काठमाडौं । एमाओवादी पार्टी फुटाएर नयाँ शक्ति अभियानको नाममा राजनीति गरिरहेका डा.बाबुराम भट्टराईले अध्यक्ष पद नपाउने पक्कापक्की भएपछि पार्टीबाट बाहिरिएको तथ्य बाहिर आएको छ ।
उनले प्रचण्डसँग कुनै विचार नमिलेर भन्दा पनि प्रचण्डले अध्यक्ष पद नदिने निश्चित भएपछि प्रचण्डसँगको सम्बन्धमा ब्रेक लगाएका हुन् ।
माओवादी बिटमा लामो समयदेखि रिपोर्टिङ गर्दै आएका पत्रकार नेत्र पन्थीले ‘डिभोर्स प्रचण्ड बाबुरामको : रक्तरञ्जित युद्ध सारथीका अन्तरंग कथा’ नामको पुस्तक भर्खर मात्रै सार्वजनिक गरेसँगै यो कुराको खुलासा भएको हो ।
‘२०७१ मंसिर २८ को केन्द्रीय समिति बैठकमा प्रचण्डले नेतृत्व विकास र उत्तराधिकारी निर्माण हस्तान्तरणसम्बन्धी अवधाराणा र अर्को वर्ष महाधिवेशनको प्रस्ताव अगाडि सारे, त्यहीँबाट सुरु भयो बहस, बाबुरामलाई अध्यक्ष बनाउन अबचाँही प्रचण्ड तयार भए ।’ पुस्तकमा भनिएको छ, ‘यही विचारको जगमा नेतृत्व हस्तान्तरण हुने प्रचण्ड प्रस्तावलाई बाबुरामले स्वागतयोग्य भनेका थिए ।’
तर पछि नेतृत्व हस्तान्तरण हुने अवस्था बिग्रनासाथ बाबुरामले एमाओवादी परित्याग गरेका थिए । उनले माओवादीमात्रै होइन अहिले कम्युनिष्ट समेत नरहेको भनिरहेका छन् ।
यता लेखक पन्थीले टोपबहादुर रायामाझीको बारेमा पनि निक्कै खुलासा गरिदिएका छन् । टोपबहादुर रायामाझीले बाबुरामलाई प्रचण्डले नेतृत्व हस्तान्तरण गर्दैनन् भन्दै अलमलमा नपर्न मात्र होइन प्रचण्डको विश्वास नगर्न समेत भनेको किताबमा उल्लेख छ ।
प्रचण्डकै धुरो काट्ने टोपबहादुर अहिले भने प्रचण्ड खेमाबाट पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको नेतृत्वकर्ता समेत रहेका छन् । साँघु साप्ताहिकमा समाचार छ ।
















प्रतिक्रिया