विराटनगर, ७ चैत । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले संविधान कार्यान्वयन र गणतन्त्र संस्थागत गर्नका लागि सबै दल मिलेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
जिपी फाउन्डेसन विराटनगरमा आज आयोजित गिरिजाप्रसाद ट्रेड युनियन पुरस्कार वितरण समारोहमा उहाँले संविधानको कार्यान्वयन र गरिबी निवारणतर्फ सबै दल केन्द्रित हुनुपर्ने र यसमा नेपाली काँग्रेसले नेतृत्व लिनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा नेत्री कोइरालाले वैदेशिक रोजगारमा जानेको कष्टकर व्यथा समेटिएको ‘अन्त्यहीन’ नाटकका रचनाकार नेपाल ट्रेड युनियन काँग्रेस पूर्वाञ्चल समितिका अध्यक्ष नारायणबाबु कार्कीलाई सम्मान गर्नुभयो ।
काँग्रेस मोरङका सभापति एवम् सांसद डिगबहादुर लिम्बूले मजदुरको आन्दोलनलाई गिरिजाप्रसाद कोइरालाले नेतृत्व गर्नुभएको उल्लेख गर्दै मजदुरको हितका लागि काँग्रेस अग्रसर हुनुपर्ने औँल्याउनुभयो । सांसद अशोक कोइरालाले ट्रेड युनियनको मागलाई पूरा गर्नका लागि संसद्मा आवाज उठाउनुपर्नेमा जोड दिनुभयो । रासस













प्रतिक्रिया