२८ आश्विन २०८३, बुधबार

मोटरसाईकल बनाएरै चर्चा कमाएका चौधरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bishnu Chaudhary– विष्णु चौधरी

२० वर्षदेखि काठमाडौंमा मोटरसाईकल बनाउने काम गर्दै आएका विष्णु चौधरी साधारण परिवारका व्यक्ति हुन् । ४७ वर्ष पुग्दै गरेका चौधरी अहिले पनि मोटरसाईकल कै व्यवसायमा सक्रिय छन् । बेलाबखत राजनीतिक गतिविधिमा सक्रिय भएकै कारण चर्चामा आउने गरेका चौधरीले आफ्नो लामो काठमाडौं बसाइलाई छाट्याएर गृह जिल्ला सिरहा फर्किएका छन् ।

उनले आफ्नो गृह जिल्लाको लहान बजारस्थित पूर्वपश्चिम महेन्द्रराजमार्गमा ‘श्याम इन्टरप्राइजेज्’ नामक कम्पनी दर्ता गरेर मोटरसाईकल ग्यारेजका साथै मोटरसाईकललाई आवश्यक पर्ने पाटपूर्जाको होलसेल पसल खोलेका छन् । झण्डै पचास लाखको लगानी गरेका चौधरीले लहानको आफ्नो यो पसलबाट सगरमाथा अञ्चलका जिल्लाहरूमा मोटरसाईकलका पार्टपूर्जा सप्लाई गर्छन् । व्यवसायलाई उनका छोरा सुवास चौधरीले सघाइ रहेका छन् । विगत चार वर्षदेखि मोटरसाईकलको पार्टपूर्जाको होलसेल पसल गर्दै आएका चौधरीले आफ्नो व्यवासयप्रति सन्तुष्टि जनाउँदै आएका छन् । चौधरीले विमल योगीसँग गरेको कुराकानी :

तपाई मोटरसाईकलको पार्टपूर्जाको व्यवसायमा कसरी लाग्नु भयो ?

– मैले जानेको पेशा भनेकै अटो मेकानिक हो । कुनै न कुनै व्यवसाय त गर्नै प¥यो नी ? व्यवसाय गर्ने हो भने आफूले जानेकै कुरा गरौँ भनेर यतातिर लागेको हुँ ।

अटोमेकानिकतिर तपाईले के–के काम गर्नुहुन्छ ?

– मोटरसाईकलसम्बन्धी सबै कुरा गर्न जानेको छु । तर अहिले मैले मोटरसाईक बनाउने भन्दा पनि मोटरसाईकलका पार्टपूर्जा सम्बन्धी कार्य गर्ने गरेको छु । मेरो ग्यारेजमा आउने मोटरसाईकका समस्या म आफै हेर्ने गर्छु । र त्यसलाई मर्मत कार्य गर्छु । मलाई मेरा मेकानिक साथीहरूले सहयोग गर्छन् ।

अटोमेकानिकबाट तपाईलाई सन्तुष्टि छ ?

– किन नहुनु सन्तुष्टि छ । मैले जानेको पेशा नै यही हो । यही पेसाले मलाई विष्णु चौधरी भनेर चिनाएको हो । अहिले पनि काठमाडौंको अनामनगर क्षेत्रमा मेरो नामले मोटरसाईकलका धनीहरू राम्रोसँग चिन्छन् । यो पेशा कमाइ मात्रै होइन समाज सेवाका लागि पनि हो ।

तपाईले कसरी सिक्नु भयो अटोमेकानिक ?

– मलाई सानैदेखि मेसिनरी पार्टपूर्जाका विषयमा धैरै चासो रहने ग¥यो । मेरो यही चासो र सक्रियताले अटोमेकानिक बनायो । यो पेशामा लाग्नुको कारण मेरो घरको पम्पसेट नै हो । किन कि मेरो बुबाले किनेको पम्पसेट मैले आफै चलाउने गर्थे । कहिले काहीँ बिग्रिदा त्यसलाई आफैले मर्मत सम्भार गर्ने गर्थे । त्यही भएर म यो पेशामा लागेको हुँ ।

विगत २५ वर्षदेखि तपाई अटोमेकानिमा हुनुहुन्छ, के पाउनु भयो यो पेशाबाट ?

– यही पेशाबाट मेरो पहिचान भएको छ । समाजमा धेरै साथीहरू बनाए । यो पेशाले गर्दा धेरै परिचित व्यक्तिसँग सम्बन्ध भयो । उहाँहरूले विष्णु चौधरी भनेपछि चिन्नु हुन्छ । मलाई माया गर्नु हुन्छ । उहाँहरूको संगतले म यो स्थानमा छु । मेरो पेशा सानो भए पनि म खुसी छु । सन्तुष्ट छु । यही नै मेरो उपलब्धि हो ।

तपाईले अटोमेकानिकबाट सिसेका कुरा कसैलाई सिकाउनु भएको छ ?

– मेरो अटोवर्कशपबाट अटोमेकानिक सिकेका साना भाइहरूले राजधानीमै झण्डै आधा दर्जन स्थानमा अटोमेकानिक पलस अर्थात मोटरसाईकल बनाउने ग्यारेज खोलेर बसेका छन् । उनीहरू मेरै कारण रोजगारी पाएको जस्तो लाग्छ । उनीहरूले मलाई सधै सम्झन्छन् । अहिले पनि मेरो ग्यारेज बैद्यखानामा छ । अर्को ग्यारेज लहानमा छ । ती दुबै ग्यारेजहरूमा अहिले पनि ४/५ जना भाइहरू कार्यरत छन् ।

यो व्यवसायमा लागेपछि मोटरसाईकल सम्बन्धी व्यवसायीहरूले पनि तपाईलाई चिन्छन् होला नी ?

– किन नचिन्नु । मेरो थुप्रै साथीहरू यो व्यवासयमा छन् । अहिले पनि मेरो नाम लिइर सोध्नुस् अधिकांश पार्टपूर्जाका पसलहरूले चिन्छन् । मेरा ग्यारेजवाला साथीहले उत्तिकै मलाई सम्मान गर्छन् । बेलाबेलामा सम्झन्छन् पनि र फोन पनि गर्छन् ।

अहिले मोटरसाईकल बनाउने भन्दा पनि पार्टपूर्जाको व्यासायतिर धेरै आकर्षित हुनु भएको छ । किन हो नी ?

– जिउनका लागि एउटा व्यापार गर्नु पर्छ । मेरो व्यापार व्यवसाय भने कै अटोमेकानिक हो । मोटरसाईकल मात्रै बनाउनु भन्दा मोटरसाईकलका पार्टपूर्जा बिक्री गर्दा पनि केही आम्दानी हुन्छ भनेर यो व्यवसायमा लागेका हुँ ।

यो व्यवासयबाट आम्दानी हुन्छ ?

– किन नहुनु मिहिनेत गरेपछि जुन व्यवासयबाट पनि हुन्छ । मिहिनेत र इमान्दारी व्यवासयमा आवश्यक छ । मेरो यही इमान्दारिता र मिहिनेतले गर्दा अहिले पनि मेरा ग्राहकहरूले विश्वास गरेका छन् । पसललाई आवश्यक पर्ने मालसामान पनि समयमा पाउने गरेको छु ।

लहानमा आन्दोलन भइरहन्छ कसरी व्यवसाय गर्नुभएको छ ?

– के गर्ने त ? व्यवसाय सुरू गरिहाले । आन्दोलन हुन्छ त्यसलाई बेवास्ता गरेर अगाडि बढ्न पनि सकिदैन । बजार पसल खुलेका बेला पसल खोल्ने गरेको छु । समय र परिस्थितिको सामना त गर्नु नै प-यो नी ।

लहान बजार मधेस आन्दोलनको जन्मभूमि हो तपाई यो आन्दोलनप्रति कत्तिको सचेत हुनुहन्छ ?

– मधेस आन्दोलनबाट म कसरी अछुतो हुन सक्छु ? मलाई पनि राजनीतिमा चासो छ । अहिले पनि म मेरो व्यवसायबाट बचेको समयलाई राजनीतिक गतिविधिमा लगाउने गरेको छु । राजनीति भन्दैमा कांग्रेस, एमाले, माओवादी वा अन्य कुनै दलमा लाग्नु पर्छ भन्ने छैन । राजनीति समाजको परिवर्तनका लागि गर्ने सेवा हो । त्यसमा म लागेको छ । अधिकारका लागि म सधै सक्रिय रहनेछु ।

मधेसमा राजनीति र व्यवासय गर्न कठिन छ भन्छन् नी हो र ?

– व्यापार र राजनीति अलग अलग विषय हुन् । तर म मेरो व्यवसायप्रति कटिबद्ध छु । व्यवसाय वा मिहिनेत हुँदैन थियो भने विष्णु चौधरी पनि हुने थिएन । विष्णु चौधरीलाई मेरो पेशा व्यवासयले विष्णु चौधरी बनाएको हो । तर मे केमा पनि सचेत छु भने अधिकार र स्वतन्त्रताका लागि राजनीति आवश्यक छ भन्ने सधै सोँच्ने गरेको छु ।

तपाईको छोराले ओटोमेकानिकमा सहोग गरेको भन्नुभयो, युवापुस्तामा अटोमेकानिकप्रति रुची छ र ?

– अरुको छोराछोरीको विषयमा मलाई थाहा छैन । तर मेरो छोराले रुची दिएर अटोमेकानिकप्रति ध्यान दिएको छ । म यसप्रति अत्यन्तै खुसी छु । मैले मेरो व्यवसायमा विविध कारणले ध्यान दिन नसकेपनि मेरो छोराले व्यवसायलाई ध्यन दिने गरको छ ।

तपाईको छोराको अध्ययन कति हो नी ?

– मेरो छोराले नेपाल सरकारको अधिकृतस्तरमा जागिर खाने गरेर अध्ययन पूरा गरिसकेको छ । तर के गर्ने हामी जस्ताको नेपाल सरकारको सेवा गर्ने अबसर कहिले आउँछ र ? छोरोले प्रयास गरेकै हो । तर उसले कतै जागिर पाउन सकेन । जागिर पाउन नसकेपछि के गर्ने त ? बाबुको हैसियतले मैले जे जानेको थिएँ, त्यही व्यवसायमा लगाएको छु । मेरो छोरो यही पेशाप्रति खुसी भएको मलाई लागेको छ ।

तपाईको छोराको विहे भएको छ कि छैन ?

– अहिलेसम्म भएको छैन । मत भन्छु विहे गरेर व्यवसाय सुरू गरोस् भन्ने चाहना छ । तर उसले अहिले विहे गर्ने सोँच बनाएको छ वा छैन मलाई भनेको छैन । उसले आफैले पैसा कमाएर आफ्नै खुट्टामा उभिएर परिवार पाल्न सकोस् भन्ने छ । म पनि विहे होस् भन्ने चाहन्छु ।

तपाईले अटोमेकानिक सम्बन्धी शिक्षा लिनु भएको छ ?

– औपचारिक त होइन । तर विभिन्न कम्पनीले दिने मर्मत सम्भार र अटोमेकानिक सम्बन्धी तालिम लिएको छु । ती तालम र प्रशिक्षणका प्रमाणपत्रहरू मसँग अहिले पनि सुरक्षित छन् ।

तपाई किन राजनीतिमा लाग्नु भएको हो ?

– म पनि यो मुलुकको सचेत नागरिक हुँ । राजनीति मेरो व्यवसाय होइन । बाध्यता हो । राजनीति र मेरो व्यवसाय अलग अलग विषय हुन् । मैले राजनीति र व्यवासयलाई कहिल्यै सँगै हेर्ने गरेको छैन ।