
– अच्युत रेग्मी
काठमाडौँ, २१ चैत । गर्मी मौसममा सबैतिर सुख्खा हुन्छ र हावाहुरी बढी चल्छ । परिणामस्वरुप घर तथा वन क्षेत्रमा आगलागीका धेरै घटना हुन्छन् ।
वन विभागले जनाएअनुसार मानिसको हेलचेक्र्याइँले गर्दा वन क्षेत्रमा धेरै डढेलो लाग्ने गरेको छ । मानिसले व्यक्तिगत जग्गामा पातपतिङ्गर पोलेर छाड्दा होस् या सडक बढारेको फोहर नालीमा फालेर आगो लगाउँदा होस् यस्तो प्रवृत्तिले आगलागीका घटना निम्त्याउँछन् ।
गत वर्षको तुलनामा यस वर्ष वनमा धेरै मात्रामा डढेलो लागेको छ । विभागका वन पैदावार अधिकृत श्रीप्रसाद बरालले यस वर्ष सिन्धुली, दोलखा, अर्घाखाँचीलगायतका जिल्लामा धेरै डढेलो लागेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “जनचेतना र प्रचारप्रसारको कमी हुँदा वनमा धेरै आगलागी भएका छन् । यसको नियन्त्रणका लागि विभाग सक्रियताका साथ लागेको छ ।” उहाँले आफ्नो जग्गामा रहेको पातपतिङ्गर पोलेर आगो ननिभाई नहिँड्नसमेत सबैलाई आग्रह गर्नुभयो । जलवायु परिवर्तन हुनु र लामो समय खडेरी पर्दा सुख्खा भई धेरै आगलागी हुने गरेको विभागको भनाइ छ ।
आर्थिक वर्ष २०७१÷७२ मा भन्दा यस आर्थिक वर्षमा धेरै आगलागी भएका छन् । यो आवको आगलागी आव २०६९÷७० र २०७०÷७१ को तुलनामा केही कमी हो । देशभर १८ हजार सामुदायिक वनमध्ये अधिकांश जङ्गलमा चैत÷वैशाखमा धेरै आगलागी हुने गरेका छन् । वन क्षेत्रमा हुने आगलागीले गर्दा हरेक वर्षं हजारौँ वन्यजन्तु मर्ने गरेका छन् ।
वनमा हुने आगलागीका घटनामा कमी ल्याउन वन विभागले आफ्नो विभागअन्तर्गतका जिल्ला वन कार्यालयमार्फत गत फागुन १६ देखि २१ गतेसम्म ‘डढेलो नियन्त्रण सप्ताह’ कार्यक्रम सञ्चालन गरेको थियो । वनमा हुने आगलागीले मानवीय क्षतिसमेत हुने गरेको छ । गत महिना मात्र वनमा लागेको आगो नियन्त्रण गर्न जाँदा दोलखामा एक बालकको आगोले पोलेर ज्यान गएको थियो ।
विभागका प्रचारप्रसार अधिकृत फडिन्द्र पोखरेल वन दशक कार्यक्रमले आगालागी नियन्त्रणमा कमी ल्याउने विश्वास व्यक्त गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “आगो र गाईवस्तुको चरिचरनबाट वन क्षेत्रलाई जोगाउन सके वन वृक्षरोपण कम गरे पनि हुन्छ ।” वन दशकले वन क्षेत्रमा हुने आगलागी नियन्त्रणलाई पनि प्राथमिकतामा राखेकोे छ ।
वन ऐनको दफा ४९ को ‘ख’ मा आगो लगाउने वा आगलागी हुने कुनै काम गर्नेलाई दफा ५० को ‘ख’ अनुसार कारबाही गर्ने व्यवस्था गरिएको छ । दफा ५० को ‘ख’ मा वन आगलागी वा कसुर गर्नेलाई बिगो असुल गरी दश हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
तराईका क्षेत्रमा भन्दा पहाडी क्षेत्रमा वनमा हुने आगलागी नियन्त्रण गर्न गाह्रो हुने गरेको छ । पहाडी क्षेत्रमा धेरै भिरालो जग्गा हुनु र तलबाट लागेको आगो माथितिर जाने हुँदा निभाउनलाई कठिन हुने गरेको विभागले बताएको छ । रासस












प्रतिक्रिया