काठमाडौँ, १७ चैत । नेपाली सेनाले राजधानीबाट प्रकाशन एवम् प्रसारण हुने राष्ट्रिय सञ्चारमाध्यममा रक्षा विटमा कार्यरत समाचारदाताका लागि सैनिक मुख्यालय जङ्गी अड्डामा अभिमुखीकरण तालिम कार्यक्रम सञ्चालन गरेको छ ।
अभिमुखीकरणका क्रममा समाचारदातालाई नेपाली सेनाको इतिहास, गठन, जिम्मेवारी, सङ्गठनात्मक स्वरुप, चेनअफ कमाण्ड, विकास निर्माण, पर्यावरण र प्रकृति संरक्षणमा सेनाको भूमिका बारेमा जानकारी दिइएको थियो ।
सङ्गठनलाई अघि बढाउने सन्दर्भमा प्रधानसेनापति राजेन्द्र क्षत्रीको मार्ग निर्देशन र लक्ष्य तथा नेपाली सेनाको विभिन्न विभाग, युनिट, नियुक्ति, दर्जा, दज्र्यानी चिह्न र प्रचलित सैनिक शब्दावलीका बारेमा समेत सम्बन्धित निर्देशनालयका तर्फबाट स्पष्ट पारिएको थियो ।
सैनिक जनसम्पर्क निर्देशनालयका प्रमुख एवम् नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले शुभारम्भ गर्नुभएको छदिने उक्त अभिमुखीकरणका क्रममा रणनीति तथा दीर्घकालीन योजना, व्यवस्था तथा योजना, शान्ति सेना सञ्चालन र युद्ध कार्य निर्देशनालयका साथै इन्जिनियर विभागलगायतका तर्फबाट राष्ट्रिय विकास निर्माण, राष्ट्रिय÷अन्तर्राष्ट्रिय खेलकुदमा नेपाली सेनाको योगदानबारे जानकारी दिनुभएको थियोे ।
अभिमुखीकरणका क्रममा समाचारदातालाई रसुवाको धुञ्चेस्थित नारायण दल गणबाट वन्यजन्तु निकुन्जको सुरक्षामा भएको योगदान एवम् पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिमबाट हुँदै आएको तालिमबारे स्थलगत जानकारी गराउने कार्यक्रम रहेको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयद्वारा विभिन्न सञ्चारगृहमा कार्यरत रक्षा संवाददातालाई सहभागी गराई जङ्गी अड्डामा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको यो चौथो पटक हो । अभिमुखीकरणमा २० समाचारदाता र रक्षा मन्त्रालयका एक जना प्रतिनिधिको सहभागिता रहेको छ । रासस













प्रतिक्रिया