काठमाडौं, १७ चैत । कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दल र कार्यसमिति निर्वाचनअघि नै विधान संशोधनका लागि अग्रसरता लिएका छन् । उनले नेता रामचन्द्र पौडेललाई मंगलबार फोन गरी निर्वाचनअघि नै विधान संशोधन गर्नेबारे आश्वस्त तुल्याएका हुन् ।
पौडेल पक्षधरले विधान संशोधन नगरी दलको नेता र कार्यसमिति निर्वाचन गर्न नहुने बताएकाले देउवाले संशोधन गर्न अग्रसरता लिएको उनी निकट नेता विमलेन्द्र निधिले बताएको समाचार कान्तिपुर दैनिकले छापेको छ । तत्कालीन सभापति एवं दलका नेता सुशील कोइरालाको निधनपछि उक्त पद खाली छ ।
पौडेलले विधान संशोधन र चैत २० गते बार एसोसिएसनको निर्वाचनका कारण जनाई पूर्वनिर्धारित निर्वाचन मिति सार्न आग्रह गरेका थिए ।
कानुन व्यवसायीको पृष्ठभूमि भएका कतिपय सांसदहरू नै मतदानका लागि जिल्ला जानुपर्ने भएकाले निर्वाचन मिति सार्न पौडेलले आग्रह गरेका थिए । पौडेलको आग्रहप्रति भने देउवा सहमत भएनन् ।
प्रमुख विपक्षी दलको नेता नचुनिँदा संवैधानिक निकायका पदाधिकारी नियुक्तिमा असर पुग्ने भएकाले ढिलाइ गर्न नहुने देउवाको तर्क छ ।
स्रोतका अनुसार पौडेलले वैशाख पहिलो साता निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका थिए ।
निर्वाचन समितिको बहुमत निर्णयअनुसार दलको नेताका लागि चैत २४ र कार्यसमितिका लागि चैत २६ गते निर्वाचन हुने कार्यक्रम छ ।















प्रतिक्रिया