७ कार्तिक २०८३, शनिबार

चीनसँग नेपालले गर्यो अर्काे सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Li Keqiang Khadga Prasad Oli

काठमाडौं, ११ चैत । नेपाल र चीन संयुक्त राष्ट्रसंघ, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सहित क्षेत्रीय तथा बहुपक्षीय मञ्चमार्फत दुवै देशका साझा स्वार्थका मुद्दामा सहकार्य बढाउन सहमत भएका छन् ।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा बुधबार बेइजिङमा जारी संयुक्त विज्ञप्तिमा नेपाल र चीन राष्ट्रसंघ, सार्क, सांघाई कोअपरेसन अर्गनाइजेसनलगायत क्षेत्रीय एवं बहुपक्षीय मञ्चमा सहकार्य बढाउन सहमत भएको उल्लेख छ ।

‘दुवै देश क्षेत्रीय सहयोग प्रक्रियामा एकअर्काको सहभागितालाई सकारात्मक रूपमा लिँदै सहयोग गर्न सहमत छन् । सांघाई कोअपरेसन अर्गनाइजेसन, सार्कलगायत अन्य क्षेत्रीय सहकार्यका विश्वव्यापी संयन्त्रहरूले तय गरेका रूपरेखा तथा मार्ग निर्देशनअनुसार सहकार्य, समन्वय बढाउन सहमत छन्,’ विज्ञप्तिको १२ औं बुँदामा उल्लेख छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले यसअघि ओलीसँग भएको भेटमा नेपाल र भारत सम्बन्धको संवेदनशीलतालाई ध्यानमा राख्दै विकास र स्थायित्वका लागि चीन, नेपाल र भारतबीच त्रिदेशीय सहकार्य गरी अघि बढ्नुपर्ने धारणा राखेका थिए । चिनियाँ राष्ट्रपतिले नेपाल चीन र भारतबीचको गतिशील पुल बन्न सक्ने बताएका थिए ।

दुई सरकारबीच दीर्घकालीन हितका लागि भएका सहमति पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धतासहित जारी भएको संयुक्त वक्तव्यमा चीनले नेपालको नयाँ संविधानको पूर्ण स्वागत गरेको छ ।

एक महिनाअघि सम्पन्न प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा नेपालको संविधान बनेको विषयलाई भारतले पूर्ण स्वागत गरेको भन्ने वाक्यांश राख्ने कि नराख्नेमा विवाद उत्पन्न भएपछि प्रधानमन्त्री ओली संयुक्त विज्ञप्ति जारी नगरी फर्केका थिए ।

चीनले भने नेपालको संविधानलाई पूर्ण स्वागत गर्दै राजनीतिक स्थायित्वमा जोड दिएको भन्ने वाक्यांशसहित संयुक्त विज्ञप्ति आएको हो । अन्नपूर्ण पोष्टमा खबर छ ।