काठमाडौं, १३ चैत । भारतमा जारी आइसीसी टी–२० विश्वकप क्रिकेटमा वेस्ट इन्डिज सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार राति सम्पन्न खेलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै एक खेलअगावै वेस्ट इन्डिजले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
विद्रभा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २२ बनाएको थियो । जवाफी व्याटिङ गरेको वेस्ट इन्डिजले दुई बल बाँकी छँदै ७ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
वेस्ट इन्डिजका लागि मार्लन सामुएल्सले ४४, जोन्सन चाल्र्सले ३२, आन्द्रे फ्लेचरले ११ र कार्लोस ब्राथवेटले अविजित १० रन जोडे ।
दक्षिण अफ्रिकाका लागि क्विन्टन डे कोकले सर्वा्धिक ४७ रन बनाए । डेभिड वेजीले २८, क्रिस मोरिसले १६ र एबी डे भिलियर्सले १० रन जोडे । हासिम अमला एक, कप्तान फाप डु प्लेसिस नौ, रिली रोस्सु शुन्य र डेभिड मिलर एक रनमा आउट भए । वेस्ट इन्डिजका बलर आन्द्रे रसेल, क्रिस गेल र ड्वेन ब्राभोले २-२ विकेट लिए ।
खेलेका तीनै खेलमा जित निकोलेको वेस्ट इन्डिज ६ अंकसाथ शीर्ष स्थानमा छ । तीन खेलमध्ये दुईमा जित निकालेको इङ्ल्यान्ड ४ अंकसहित दोस्रो स्थानमा छ भने समान २ अंक जोडेका दक्षिण अफ्रिका र श्रीलंका क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।
















प्रतिक्रिया