
धनगढी, ६ चैत । छ कक्षामा पढ्दै गर्दा १३ वर्षको उमेरमा यौन हिंसामा परेकी सीमा चौधरी (नाम परिवर्तन) लामो समयपछि स्कुल फर्किएकी छिन् ।
कैलालीको एक गाउँमा यौन हिंसाको सिकार भएकी सीमाले त्यस दिनदेखि स्कुल जान छोडेकी थिइन् । ‘मलाई त्यतिवेला स्कूलका साथीहरूले कुरा काट्लान्, मैले अझ लज्जित हुनुपर्ला भन्ने सोचे’ सीमाले त्यतिवेलाको समय सम्झिइन्– त्यो घटनापछि स्कूल जाने आँट नै भएन ।
एउटा गैरसरकारी संस्थाको लामो प्रयासपछि सीमा स्कूल फर्किन मन्जुर भएकी छिन् । जनचेतना तथा युवा जागरण मञ्च (फाया) नेपालले सञ्चालन गरेको सीमान्तकृत समुदायका बालिकाहरूको शिक्षामा सहयोग परियोजना (स्टिम) को निरन्तरको पहलपछि उनी अहिले सहज रूपमा पुनः स्कूल जान थालेकी छिन् ।
‘स्कुलमा साथीहरुको सामना गर्नुपर्ला भन्ने त्रासले उनी (सीमा) स्कुल आउन मानेकी थिइनन्’ फाया कार्यकारी निर्देशक धर्मराज पाठकले उनलाई स्कूल फर्काउन गरिएको प्रयासबारे स्मरण गरे- लामो प्रयासपछि उनलाई विद्यालय ल्याउन सफल भइयो ।
सीमाले केही आशंका र त्राससहित स्कूल फर्किएपछि आफूले सोचको भन्दा पनि स्कूलमा राम्रो वातावरण रहेको बताइन् । ‘साथीहरूलाई त्यो घटना थाहै रहेनछ’ सीमाले भनिन्- शिक्षकहरूले मलाई त्यस्तो घटना बिर्सनुपर्छ भनेर सल्लाह दिइरहनु भएको छ ।
उनी स्टिमले बालिकाको शैक्षिकस्तर सुधारमा थप योगदान पुर्याउन शुक्रबार र शनिबार सञ्चालन गर्ने दुई घन्टाको अतिरिक्त कक्षामा पनि सहभागी भइरहेकी छिन् । अतिरिक्त कक्षामा पढाइने विभिन्न प्रेरणादायी विषयवस्तुले आफ्नो कमजोर मानसिकता बलियो बनाउँदै लगेको उनको अनुभव छ । ‘म त्यो क्रुर घटना बिर्सन खोज्दैछु’ सीमाले भनिन्- धेरै पढेर आत्मनिर्भर बन्न सकिएमा घटना बिर्सन निकै सहयोग पुग्ने ठानेकी छु ।
सीमालाई यस पटक स्टिमले स्कूल भर्नामा सघायो । एक वर्षलाई पुग्ने स्टेशनरी र पोशाकको व्यवस्था गरिदिएको छ । तर, आगामी वर्ष कसैले सहयोग गरेन भने पढाईलाई कसरी निरन्तरता दिने भन्ने उनको चिन्ता छ । उनको परिवारको आर्थिक अवस्था निकै कमजोर छ । उनका आमाबा भारतमा मजदूरी गर्छन् । परिवारको आर्थिक अवस्था कमजोर भएकाले उनका दिदी र भाईले बीचैमा पढाई छोडेका छन् ।
विद्यालयका प्रधानाध्यापकका अनुसार सीमा पहिलेदेखि नै अलिकति सुस्त मनस्थितिकी थिइन् । ‘यौन हिंसापछि उनी झन् सुस्त भएकी छिन्’ प्रधानाध्यपकले भने– उनको पढाई पनि त्यत्ति राम्रो हुन सकेको छैन ।
सीमाले भने आफ्नो क्षमता र सोचमा केही सुधार भएको दावी गरिन् । ‘गणितमा सुधार हुँदै छ, अरु विषयमा पनि पहिले भन्दा राम्रो भइरहेको छ’ उनले हालै विद्यालयको आन्तरिक परीक्षामा अंग्रेजीमा १० मा ६, नेपाली विषयमा १० मा नौ नम्बर पाएको सुनाइन् ।
उनले आफूमाथि यौनहिंसा गर्नेलाई अदालतले जेल सजाय दिएकोले धेरै आशा र विश्वास पलाएको बताइन् । अधिवक्ता गम्भीरसिंह ऐरले चौधरी थरकै पीडकलाई जिल्ला अदालतले आठको सजाय तोकेकोमा पुनरावेदनले त्यसलाई उल्टाउदै छ वर्षमा झारेको छ । हाल १५ वर्ष उमेरकी सीमा दुई वर्षअघि बलात्कारमा परेकी हुन । घटनापछि केही दिन अस्पतालमा र पछि प्रहरी र अदालतमा बयान दिन जानु परेकोले पनि पढाई छोड्नु परेको उनले बताइन् ।












प्रतिक्रिया