१ कार्तिक २०८३, शनिबार

अन्तिम ओभरमा यसरी चुक्यो बंगलादेश, भारतलाई जित्न सकेन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

India

काठमाडौं, ११ चैत । आईसीसी टी–२० विश्वकप अन्तर्गत बुधबार राति सम्पन्न रोमान्चक खेलमा भारतले बंगलादेशलाई एक रनले हराएको छ ।

जितसँगै भारतले सेमिफाइनल यात्राको सम्भावनालाई जिवितै राखेको छ भने अन्तिम ओभरमा चुकेको बंगलादेश बाहिरिएको छ ।

बेैंगलोरमा भएको खेलमा भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर बंगलादेशसामू १४७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । अन्तिम ओभरमा बंगलादेशलाई जितका लागि ११ रन चाहिएको थियो र चार विकेट बाँकी थिए । तर पनि बंगलादेश चुक्यो ।

भारतका तर्फबाट अन्तिम ओभर हार्दिक पान्डेयले फाले । महमुदुल्लाहले पहिलो बलमा एक रन लिएर स्ट्राइक मुशफिकुरलाई लिए, जसले दोस्रो र तेस्रो बलमा चौका हाने । अब अन्तिम ३ बलमा दुई रन मात्र चाहियो ।

तर, चौथो र पाँचौ बलमा हार्दिकले मुशफिकुर र महमुदुल्लाहलाई क्याच आउट गराए । अब अन्तिम बलमा बंगलादेशलाई दुई रन चाहियो ।

तर, शुवागता विट भए र रन बनाउने प्रयासमा मुस्ताफिजुर रहमानलाई महेन्द्र सिंह धोनीले रन आउट गरे । र, बंगलादेशले २० ओभरमा ९ विकेट गुमाएर १४५ रन मात्र बनाउन सक्यो ।

बंगलादेशले पहिलो विकेट सुरुमा नै गुमाएको थियो । मोहम्मद मिथुन मात्र १ रनमा आउट भएका थिए । तर, सब्बिर रहमानले १५ बलमा २६ रन जोडे । ओपनर तामीम इकबालले ३५ रनको पारी खेले ।

एक समय बंगलादेशले १२ ओभरमा ४ विकेट गुमाएर ९५ रन बनाएको थियो । तर, अश्विनको १३ औं ओभरको पहिलो बलमा नै कप्तान शकिब अलल हसन आउट भए । उनले १५ बलमा २ छक्कासहित २२ रन बनाए । सौम्य सरकारले २१ रन बनाए ।

यसअघि भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४६ रन बनाएको थियो ।