– नरेन्द्रसिह कार्की
दार्चुला, ११ चैत । यसवर्षको एसएलसी परीक्षामा दार्चुलाबाट सहभागी विद्यार्थीमध्ये १ सय ९ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित हुने भएका छन् ।
परीक्षामा सहभागी हुनका लागि विद्यार्थीले कम्तीमा पनि ७५ प्रतिशत विद्यालयमा हाजिरी भएको हुनुपर्ने प्रावधान अनुसार ती विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन् ।
एसएलसी परीक्षाका लागि दार्चुलाका ७१ वटा माध्यमिक विद्यालयबाट आवेदन भरेका एक सय ९ जना विद्यार्थी हाजिरी नपुगेका, विद्यालय छाडेर बाहिर गएका लगायतकाकारण परीक्षा दिनबाट वञ्चित भएको जिल्ला शिक्षा कार्यालय दार्चुलाका विद्यालय निरीक्षक एवं परीक्षाबाट इन्चार्ज जयदेव महराले बताउनुभयो ।
यस वर्ष नियमिततर्फ २ हजार ६ सय ९० जना विद्यार्थीले परीक्षामा सहभागिता जनाउने छन् । यस्तै आंशिकतर्फ १ हजार ७ सय ५६ विद्यार्थी सहभागि हुने महराले बताउनुभयो । यस वर्ष जिल्लामा १५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । सोही अनुसार केन्द्राध्यक्ष नियुक्त गर्ने काम सकिएको जिल्ला शिक्षा कार्यालयले दार्चुलाले जनाएको छ ।













प्रतिक्रिया