ पनि यही समाजमा बाँचिरहेको छ, अर्की केटीसँग विवाह गरेर फुक्काफाल जिन्दगी  । म पनि यही समाजमा बाँचिरहेकी छु, विना गल्तीकी अपराधी भएर ।

सुरुकै प्रसंग जोडौं, म बिग्रिइनँ कहिल्यै । सरासर पढें, घरपरिवारले भनेकै केटासँग विवाह गरें । तर, आज समाजले विग्रिएकी मलाई नै ठान्छ  । ऊ पटक पटक विग्रियो, आफू मात्रै विग्रिएन अरुलाई पनि विगार्याे । तर, उसलाई समाजले सप्रेको मान्छे ठान्छ । यसैले त उही इज्जत र उही सानसहित जिइरहेको छ ऊ । म भने मेरो नामले भन्दा डिर्भोसी केटीको उपनामले परिचित छु ।

यति आफ्नो कथा सुनाइरहँदा ती दिदीले धेरैपल्ट आँशुका धारा बगाइन् । धेरैपल्ट आक्रोशका आगो बालिन् । र, अन्त्यमा सोधिन्, बहिनी गल्ती उसको कि मेरो ? बिग्रिएको ऊ कि म ?

हाम्रोजस्तो समाजमा यसको उत्तर सजिलो छैन । गल्ती पुरुषले गरेपनि सजायँ महिलाले भोग्नुपर्ने समाजमा ती निर्दाेष दिदीको घाउमा मेरो उत्तर मात्रै मल्हम बन्न सक्दैन पनि ।

(सौजन्यः महिला खबर।बस्नेत कैलालीका पत्रकार हुन् । )