वर्तमान समयमा हाम्रो समाजमा दैनिक ७ जनासम्म वृद्धा, युवती र बालिका घरेलु हिंसाको सिकार बन्ने गरेका छन् । घरेलु हिंसासहित बोक्सीको आरोपमा यातना पाएको, मानव बेचविखनमा परेको, यौनदुव्र्यवहार, बलात्कार, सामुहिक बलात्कार र विभत्स रुपमा हत्या भएको समाचार दिनदिनै आउने गर्दछन् । जुन यस्ता घटना छन्– सुन्दा पनि आङ सिरिङ हुन्छ । नेपाल जस्तो वहुभाषिक, बहुजाति, बहुधार्मिक मूल्यमान्यता भएको देशमा सामन्ति केन्द्रीकृत राज्यले पीछडिएका वर्ग, जाति, क्षेत्र लिंगलाई झन् उपेक्षा गरेको देखिन्छ । बालिका, किशोरी हुन् या वृद्धाहरु नै किन नहुन् कोही पनि सुरक्षित छैनन् । घरभित्रबाटै बलात्कारका घटना हुने गरेको पाइन्छ ।
आधुनिक र सभ्य भनिने वर्तमान समय क्रुर र निर्दयी हुँदै गएको छ । त्यसमध्ये नेपालको सुदूरपश्चिम क्षेत्र अझै पनि राज्यबाट उत्पीडनमा परेको छ । त्यस क्षेत्रका महिला सयौं वर्षदेखि पितृसत्तात्मकमा सोंचमा घोटिँदै आएका छन् । भनिन्छ– महिला र पुरुष एक सिक्काका दुई पाटा हुन् । तर त्यो बोली र तालीमा मात्र सिमित रहेको पाइन्छ । जहाँ गरिवी अशिक्षा र कुसंस्कार धार्मिक रुढिवादी छ । त्यस्तो क्षेत्रमा समाजमा महिलामाथि वर्वर र क्रुर हिंसा बढी नै हुने गरेका छन् । विगत लामो समयदेखिको धार्मिक, सांस्कृतिक कुसंस्कार र अन्धविश्वासले लामो जरा गाडेको छ । त्यो कुरिति कुसंस्कार च्यात्नका लागि महिलाले नै संघर्ष गर्नुपर्ने देखिन्छ ।

बाइसे चौविसे राज्यका भुरेटाकुरे राजाहरुको पालादेखिको इतिहास केलाउने हो भने सबैभन्दा बढी प्रभाव सुदूरपश्चिम क्षेत्रमा देखिएको थियो । यस क्षेत्रमा महिलालाई मनोरन्जनको रुपमा प्रयोग गरिएको पाइन्छ । राजा भनाउँदाहरुले आफ्नो धर्मका नाममा गाउँका सोझा साझा, गरिव निमुखा किसान परिवारका कलिला चेलीलाई देउताको मन्दिरमा देउकीको रुपमा चढाइन्थ्यो । ती भेटी चढाइएका बालिकालाई गाउँका ठकुरी वाउसाप मुखियाले यौनदासिका रुपमा ती प्रयोग गर्थे । देउकीका रुपमा चढाइएकी नाबालिकाले पुरुषहरुलाई जति सन्तुष्ट पार्न सक्यो उति धेरै देवीदेवता खुसि हुन्थे भन्ने थियो । यो प्रथाका विरुद्ध कोही पनि आवाज उठाउन चाहँदैनन् थिए । देवीलाई चढाएकी बालिकालाई मानसिक रुपले नै तयार पारिएको हुन्थ्यो कि म देवीका निम्ति समर्पित छु ।

विस्तारै ती कुमारी देउकीबाट जन्मिएका सन्तानले बाबु खोज्न थाले त्यसबेला बाबु बन्न कोही तयार नभएपछि उनीहरुको भविष्यबारे चर्चा हुन थाल्यो । देउकीलाई यौनदासीका रुपमा सबैले उपभोग गर्ने तर उनीहरुबाट जन्मिएका सन्तानको जिम्मा कसैले नलिने अवस्थाको सृजना भएपछि विस्तारै मानिस सचेत र जागरुक बन्दै गए । पछि यो प्रथा हट्दै गयो । हालसम्म आउँदा यसको अवशेषको रुपमा वादीहरु मात्रै छन् ।
यस्तै जारी प्रथा, बालविवाह, बहुविवाह, छाउपडि प्रथा सुदूरपश्चिम क्षेत्रमा गहिरो जडो गाडेर बसेका छन् । धार्मिक अन्धविश्वास र कुसंस्कारका कारण यस्ता प्रथा निर्मूल गर्न सकिएको छैन । सुदूरपश्चिमका बाजुरा, बझाङ, अछाम, डोटी, बैतडि, दार्चुला, डडेल्धुराका केही भागमा जारी लिन बालविवाह, बहुविवाह र छाउपडि प्रथालाई जोड दिएको पाइन्छ । कानुनी रुपमा यस्ता कार्य दण्डनीय अपराध हुन् । संस्कारका कारण कानुनी राज्यको अनुभुति नहुनु मूख्य कारण हो । यि विषयमा राज्यको ध्यान पुगेको पाईंदैन । गाउँका कुनाकन्दरामा यस्ता घटना भएमा प्रशासनसम्म पुग्न सक्ने पीडितको पहुँच नै हुँदैन । खासगरी यो क्षेत्रका महिला धार्मिक रुपले अति शोषण र दमनमा परेका छन् । धर्मका नाममा देउकी प्रथाको शिकार भएका थिए भने अहिले पनि बाबु आमाले धर्म कमाउने नाममा कोरोदान रजस्वला हुनुभन्दा अघि नै विवाह गरिदिने कुराले गर्दा पछि जवान हुँदा केटाले आफू मनपरि विवाह गर्ने र यी कोरोदान गरिएकी महिला बहुविवाहको शिकार बन्ने अवस्था कायमै छ ।

अर्को कुरा पुरुषले श्रीमती आफूलाई मन परेन भने कुनै न कुनै अर्को पुरुषसँग विभिन्न लाञ्छना लगाई आफ्नी श्रीमतीलाई परपुरुषको जिम्मा लगाइदिने चलन कायमै छ । उ विवाहित होस् वा नहोस उसलाई श्रीमती दिए वा लिए वापत पहिलो श्रीमान्ले दोस्रो श्रीमानबाट जारी लिने प्रचलन पनि यस क्षेत्रमा रही आएको छ । जारी लिनुको पनि मूख्य कारण धार्मिक नै हो । जसले जारी बुझ्न सक्दैन त्यो मानिस समाजमा नामर्द ठहरिन्छ । जारी लिन नसक्ने व्यक्ति स्वर्ग जान पाउँदैन भन्ने अन्धविश्वास रहेको छ । त्यसकारण उसले आफ्नो प्रतिष्ठाका लागी पनि जारी अनिवार्य लिने गर्दछ ।
नेपाली समाजमा ३५ प्रतिशत महिला कुनै न कुनै प्रकारको हिंसाको सिकार भएको पाइन्छ । महिलालाई रजस्वला भएको समयमा घरदेखि टाढा एउटा छाप्रोमा राखिन्छ । जसलाई त्यहाँको स्थानीय भाषामा छाउकुल्लो वा छाउपडि बस्ने ठाउँ भनिन्छ ।
महिला रजस्वला हुनु प्राकृतिक नियम हो । तर समाजमा यसलाई पापको रुपमा चित्रण गरिन्छ । त्यसैकारण रजस्वला भएकी छोरीलाई घरदेखि टाढा राख्दै आएको पाइन्छ । असुरक्षित गोठमा बसेका कतिपय युवतीको अनाहकमा इज्जत जाने र ज्यानै जाने खतरा रहेको हुन्छ । पहिलो पटक रजस्वला भएकी युवतीले सात दिनसम्म पुरुषको अनुहार नै हेर्न नहुने भन्दै अँध्यारोमा राख्न बाध्य पारिएको हुन्छ । पढेलेखेका र शिक्षित भनाउँदाहरुले पनि यो कुप्रथालाई प्रश्रय दिने गरेको पाइन्छ । यस्तो कुप्रथाविरुद्ध बोल्ने आँट कसैको देखिएको छैन । यस्तो प्रथाविरुद्ध बोलेमा देवीदेवता रिसाउँछन् भन्ने मान्यता समाजमा रहँदै आएको छ ।

रजस्वला हुँदा कसैलाई नछोई छाउपडि गोठमा बस्नुपर्ने र गाईको पिसाव वा गहुँत खानुपर्ने बाध्यकारी प्रचलन रहेका छन् । सुत्केरी महिलालाई पनि त्यही छाउपडि बस्ने गोठमा २० दिनसम्म राख्ने गरिन्छ । त्यसरी घरबाट टाढा अँध्यारो गोठमा राख्दा कयौं महिला र शिशुको मृत्युसमेत हुने गरेको छ ।
सुदूरपश्चिममा सानै उमेरमा विवाह गर्ने चलन रहेकाले धेरै बच्चा जन्मिने गरेका छन् । उमेरै नपुगेका युवतीले जन्माउने धेरै शिशुको मृत्यु हुने गरेको छ भने त्यस्ता युवतीको ज्यान पनि जोखिमपूर्ण बन्ने गरेको छ । अशिक्षाका कारण उनीहरुलाई परिवार नियोजनका विधिसमेत थाहा नहुने र यसबारेमा कुरा समेत गर्न नचाहने गरेको छ । त्यति मात्र होइन सुत्केरी महिलाले आफूले लगाएका कपडा आफैं धुनुपर्ने र खानासमेत आफैं बनाउनुपर्ने बाध्यता छ । सुत्केरी गराउन अस्पताल लैजानुपर्छ भन्ने चेतनासमेत यहाँ देखिएको छैन ।
सुदूरपश्चिमका अधिकांश पुरुष कामको खोजीमा बाहिर जाने गरेका छन् । सामाजिक सुरक्षा व्यवस्था कमजोर भएकाले यहाँका धेरै युवती बलात्कारको सिकार हुने गरेका छन् । यहाँ बलात्कृत हुनेमध्ये ४६ प्रतिशत १६ वर्ष मुनिका बालिका रहेको अध्ययनहरुले देखाएका छन् ।
सामाजिक र सांस्कृतिक रुपमा थिचिएका यहाँका महिलालाई आफ्नो श्रीमान्को नाम समेत भन्नु हुँदैन भन्ने शिक्षा दिइएको पाइन्छ । आफ्ना श्रीमान्को नाम भन्नु परेका उनीहरुले अरुकै सहायता लिनुपर्ने अवस्था छ ।
सामाजिक रुपमा महिला हिंसाको अन्त्य नहुँदासम्म सेती–महाकाली दुरदराज वस्तिका महिलालाई सामाजिक कार्यमा सहभागी गराउन नै गा¥हो पर्ने गरेको छ । राज्य लामो समयदेखि राजनीतिक संक्रमणमा छ । राज्यका सुरक्षा र सामाजिक सेवासम्बन्धी काम गर्ने संरचनाले प्रभावकारी रुपमा काम गर्न सकेका छैनन् । महिला हिंसासम्बन्धी काम गर्ने राज्यका संयन्त्र निस्प्रभावि सावित हुँदै गएका छन् । हरेक जसो महिला हिंसाका घटनामा पक्ष वा विपक्षको तर्फबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा राजनीतिक रुप दिएको देखिन्छ । सामाजिक घटनामा राजनीतिले प्रवेश पाउँदा पीडितले न्याय पाउने सम्भावना पनि कम हुँदै गएको छ ।
पीडितले न्याय र राहत पाउने कुराको सुनिश्चितता नभएसम्म सुदूरपश्चिमका महिलाको जीवनस्तरमा सुधार आउन सक्दैन । सरकारले लैंगिक हिंसा अन्त्यका लागि घरेलु हिंसा र सजायसम्बन्धी ऐन २०६६ कार्यान्वयन गरेको जनाएको छ । तर महिला हिंसाका घटनामा वृद्धि भइरहेको छ । तसर्थ सामाजिक चेतना फैलाउँदै महिला हिंसामा संलग्नलाई कडा कारबाही गर्ने संयन्त्र निर्माण गर्नु जरुरी भइसकेको छ ।















प्रतिक्रिया