
नेपालको तत्कालीन राजसंस्थाका उत्तराधिकारी तत्कालीन राजकुमार पारसविक्रम शाह राजसंस्था संकटपूर्ण अवस्थामा रहेका बेला चितवनको सौराहमा बहालवाला प्रधानमन्त्रीकै नातिनी ज्वाईंसँग सामान्य निहुँमा ज्यान नै उडाइ दिने भन्दै बन्दुक ताकिरहेका थिए । त्यतिनै बेला बेलायती राजकुमार (कुनै समय जनतालाई छुनुपर्यो भने पन्जा लगाएर मात्र छुने एलिजाबेथ द्वितीयका नाति स्वर्गीय राजकुमारी डायनाका सुपुत्र) ह्यारी तालिवानी आतंकवादबिरुद्ध लडिरहेका बेलायती गोर्खालीलाई हौसला प्रदान गर्न अफगानिस्तानका अग्ला पहाडको टाकुरामा बन्दुक बोकेर हिँडिरहेका थिए ।
राजसंस्थाका एउटा प्रतिनिधि एकाईसौं शताब्दीको लोकतान्त्रिक युगमा स्वयम् आफ्नो राजदरबार (बेलायत)को विरासतलाई जोगाउन रातदिन सचेत हुन्छ । तर अर्को देश (हाम्रो) का राजकुमार पिता पुर्खाको विरासतलाई टुंग्याई दिन दिउँसै बाटोमा हिँडिरहेका नागरिकहरुलाई गाडीको टायर मुनि कुल्चँदै र मान्छेलाई गोलीको सिकार बनाउँदै हिँडे । हो– यही हो बेलायती राजकुमार ह्यारी र नेपाली राजकुमार पारसबीचको अन्तर ।
यतिबेला बेलायती राजकूमार ह्यारी नेपालको भ्रमणमा छन् । उनी काठमाडौंदेखि भक्तपुरहँुदै विकट गोरखा र लमजुङ पुगेर भूकम्पपीडित बस्तीका गरिब नेपालीकोको घाउमा मल्हम लगाउने प्रयास गरिरहेका छन् । उनले गरेका काम देखेर धेरै नेपालीले उनलाई राजसंस्थाको कोखबाट ह्यारीको सट्टा हरि बनेर किन जन्मेनौं ? भन्दै छन् ।
ह्यारी, तिमी नेपालका डाँडापाखामा पुगिरहेका छौ, नेपालीलाई भेटिरहेका छौ । तिम्रो यो विशाल कोमल हृदयलाई देखेर नेपालीमात्र होइन्, सारा संसार नै तिमीप्रति नतमस्तक छ । तर, हेर न ह्यारी ! हाम्रा पूर्वयुवराज यत्रो विनाशकारी भूकम्पको बेला जनताको दैलोमा होइन्, गाँजा, चरेसको नशामा लठ्ठिन व्यस्त छन् ।
सात समुद्र पारीको मुलुकमा जन्मेर नेपालको गरिब बस्तीका जनतासँग दुःख साटेको देख्ने मानिसहरु भन्न थालेका छन्– ‘तिमी किन नेपालमै जन्मेनौ, नेपाल कै राजदरबारमा जन्मेको भए सायद तिमी जस्ता असल मान्छे भएकै कारण राजसंस्थालाई सधैंको लागि बिदाई गर्नुपर्ने अवस्था आउने नै थिएन कि ।’

देश समृद्ध र जनता धनी हुन कुनै वाद वा विचारको मात्र हात हुन्न भन्ने उदाहरण अमेरिका, चीन, बेलायत, जापान जस्ता देशले देखाइसकेका छन् । बेलायतमा १६ औं शताब्दीमै राजसंस्थाको अन्त्य गरिएको थियो । कालान्तरमा राजसंस्थालाई पुनस्र्थापित गरियो । आज बेलायतको राजसंस्थालाई र त्यहाँकी महारानीलाई बेलायत, क्यानाडा र अस्ट्रेलियाको समेत महारानी मानिन्छ । बेलायतका स–साना स्वायत्त टापुमा समेत यिनै महारानीलाई अभिभावक मानिन्छ । आधुनिक प्रविधिले युक्त मुलुकका जनताले अहिलेसम्म राजसंस्थालाई बोझको रुपमा समेत लिएको पाईंदैन ।
आफूलाई खान लाउने पुग्नेवाहेक बेलायती राजसंस्थाका सदस्यहरुलाई कुनै पनि सम्पत्तिको लोभ रहेन । उनीहरुले राज्यले दिएको पारिश्रमिक बुझेर त्यसको निश्चित करसमेत तिर्ने गर्दछन् । तर हाम्रो राजसंस्था सुरुआती दिनदेखि नै जालझेल छलकपटबाट अगाडि बढेको इतिहास पढियो । देश र मुलुकको समृद्धिभन्दा पनि दरबार र राजसंस्थाको मात्र उन्नति भयो । मुलुकका महत्वपूर्ण जग्गा जमिन राजा र राजपरिवारका सदस्यका नाममा दर्ता गरिए । जंगल र जडिबुटीबाट हुने आम्दानी दरबारको नाममा राख्ने काम भयो । प्रकृति संरक्षण कोषको अध्यक्ष महारानी आफै बस्ने र धार्मिक क्षेत्र पशुपति विकास कोषको जिम्मासमेत दरबारले लिने गर्दथ्यो । विमानस्थल तथा अन्य भन्सारमा जफत गरिएका सुनचाँदीलगायत बहुमूल्य वस्तुहरु राज्यको कोषमा जम्मा नभई दरबारको कोषमा जम्मा हुन्थ्यो । दरबार मुलुकलाई कंगाल र आफूलाई बंगाल (धनी) बनाउन चाहन्थ्यो । मुलुकका राजाले नै प्रजा भनिएका जनतामाथि यस्तो अत्याचार गरेर कमाएको सम्पत्ति उनका भाइ भतिजा र छोरा नातिहरुले फुर्मास गर्न थाले । त्यतिमात्र नभई उनीहरुले कुनै नैतिक बन्धनमा बाँधिनु समेत आवश्यक ठानेनन् । सुरा-सुन्दरी (नमिता/सुनिता) तस्करी र भ्रष्टाचारमा दरबारका मानिस निर्लिप्त भए । मन्दिरमा देउता बनाएर राखिएका सुन चाँदीका मुर्ती रातारात सिमाना काटे । जब मुलुकका राजा र राजपरिवारका सदस्यहरुले नै यस्तो गरेपछि उनका सन्ततीहरु कसरी बेलायती राजकुमार ह्यारी जस्ता हुन्छन् ?
स्कट्ल्यान्डबाट बेलायतमा राजा हुन आइपुगेका जेम्स १६ औं शताब्दीको सुरुताका यस्तै हर्कत गर्न खोज्थे । आफ्नो विलासिता र शान सौकातका लागि संसद्सँग बारम्बार झगडा गर्दै संसद् बिघटन गर्थे । उनको मृत्युपछि राजा हुन आएका उनका छोरा चाल्र्स पनि बाबुभन्दा बढी सन्कि भएर निस्के । आफ्नो औकात देखाउन चाल्र्सले संसद्लाई ४ पटकसम्म विघटन गर्दै पुनस्र्थापित गर्ने गरे । नेपालका राजाहरुले २१ औं शताब्दीमा गरे जस्तो काम बेलायतका राजाहरुले १६ औं शताब्दीमा गरे । जनताले संसद् र राजाहरुको यही लडाईंमा राजसंस्थालाई केही समय बिदा पनि गरे ।
१७ औं शताब्दीको सुरुआतदेखि नै बेलायती राजसंस्था जनता र मुलुकप्रति क्रमशः जिम्मेवार बन्दै आयो । साँढे ४ सय वर्षको खारिएर जीवन दर्शन बनिसकेको राजसंस्थाका उत्तराधिकारी ह्यारी (हुन त उनी राजा हुने लाइनमा छैनन्) र आफ्नै बाबु र ठूलो बाबुको क्रियाकलाप देखेर त्यही सिकेका पारस र दिपेन्द्रहरुबाट बेलायती राजकुमार ह्यारी समानको मुल्यांकन एउटै तराजुमा हालेर कसरी गर्न मिल्ला र ?
ह्यारीको जिम्मेवारी
भूकम्पपीडित रोएको देखेर आँसु चुहाउने राजकुमारलाई सम्झिएर उनलाई महान् मान्ने हामी उनी को हुन् र किन यसो गरे भन्ने तिर पनि ध्यान दिनु जरुरी छ । नेपालले दोस्रो विश्वयुद्धमा बेलायतका लागि ठूलो बलिदानी गरेको छ । जर्मनदेखि बर्मा र मलायासम्म बेलायतको तर्फबाट लडेका गोर्खाली सिपाहीलाई बेलायतले आफ्नो देशका नागरिक बराबरको व्यवहार गरेको छैन । गोर्खालीहरु बेलायतीसरह अधिकार पाउन अझै पनि अदालत धाइरहेका छन् । युद्धमा मारिएका र घाइते सयौं गोर्खालीको विवरण समयमै बेलायतले नदिँदा लामो समय पीडामा राखेको क्षतिपूर्ति अझै भएको छैन । उनी सम्पन्नशाली मुलुकका राजकुमार हुन् । भूकम्पपीडितको च्यातिएको त्रिपाल र फाटेको कमिज देखेर आँशु झार्नु भन्दा तिनको समस्या समाधानका लागि केही सुझाव सुझाउन सकेको भए राम्रो हुन्थ्यो । पैसा भएर पनि ब्यवस्थापन गर्न नसक्ने मुलुकमा ह्यारीको आँशुले रुनेहरुलाई थप रुवायो ।
ह्यारी, तिम्रो बेलायती उपनिवेशले हाम्रो भाग्य खोस्यो !
भूकम्प प्रभावितसँग खिचेका तिम्रा फोटो देखेर तिमीलाई गरिएको वाईवाई सुनेर तिमी मख्ख होलाउ । नेपाली मुलधारका मिडियाले पनि आफ्नो देशका प्रधानमन्त्रीले उत्तरी छिमेकी देशमा नेपालको स्वाभिमान उँचो देखाउन गरेको कसरतलाई देखेनन् । तिमीले खाना खाइरहेको, तिमीले होली खेलिरहेको मात्र देखे । नेपालीको यस्तो चाला र तरिका देखेपछि तिमी पनि मख्ख प¥यौ होला । तर तिम्रो मुलुकका कारण आज मेरो मुलुक खुम्चेको छ । सूर्य उदाउनेदेखि अस्ताउने ठाउँसम्म बेलायतको साम्राज्य बनाउने तिम्रा पुर्खाको महत्वाकांक्षाका कारण आज २ लाख ५४ हजार वर्ग किलोमिटर रहेको मेरो मुलुक १ लाख ४७ हजार बर्ग किलोमिटरमा खुम्चिन बाध्य छ । समुन्द्र किनारसम्म रहेको मेरो मुलुकलाई भूपरिवेष्ठित बनाएर गरिब र कंगाल बनाउने तिमी तिम्रो मुलुक र तिम्रो मानस पुत्र (भारत) ले नेपाली गरिब छौ भन्दै सहानुभूति प्रकट गर्नु गोहीले आँशु झारे जस्तै भएन र ?
पारसः न हिजो, न आज
ह्यारी, तिमी नेपालका डाँडापाखामा पुगिरहेका छौ, नेपालीलाई भेटिरहेका छौ । तिम्रो यो विशाल कोमल हृदयलाई देखेर नेपालीमात्र होइन्, सारा संसार नै तिमीप्रति नतमस्तक छ । तर, हेर न ह्यारी ! हाम्रा पूर्वयुवराज न हिजो सही बाटोमा हिँडे, न आज सच्चिएर सही बाटोमा छन् । ज्ञानेन्द्र शाहको गल्तीका कारण उनको गद्दी नै गुम्यो । बरु, जनताले केही दिनमै ज्ञानेन्द्रका गल्तीलाई माफी दिन्थे होला । तर, नेपाली जनताले पारसलाई हेरेर पनि राजसंस्थाप्रति चित्त बुझाउन सकेनन् । त्यसैले त नेपालमा राजसंस्था गयो । तिमी नेपालका डाँडाकाँडा पुगिरहेका छौ, तर हाम्रा पूर्वयुवराज यत्रो विनाशकारी भूकम्पको बेला जनताको दैलोमा होइन्, गाँजा, चरेसको नशामा लठ्ठिन व्यस्त छन् ।















प्रतिक्रिया