
– गोविन्द पोख्रेल
उर्लाबारी, ६ चैत । यसअघि दलितले आफ्नै घरमा आँगन पोलेर व्रतबन्ध गरेको घटना सायदै थियो । सामूहिक रुपमा कुनै मठमन्दिरमा व्रतबन्ध हुनु नौलो नभएपनि मोरङको पथरीशनिश्चरे–१५ का कर्णबहादुर गदालले आफ्ना दुई छोरा र पाँच जना नातीहरुको शुक्रबार सामूहिक रुपमा घरमै व्रतबन्ध गराएका छन् ।
दलित परिवारले हिन्दूसंस्कार अनुसार घरमै व्रतबन्ध आयोजना गरेको यो नौलो घटना हो । जन्मदेखि मृत्युसम्मका सबै कर्महरु हिन्दू परम्परा अनुसार गरिएपनि आआफ्ना समुदायका मानिसहरुको उपनयन(व्रतबन्ध) विरलै हुने गरेको दलित समुदायका अगुवाहरु बताउँछन् । समाजमा विद्यमान जातीय भेदभावका विरुद्ध सद्भाव र एकताका लागि घरमै व्रतबन्ध गरिएको कर्ता कर्णबहादुर गदाल बताउँछन् ।
उनका १५ वर्षीय जेठा छोरा योगश र १२ वर्षीय कान्छा छोरा ऋगेश गदालसहित नातीहरु १४ वर्षीय रोहित गदाल, ११ वर्षीय अनुराग गजमेर, ११ वर्षीय साहिल सिलवाल, ८ वर्षीय प्रिन्स सिलवाल लगायतको सामूहिक व्रतबन्ध गरिएको हो ।
दलित समुदायका मानिसहरुको सामूहिक रुपमा व्रतबन्ध गरिएको सुनिएपनि पनि प्रत्यक्ष रुपमा पहिलो पटक देख्न पाइएको स्थानीय रविन्द्र खतिवडाले बताए । धार्मिक जागरण ल्याउन तथा समाजमा हुने विभेदको अन्त्यका लागि यस्तका कार्यक्रमले मद्दत पुग्ने नेपाल दलित संघका केन्द्रिय सदस्य भीमलाल गहतराजले बताए ।
व्रतबन्ध आयोजना गरेका कर्णबहादुरले भने–‘हामी हिन्दू भएपनि व्रतबन्धको संस्कारबाट वञ्जित भएका थियौैँ । ’ उहाँका अनुसार कथित उपल्लो जातिका पण्डितहरुले दलितले व्रतबन्ध गर्नुहदैन भन्ने मान्यता लादेका कारण हामी हिन्दूधर्मावल्म्बीको केवल एउटा संस्कारबाट वञ्जित रह्यौँ ।
कर्णबहादुरले आफ्ना सन्ततिको व्रतबन्ध गरे पनि सो कर्म सम्पन्न गर्न कथित उपल्लो जातिका पण्डितहरुले व्रतबन्ध गर्न इन्कार गरिदिएको उनको गुनासो छ । यद्यपि आफ्नै समुदायका पण्डितहरु भोजराज सिलवाल,मानप्रसाद रसाईली र सन्तराम दर्नालले धार्मिक विधिबाट व्रतबन्ध गराइदिएको उनले बताए ।
कर्णबहादुरले घरमै व्रतबन्ध आयोजना गर्नुको कारण पनि खोले । केही वर्षअघि पथरीको हनुमान मन्दिरमा सामूहिक व्रतबन्ध आयोजना हुने खबरले उनी उत्साहित भएका थिए । कथित उपल्लो जातिका बटुकहरुसँगै आफ्ना छोराको व्रतबन्ध गर्न नाम टिपाउदा उनलाई पुराणका पपण्डित केवलकृष्ण अधिकारीले ‘छिःछिःदूरदूर’ गरेपछि उनको चित्त कुँडियो ’ गदालले भने –‘अधिकारी लगायतका अन्य पण्डितहरुले दलितहरुलाई मन्त्र दान गर्न सकिदैन भन्दै अस्वीकार गरेपछि घरमै व्रतबन्ध गर्ने अठोट लिएँ, जून अठोट आज सार्थक भएको छ ।’
व्रतबन्धका उनले छर छिमेक लगायत मान्यगन्ने सबैलाई गरी ६ सय वटा कार्डहरु वितरण गरे । । उक्त शुभकार्यमा गैरदलितको पनि उल्लेख्य सहभागीता रहेको थियो ।
नेकपा एमाले मोरङका पूर्व सदस्य समेत रहनुभएका गदालको शुभकार्यमा सहभागी हुनुभएका मदन भण्डारी स्मृति प्रतिष्ठानका सचिव युवराज भट्टराईले यस्तो कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको प्रतिक्रिया दिए । उनले भने –समाज रुपान्तरणमा राज्यले भन्दा पनि व्यक्ति आफ्नै अग्रसर हुन सके त्यसले सार्थकता पाउँछ । ’
दलित गैरसरकारी संस्था महासंघ(डिएनएफ)का केन्द्रिय उपाध्यक्ष गोपाल लकान्द्रीले दलितहरु आर्यन समुदाय र हिन्दू संस्कारमा हुर्किएका कारण सोही संस्कारलाई अनुसरण गर्न कुनै थुनछेक नरहेको बताउँछन् । जन्म,विवाह र मृत्यु संस्कार हिन्दू परम्परा अनुसार हुन्छ भने व्रतबन्ध चाहि गर्नै हुदैन भन्ने मान्यता अन्धविश्वास सिवाये केही होइन–लकान्द्रीले भने ।












प्रतिक्रिया