२९ आश्विन २०८३, बिहिबार

संकटलाई सम्भावनामा बदल्दै केपी ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोम खनाल
सोम खनाल

– सोम खनाल

नेपालको संबिधानमा आफूले भनेजस्ता प्राबधान राखिएन भनेर भारत अघोषित नाकाबन्दीमा उत्रिए लगत्तै प्रधानमन्त्री बनेका के.पी. ओलीको कार्यकालका शुरुवाती ५ महिना नाकाबन्दीकै कारण तहसनहस जस्तै भए । एकातिर भूकम्पको कारण उत्पन्न अथाह उथलपुथल, र अर्कातिर नाकाबन्दीको कारण चौपट ब्यबस्था नेपालीका लागि खराब सपना जस्तै कहालिलाग्दा थिए । तर प्राकृतिक बिपदले कमजोर भएकैबेला घांटी अठ्याएर आफ्ना अभिष्ट पूरा गर्ने भारतको दुस्साहसलाई धैर्यताकासाथ सामना गर्नु सिवाय नेपाली जनता र प्रधानमन्त्री ओली दुबैसंग अर्को बिकल्प थिएन ।

देश बिदेशबाट ‘कुरीकुरी’ भनिन थालेपछि नाकाबन्दी कालान्तरमा भारतलाई नै भार हुन थाल्यो । संबिधानको कुरा एउटा बाहाना मात्र थियो, उदेश्य त अर्कै थियो । तर ओली सरकार झुकेर भारतीय स्वार्थ पुरा गर्दिनतिर लागेन, बरू निर्बिकल्प भारत आश्रित नियतीबाट देशलाई केही हदसम्म मुक्त गर्नचाही ओली सरकारले केही कदमहरू चालिदियोस जुन कदमहरूका कारण भारतको टाउको दुख्नथाल्यो । आखिरमा जुन ब्यक्तिलाई प्रधानमन्त्री बन्नबाट रोक्नकै लागि नग्न हर्कतमा उत्रिएको थियो, उसैलाई रातो कार्पेट बिछ्याउन भारत तयार भयो ।

सतहमा जे भनिए पनि मूख्यतस् दुईवटा उद्देश्य बोकेर प्रधानमन्त्री ओली भारतको भ्रमणमा निस्केका थिए । नेपालको संबिधानका बारेमा भारतभर छरिएका भ्रमहरूको निबारण गर्नु उनको पहिलो उद्देश्य थियो भने, निकट भबिष्यमा हुनलागेको चीन भ्रमणको लागि पृष्ठभुमी तयार गर्नु उनको भ्रमणको दोश्रो उद्देश्य रहेको थियो । अर्कोतर्फ, आफूले त्यती धेरै मन नपराएको पात्रलाई राजकिय सम्मानका साथ स्वागत गर्न तयार हुनुमा भारतको केवल एकसुत्रिय एजेण्डाले काम गरेको थियो( नेपालको चीनसंग हुने भनिएका सम्झौताहरूलाई रोक्नु ।

नाकाबन्दीका दौरान चीनबाट केही लाख लिटर इन्धन ल्याउनु र नियमित इन्धन खरिद गर्ने सैध्दान्तिक सहमती गर्नु भारत आश्रित आपुर्तिबाट मुक्ति चाहने नेपालको दिर्घकालिन अभिलाषाका संकेत मात्र थिए । तर तिनै संकेत मात्र पनि भारतको माथिङ्गल हल्लाउन पर्याप्त भए र भारतियहरू डाको छाड्दै ‘नेपाल चीनके झोलीमे चलागया’ भन्न थाले । भारत सरकार नेपाललाई ‘चीनको झोलीमा जान नदिने’ एक सुत्रिय एजेण्डाका आधारमा ओलीसंग मोलमोलाई गर्न थाल्यो ।

प्रधानमन्त्रीको भारत भ्रमणको अन्त्यमा भारतले ‘नेपालको संबिधानलाई स्वागत गर्ने’ वाक्यांश राख्न नमानेको कारण संयुक्त वक्तव्य जारी नभएको भन्ने सूचनाको प्रचार गरियो, जुन आधामात्र सत्य थियो । खासमा भारतले प्रधानमन्त्री ओलीका सामु संबिधानलाई हार्दिक स्वागत गर्ने प्रस्ताब नै राखेको थियो तर चीनसंग कुनै पनि सम्झौता नगर्ने सर्तमा । त्यस्तो आत्मघाती सर्त स्वीकार गर्न ओली तयार भएनन्, बरू उल्टै भारतकै भूमीबाट पटक पटक भनिदिए( ‘भारत र चीनमध्ये एउटा रोज्न सक्दैनौं, नेपाल दुबैसंग संतुलित सम्बन्ध राख्न चाहान्छ’ । वास्तवमा ओलीको यो भनाई ‘चीनसंग सम्बन्ध नबढाउने भए संबिधानको स्वागत गर्दिन्छौं’ भनेर मोदीले राखेको गोप्य सर्तको सार्बजनिक जवाफ नै थियो ।

यसरी हेर्दा भारतले साम, दाम, दण्ड, भेद सबै निती प्रयोग गरेर नेपाललाई गलाउन चालेका चालहरूलाई परास्त गर्दै प्रधानमन्त्रीले भारतमा संबिधानको भ्रम चिर्ने काम गरे । संगसंगै उत्तरी छिमेकीसंग थप सम्बन्ध नबढाउन भारतले दिएको दबाब र धम्किलाई उसैको भूमीबाट तिरस्कार गरेर प्रधानमन्त्री फर्किए । यसकारण नेपालको पक्षबाट हेर्दा प्रधानमन्त्रीको भारत भ्रमण माथि उल्लेख गरिएका दुबै उद्देश्यको आलोकमा अत्यन्तै सफल भ्रमण हो । तर भारतीय चस्माबाट हेर्नेहरूका लागि भने चीनसंग सम्बन्ध बढाउनबाट रोक्ने एकसुत्रिय एजेण्डा अस्वीकृत भएको कारण के।पी ओलीको स्वागतमा भारतले गरेको लगानी सम्पूर्ण रूपले डुबेकै हो ।

वास्तवमा भन्ने हो भने संयमतापूर्ण रूपमा नेपाली जनताका मान्यताहरूलाई कतै टसमस हुन नदिइ भारतको भ्रमण सकेर फर्केकै दिन प्रधानमन्त्रीको चीन भ्रमण सफल उन्मुख भइसकेकै थियो । चीन र नेपाल बिच तत्काल गर्नै पर्ने र पछि गर्न सकिने सम्झौताहरूको बारेमा द्वीदेशीय छलफल भइसकेका थिए, तर भारतलाई सुईको नदिई सम्झौता गरेर उसलाई ४४० भोल्टको झड्का दिन चीन पनि चाहदैन थियो । त्यसैले चीनसंग संझौता गर्दैछौं भन्ने आभास भारतलाई दिएर, अनि त्यसपछि सम्झौता गर्दा भारतलाई ‘जोडका झड्का धिरेसे लगे’ जस्तो हुन जान्थ्यो । ओलीले भारत भ्रमणमा त्यही काम गरे, र चीनको सफल भ्रमणका लागि पृष्ठभूमी तयार गरे ।

जनवादी गणतन्त्र चीनको ऐतिहासिक सफल भ्रमण गरेर प्रधानमन्त्री फर्किसकेका छन् । चीन भ्रमण के कति कारणले सफल भयो, त्यसका बृतान्तहरू जताततै उपलब्ध छन् र ती भबिष्यमा पनि लेखिइनै रहने छन् । यद्यपी देश यस्तो चरम बिपत्तीमा फसेको बेलामा पनि यति दुरगामी महत्वका काम हुनसक्नुका केही ठोस कारणहरू भने केलाउनै पर्ने हुन्छ । सबै भन्दा पहिलो कारण त नेपाली जनताको तिब्र चाहाना नै हो । जनताले भारत प्रतिको सम्पूर्ण परनिर्भरताको तीतो परिणाम पटक पटक चाखिसकेका छन् । उनीहरूले त्यस्तो परनिर्भरता तोडिनु पर्ने चाहाना जोडदार रुपमा मुखरित गरे । देशले पनि यही बेला सहि समयमा सहि ब्यक्तिको नेतृत्व पाएको हो ।

के. पी. ओलीको राजनैतिक जिबनमा दबाब भन्ने शब्दले खासै अर्थ राखेको देखिदैनस अहिले राजनितीको उत्कर्षमा रहेको बेला पनि उनी दबाबमा आएनन् । नेपाली भबिष्यको (उत्तरी !?) क्षितिजमा सुनौलो उज्यालोको रेखा देखिनुमा के।पी ओलीको पाको र दबाब मुक्त नेतृत्वको ठूलो भूमिका छ । के.पी. ओली प्रधानमन्त्रीमा निर्बाचित हुनुपूर्ब बालुवाटार, शीतल निवास देखि सिंहदरबारसम्मका शक्ति केन्द्रहरूमा हाम्रो दक्षिणी छिमेकीको प्रभाब अड्डा जमाएर बसेको थियो । तर प्रधानमन्त्रीमा आफू निर्बाचित भएसकेपछि ओलीले शीतल निवासलाई पनि दक्षिण-प्रभावमुक्त बनाइछाडे । यसरी मूख्य शक्तिकेन्द्रबाट खेदिएको भारतीय प्रभाब अहिले केही संचारगृहहरूका सांघुरा कोठाहरुमा सिमित हुन पुगेको छ ।

केपी ओली सरकारमा कमल थापाको दरिलो उपस्थिती त्यती स्वाभाबिक देखिदैन थियो । तर तमाम सैध्दान्तिक भिन्नताका बिचमा पनि राष्ट्रियताको संरक्षण र राष्ट्रिय स्वार्थको सम्बर्धन गर्ने काममा उनीहरूमा समानता देखियो । कमल थापा कुशल नेता हुन्, तर सधै दरवार र राजाको पाउमा आफ्नो कौशललाई ‘सभक्ति अर्पण’ गर्नु परेकाले जनअनुमोदित नेतृत्वसंग कांधमा कांध मिलाएर उनले कामगर्न पाएकै थिएनन्, जुन यसपाला पाए र राम्ररी निभाए पनि । एमाओबादीका प्रचण्ड र एमालेका के।पी। ओली पनि कुनै बेला दुइ नदीका दुई किनारा नै हुने गर्थे । तर भुईचालोले ति दुई नदीलाई एक ठाउमा ल्याइदियो र उनीहरू सहयात्री भए । एमाओबादीबाट निस्केर बाबुराम भट्टराईले पनि एक किसिमले के.पी. प्रचण्ड गठबन्धनलाई दुरगामी काम गर्न सजिलो बनाइ दिये । नत्र बाबुरामले यतिबेला सम्ममा कस-कसका प्रभाबमा कति पल्ट देश टुक्रिने टुइट गरिसक्थे होला ?

एमालेको अध्यक्षमा बिजयी भएपछि के.पी. ओलीले निकै भाबुक हुदै कार्यकर्ताहरुलाई भनेका थिए मसंग तपाईहरूको जस्तो लामो जीबन छैनस त्यसैले बिस्तारै काम गरुला भनेर पर्खन सक्ने अवस्थामा म छुईन । सरकारको आयूको बारेमा पनि उनले समय समयमा ‘सरकार घाम जुन रहुन्जेल टिक्न बनेको होईन’ भन्ने गर्छन् । यी दुई भनाइलाई बिश्लेषण गरेर हेर्दा के।पी ओली धेरै समय ब्यतित नगरि, तर देशलाई बिकासको दिर्घकालिन गतिदिने खालका काम गर्न चाहान्थे भन्न सकिन्छ ।

भुईचालोको प्रकोपले सिर्जना गरेको राष्ट्रिय संकटलाई संबिधान बनाउने अठोटमा बदलेर उनले त्रासदीलाई अवसरमा बदल्ने इच्छाशक्ति देखाएकै हुन् । त्यसको तुरुन्तै भारतले गरेको अमानवीय नाकाबन्दीको बेला आईपरेको चूनौतीलाई पनि चीनसंग ठोस सम्झौता गरेर अवसरमा परिणत गरे । यसरी प्राकृतिक प्रकोप-उत्पन्न राष्ट्रिय एकता, भारतिय दादागिरीको बिरुद्दमा जनताको दरिलो साथ र राष्ट्रबादीहरूसंगको हातेमालोलाई संगाल्दै आफ्नो दृढ इच्छाशक्ति प्रदर्शन गरि छोटो समयमै देशको दिर्घकालिन हीतको पक्षमा जे जस्ता काम गर्न सक्षम भए, तिनको आधारमा के।पी। ओलीले आफूलाई लामो समयसम्मका लागि नेपाली राजनितीका एक मानक नेताको रुपमा स्थापित गराएका छन् ।