काठमाडौँ, १४ चैत । दरबारमार्गस्थित होटल डेला अन्नपूर्ण परिसरभित्र अवैधरुपमा डिजेल झारिरहेको अवस्थामा ट्याङ्करसहित चालक आज पक्राउ परेका छन् ।
ना२ख ४२२५ नं को ट्याङ्करबाट अवैधरुपमा डिजेल झारिरहेको अवस्थामा ट्याङ्कर चालक सप्तरी बोदे बसाइन घर भएका सुरेन्द्रकुमार मण्डललाई प्रहरीले पक्राउ गरेको हो । ट्याङ्करमा रहेको १२ हजार लिटर डिजेलमध्ये नौ हजार लिटर डिजेल होटलको ट्याङ्कीमा झारिसकेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
होटलमा झारिएको नौ हजार लिटर डिजेल होटलले आफूखुसी प्रयोग गर्न नपाउने गरी सोही होटलका कर्मचारीलाई जिम्मा लगाइएको छ । उक्त डिजेल विराटनगर खनार भन्ने स्थानबाट ल्याएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । रासस













प्रतिक्रिया