
लक्ष्मी काफ्ले
बिर्तामोड, ७ चैत । शनिबार दिनभरी लगाएर तयार गरिएको एउटा ‘घर’ क्षणभरमै खरानी भयो । बिर्तामोडस्थित होटल हेभनको अगाडि खर, पराल र बाँसले त्यो घर तयार गरिएको थियो ।
सानो चिटिक्क परेको त्यस घरमा साँझ ५ बजे एक्कासी आगो दन्किएको हो । आगो लागेको देखेपछि प्लटिङमा खेल्दै गरेका बालबालिका ‘आगो–आगो’ भन्दै कराउन थाले । आगोको मुस्लो देख्नासाथ सबै स्थानीय भेला भए । आगो लाग्न थालेको केही बेरमै भद्रपुर र बिर्तामोड नगरपालिकाका दमकल साइरन बजाउँदै एकैसाथ आइपुगे । दुइवटै दमकलका कर्मचारी गाडीबाट फटाफट ओर्लिए । र, आगो निभाउन थाले । दमकलले आगो त निभायो । तर, परालले बनेको त्यो घर भने जोगिएन । हेर्दाहेर्दै घर खरानी भयो ।
सुन्दा अचम्म लाग्न सक्छ । तर, त्यस घरमा दमकलकै कर्मचारीले आगो लगाएका थिए । दिनभरी लगाएर घर बनाउने पनि उनीहरु थिए । पूर्वाञ्चलका नौ वटा नगरपालिकाका २० जना अग्नि नियन्त्रकलाई दिइएको ५ दिने आधारभूत अग्नि नियन्त्रण तथा उद्धार तालिमको अन्तिम दिन थियो शनिबार । तालिमको अन्तिम दिन उनीहरुले आगो नियन्त्रण गरेको ‘डेमो’ देखाउनु थियो । सोही कार्यक्रमअन्तर्गत उनीहरुले त्यस घरमा आफै“ आगो लगाएर नियन्त्रणसमेत गरेका हुन् ।
चैत २ गतेदेखि सञ्चालित तालिममा ताप्लेजुङ, फिदिम, इलाम, भद्रपुर, इटहरी, दमक, बिर्तामोड र इनरुवा नगरपालिकाका दुई/दुई र मेचीनगर नगरपालिकाका ४ जना गरी २० जना दमकल कर्मचारी सहभागी थिए । सहभागीलाई जुद्ध बारुण यन्त्र काठमाडौ“का प्रमुख किशोर भट्टराई नेतृत्वको तीन सदस्यीय टोलीले सैद्धान्तिक र प्रयोगात्मक तालिम दिएको थियो ।
तालिममा सहभागि बिर्तामोड नगरपालिकाको बारुण यन्त्रका कर्मचारी नविन मेचेले तालिम फलदायि भएको बताए । ‘हामी सामान्य मात्र जानकार थियौँ, आफ्नै अन्दाजले आगो निभाउँथ्यौँ, ’ उनले भने, ‘अब हामी सक्षम भएका छौँ ।’ तालिम अवधिभर झापाका विभिन्न पाँच स्थानमा आगलागी भएको थियो । तालिममा सहभागि टोलीले नै आगो नियन्त्रणमा लिएको थियो ।
स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम मार्फत् सरकारी सहयोगमा तालिम सञ्चालन गरिएको बिर्तामोड नगरपालिकाका प्रशासन शाखा प्रमुख मेघराज बा“स्तोला बताए । उपत्यका बाहिर पहिलो पटक यस प्रकारको अग्नि नियन्त्रण तालिम सञ्चालन गरिएको हो । तालिमपछि बारुण यन्त्रका कर्मचारीमा आत्मविश्वास बढेको बिर्तामोड नगरपालिकाका टिकाराम खतिवडाले बताए ।
जुद्ध बारुण यन्त्रका प्रमुख भट्टराईका अनुसार सहभागिलाई पाँच दिनसम्म बिहान ७ देखि बेलुका ५ बजेसम्म तालिम प्रदान गरिएको हो । जुद्ध समसेरले विसं १९९४ मा स्थापना गरेको जुद्ध वारुण यन्त्रले स्थापनाको ७८ वर्षपछि राजधानीबाहिर पहिलोपटक यस्तो तालिम दिएको भट्टराईले बताए । बैशाखसम्ममा देशभरका ३० वटा नगरपालिकाका अग्निनियन्त्रकलाई तालिम दिइने उनले बताए ।












प्रतिक्रिया