२९ आश्विन २०८३, बिहिबार

बाहिरी खानेकुरा खाँदा झाडाबान्ताको उच्च जोखिम

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khana– कल्पना पौडेल
काठमाडौँ । गर्मीको समय सुरु भइसकेको छ । शरीरलाई चिसोको आनन्द दिने खानेकुरा सडकपेटीमा बिक्रीका लागि राख्ने पनि बढ्दैछन् । गर्मी मौसममा धेरै मानिस सडकपेटीमा राखिएका पानीपुरी, चटपटे, निबुँपानी र बरफलगायतका खानेकुरा खान्छन् ।

वरपरको वातावरण तथा बदलिदो जीवनशैलीका कारण घरमा भन्दा बाहिरी खानेकुराको बढ्दो प्रयोेगले मानिसलाई नराम्ररी गाँजेको छ । पानीपुरी, चटपटे आदि खुल्ला खानेकुरा खाने चलन बालबालिका, युवा र पाका मानिस सबैमा बढ्दो छ ।

सडकपेटीमा बिक्रीका लागि राखिएका यस्ता खानेकुराको बढ्दो सौखिनताले पार्ने असरका बारेमा थाहा हुँदा हुदैँ पनि मानिस बजारीया अस्वस्थकर खानेकुरालाई बढावा दिइरहेका छन् ।

शुक्रराज ट्रपिकल अस्पताल तथा सरुवा रोग अस्पतालका ‘चिकित्सक डा शेरबहादुर पुन यस्ता खानेकुरा खाँदा पेट दुखेर झाडापखाला तथा बान्ता हुनसक्ने बताउनुहुन्छ ।’

झाडाबान्ताका कारण मानिसको ज्यान पनि जानसक्ने भएकाले खानेकुरा, पानी खाँदा सफा, सुरक्षित र स्वस्थकर मात्र खान उहाँको सल्लाह छ ।

त्यस्तै फोहोर तथा धुलोका कारण शरीर चिलाउने अनि हातखुट्टामा घाउ हुने सम्भावना पनि उत्तिकै भएको उहाँको भनाइ छ । ‘‘अहिले नै गर्मीमा देखिने झाडाबान्ताका बिरामी अस्पताल आउने सङ्ख्यामा पनि वृद्धि हुन थालेको छ’’, उहाँले भन्नुभयो ।

कान्ति बाल अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा गणेशकुमार राईले गर्मी मौसममा झाडाबान्ता लाग्ने कारण दूषित खानपान तथा पानी भएको बताउनुहुन्छ ।

उहाँले कान्ति बाल अस्पतालमा झाडापखालाका बिरामीको चाप बढेको जानकारी दिनुभयो । बाहिर सडकमा राखिएका खानेकुरा बासी, सडेगलेका तथा झिङ्गा भन्किएका फोहर पानी अनि फोहरी हातबाट बनाइएका हुनाले यस्तो खानेकुरा खाँदा झाडापखालाले मानिसलाई सताउने गरेको चिकित्सकको भनाइ छ ।

डा पुनका अनुसार खाना राख्ने तथा खाने भाँडा फोहर भएर पनि यो मौसममा रोग लाग्छ, बजारमा काटेर राखिएका फलफूल नधोई खानु हँुदैन । यसैगरी सागसब्जी तथा सलाद पनि सफा पानीले नपखाली खाएमा झाडाबान्ता र हैजाका सिकार हुने खतरा बढिरहेको उहाँको भनाइ छ ।

यो मौसममा झिङ्गा, लामखुट्टे, फट्याङ्ग्रा तथा भुसुना बढी सक्रिय हुने, जताततै पानी जम्ने अनि खानेकुरा छिट्टै गल्ने भएकाले खानपान एवम् रहनसहनमा विशेष ध्यान पु¥याउनु आवश्यक छ ।

यसैपनि चिकित्सक काठमाडौँ उपत्यका हैजा र झाडाबान्ताको उच्च जोखिममा रहेको बताउँछन् । जनसङ्ख्याको बढ्दो चाप, दूषित खानेपानी, अस्वस्थ किसिमका खानेकुरा, अशिक्षा, अज्ञानताजस्ता कारणले उपत्यका हैजा र झाडापखालाको उच्च जोखिममा रहेको हो ।

डा पुन मानिसलाई बजारको वा घरमै पनि स्वस्थ र सफा पानी खानेकुरा खानुपर्छ भन्ने थाहा हुदैँपनि बेवास्ता गर्ने गरेको दुःखेसो गर्नुहुन्छ । रासस