काठमाडौं, ११ चैत । दुई दिनदेखि लगातार आएको हावाहुरीले गोरखा र रसुवामा भूकम्पपीडितका टहरा र त्रिपाल उडाएको छ । बासस्थान उडाएपछि पीडितहरु खुला आकासमुनि बस्न बाध्य छन् । कतिपय ओढारमा आश्रय लिएका छन् ।
गोरखामा बुधवार बिहानैदेखि ५ घण्टासम्म चलेको हावाहुरीले सयौँ अस्थायी टहरा उडाएको छ । भूकम्पको केन्द्रविन्दु बारपाक आसपासका लाप्राक, गुम्दा, करौँजा, लापु, उहिया, थुमी मान्वु, सिर्दिबास र काशीगाउँ गाविसमा बढी क्षति भएको गाउँलेले बताएका छन् ।
‘हावाहुरीले टहराको जस्तापाता उडाएर बुढीगण्डकी नदीमा पुगायो, करौँजा–४ की आशामाया घलेले भनिन्, ‘ठूल्ठूला रुख पनि ढालेको छ।’ स्थानीय सुकबहादुर गुरुङले पीडितहरु भोकभोकै बारीको कुनामा बसेको बताए ।
हुरीले अस्थायी छाप्रो उडाइदिएपछि धुन्चे वरिपरिका केही बासिन्दा ओढारको शरणमा पुगेका छन् । ‘बस्ने ठाउँ सबै हुरीले लग्यो, सदरमुकाम धुन्चेस्थित प्राधिकरणभन्दा माथि बसोबास गर्दै आएकी हाकु–३ की किपुयल्मो तामाङले भनिन्, ‘अब ओढारमा बस्नु परेको छ ।’
तीब्र हुरी बतासले उनको परिवार ओढारमा रात काट्न बाध्य भएको कान्तिपुर दैनिकले समाचार छापेको छ । बुधबार चलेको हावाहुरीले रसुवाको धुन्चे, हाकु, सयफ्रु, गोल्जुङ, गत्लाङ, चिलिमे, थुमन लगायतका स्थानीयबासीलाई प्रभावित बनाएको छ ।















प्रतिक्रिया