– नरेन्द्रसिह कार्की
दार्चुला, १२ चैत । जिल्ला अस्पताल दार्चुलामा रगत अभावका कारण शल्यक्रिया सेवा प्रदान गर्न समस्या भएको छ ।
आवश्यक मात्रामा रगत नहुँदा गत भदौदेखि सञ्चालनमा आएको निःशुल्क प्रसुति सेवा केन्द्रमा समेत समस्या परेको छ ।
जिल्लामा केन्द्र स्थापिना बिना विभिन्न किसिमका शल्यक्रिया शुरु गरिएपछि अहिले समस्या देखिएको हो । निशुल्क प्रसुति केन्द्र सञ्चालनसँगै आकस्मिक प्रसुति तथा नवशिशु स्याँहार केन्द्र पनि सञ्चालनमा रहेको छ । अस्पालमा केन्द्र सञ्चालन भएपछि जटिल समस्या भएका आमाको सिजरिन विधिद्धारा शल्यक्रिया गरिने भएकोले रक्तसञ्चार केन्द्रको आवश्यकता रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र तिंकरीले बताए ।
धेरैजसो शल्यक्रियामा रगतको खाँचो हुने गर्छ, उनले भने । जिल्ला अस्पतालमा ब्लड बैंक नभएर आवश्यक पर्दा रगत उपलब्ध हुन सकेको छैन । यसअघि यहाँ शल्यक्रिया गर्न विशेषज्ञ र स्वास्थ्य संस्था नहुँदा धनगढी, नेपालगञ्ज, भारतको पिथौरागढ लगायतका ठाउँ जानुपर्ने बाध्यता हटेको छ ।
जिल्लाबाहिरबाट शल्यक्रिया गर्न अन्तिम अवस्थामा जानु पर्दा कतिपय आमा र नवशिशुले अकालमै ज्यान जाने गरेको थियो । केन्द्र सञ्चालनमा आएसँगै शल्यक्रियाबाट बच्चा जन्माउन जिल्ला जानुपर्ने समस्याबाट मुक्ति पाएको छ । यसको लागि रक्त सञ्चार केन्द्रको पहल भइरहेको छ । उहाँले आइतबारसम्म सर्वपक्षीय बैठक बसाली औपचारिक रुपमा ब्लड बैंक स्थापनाको अभियान थालनी गरिने बताए ।
जिल्लामा ब्लड बैंक स्थापनाको लागि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र तिंकरीको अध्यक्षतामा सहयोग समिति गठन भइसकेको छ । सोही समितिलाई पूर्णता दिएर अघि बढिने उनले जानकारी दिए ।अहिलेसमितिमा उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ, नेपाल रेडक्रस सोसाइटी, गैरसरकारी संस्थाको तर्फबाट अशोक ओझा लगायतका सदस्य रहेका छन् ।
आइतबार बैठक बसाली ब्लड बैंकको लागि थप विस्तार गरी अभियान सञ्चालन हुने छ । बैंक स्थापनार्थ कर्मचारीबाट एक दिन बराबरको तलब तथा सर्वसाधारणबाट एक रुपैयाँ डोनेसन अभियान थाल्ने सोच बनाएको अध्यक्ष तिंकरीले बताए ।












प्रतिक्रिया