२९ आश्विन २०८३, बिहिबार

धुर्मुस–सुन्तलीले ल्याए अर्को नयाँ योजना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhurmus -Shalikram
धुर्मुसलाई रकम हस्तान्तरण गर्दै शालिकराम कँडेल

– धुर्मुस/सुन्तली

साँझ पर्नै लाग्दा बाग्लुङ बिहुँ–१ का शालिकराम कँडेल कार्यालयमा आईपुग्नुभयो । निकै उज्यालो अनुहारमा आएका उहाँ निकै खुशी देखिनुहुन्थ्यो । बुवा समान बृद्ध उहाँले दमदारका साथ आफ्नो परिचय दिनुभयो । त्यसपछि बल्ल चिन्यौं । बिहान भेट्न मन गर्ने मान्छे उहाँ नै हुनुहुँदो रहेछ । शालिकरामका सालाले बिहानै फोन गर्नुभएको थियो । आफ्नो भिनाजु हामीलाई नै भेट्न बाग्लुङदेखि आएको सुनाउनुभएको थियो । अमेरिकाबाट सामाजिक कामका लागि छोराले पठाएको सानो उपहार पु¥याउन उहाँ काठमाडौं आउनुभएको छ । ‘उपहार सानो छ तर मलाई निकै भारी भइरहेको छ । जति सक्दो छिटो त्यो भारी बिसाउन चाहन्छु’, काठमाडौं आउने बित्तिकै उहाँले सालासँग भन्नुभएको रहेछ ।

लाखौं सहयोगी हातको विश्वासलाई कहिल्यै नतोड्ने हाम्रो अठोट अझै बलियो बनेको छ । रकम थोरै भए पनि कसैका लागि यही निकै ठूलो बन्न सक्छ । त्यस्ता व्यक्ति र समाजको खोजी गरेर तपाईंहरुले गर्नुभएको विश्वास हामी पुरा गर्ने छौं ।’

भूकम्प गयो । शालिकराम र उहाँको छोराजस्ता धेरै सहयोगीका हातहरुको साथ पाइयो । सहयोगको याचनामा रहेका केही प्रभावितहरुको घाउमा मल्हम पट्टी गर्न सकियो । अहिले हाम्रो दैनिकी नै कलाकारिताभन्दा बढी गरिब, असहाय र प्रभावितहरुको सेवामा बितिरहेको छ । स्वच्छ र पवित्रमनले व्यक्तिगत स्वार्थ त्यागेर देशलाई राम्रो बनाउने अभियानका साथ सकारात्मक सोच लिएर हामी दम्पत्ती रात दिन नभनी लागी परिरहेका छौं । यस्तै विश्वास र साथ रहिरहे हामी देशका लागि नमुना काम गरेर देखाउने छौं । यसो भनिरहँदा शालिकरामले हामीप्रतिको विश्वासको पोको फुकाउनुभयो । श्रद्धाले शिर झुकाउनुभयो । हाम्रो मन प्रफुल्ल भयो । सामाजिक परिर्वतनका लागि गरेको संघर्ष सार्थक हुने विश्वास बलियो बन्यो ।

विश्वास र साथलाई संगालेर हामी अर्को नयाँ एकीकृत बस्ती बसाउने योजनामा छौं । समाजमा सक्दो परिर्वतन ल्याउनमा कटिबद्ध छौं ।

शालिकरामले भावुक हुँदै भन्नुभयो– ‘छोरो अमेरिका पुग्यो । तर, मलाई काठमाडौं पनि नौलो छ । एक्लै आए हराउँछु की झैं लाग्छ । बैंकबाटै त्यो उपहार पठाउँदा नि हुन्थ्यो । बैंकबाट पठाउँदा न तपाईँहरुसँग भेट हुन्छ न त मनको कुरा भन्न नै पाइन्छ । त्यसैले ढिलो त निकै ढिलो भयो । तै पनि छोराले पठाएको सानो उपहार तपाईंहरुको हातमा दिन पाउँदा निकै खुुसी र हलुका महशुस भएको छ’ उहाँले मन खोलेरै बेलीबिस्तार सुनाउनुभयो ।

Salikram
शालिकराम कँडेल

भूकम्पले नेपालमा पु-याएको क्षतिले अमेरिकाको क्यालिफोर्नियामा रहेको छोरो बाबुराम कँडेलको मन पनि चिरिएछ । सकेको थोरै सहयोग गर्ने निर्णयमा पुगेछन् । केही साथीभाईले पनि साथ दिएछन् । भूकम्प पीडितका लागि भनेर उनीहरुले १ लाख १ हजार रुपैयाँ नेपाल पठाए छन् । ‘पैसा मेरो हातसम्म आईपुग्यो । तर, म बुढाले कहाँ गएर प्रभावित पहिचान गरेर सहयोग बाँडौं ? त्यहिबेला तपाईंहरुले भूकम्प प्रभावितका लागि बस्ती बनाउनु भएको रहेछ । जाडोमा न्यानो बाँड्न गाउँगाउँ पुग्नु भएछ । छोरो बाबुरामलाई तपाईंप्रति सरकारको भन्दा बढी विश्वास जागेछ । धुर्मुस सुन्तली फाउन्डेशनलाई हस्तान्तरण गरेमा यो पैसाको सही सदुपयोग हुन्छ भन्ने सोचेछ । त्यहि भएर म तपाईंहरुको सम्र्पकमा आएको’ करिब १५ मिनेटको बसाईमा उहाँले यस्तै कुरा सुनाउनुभयो ।

उहाँहरुको विश्वासले उत्साह थप्यो । ‘उहाँ जस्तै धेरै विश्वासिला सहयोगी हातहरुकै कारण हामी निरन्तर यो अभियानमा छौं । लाखौं सहयोगी हातको विश्वासलाई कहिल्यै नतोड्ने हाम्रो अठोट अझै बलियो बनेको छ । रकम थोरै भए पनि कसैका लागि यही निकै ठूलो बन्न सक्छ । त्यस्ता व्यक्ति र समाजको खोजी गरेर तपाईंहरुले गर्नुभएको विश्वास हामी पुरा गर्ने छौं ।’ हामीले यसो भनिरहँदा ६० वर्ष नाघिसकेका शालिकराम कँडेलको चाउरीएको गालामा मुस्कान देखियो । कसैलाई सहयोग गर्न पाउँदाको खुशी र उत्साहलाई हामीले उहाँको अनुहारमा देखिरहेका थियौं । किनकी अरुलाई दिन पाउँदाको खुशी र आनन्द लिन पाउँदाको भन्दा दोब्बर हुन्छ ।

हिँड्ने बेलामा शालिकरामले आफ्नो टाउको हलुका भएको बताउनुभयो । अंकमाल गर्नुभयो । ‘देश र समाजका लागि बाँचुञ्जेल यस्तै काममा सक्रिय रहनु’ भन्दै आशिर्वाद दिनुभयो । यस्तै आशिर्वादले होला हामीलाई समाज सेवाप्रति एकोहोरो बनाएको । चाहे त्यो सरसफाई अभियान होस् या देशलाई बालमैत्री बनाउने अभियान नै किन नहोस् । हामी निरन्तर खटिरहेका छौं र भविष्यमा पनि खट्नेछौं । यस्तै उत्साह र सहयोगी साथ र विश्वासका कारण नै एकीकृत बस्ती बन्न सफल भएको हो । भूकम्प पीडितलाई राहत बाँड्न गाउँगाउँ पुग्न सकिएको हो । हामीप्रतिको विश्वास अझै बढ्दै गएको पाएका छौं । त्यो विश्वास र साथलाई संगालेर हामी अर्को नयाँ एकीकृत बस्ती बसाउने योजनामा छौं । समाजमा सक्दो परिर्वतन ल्याउनमा कटिबद्ध छौं । आम नेपालीको विश्वासको सही सदुपयोग गर्न तत्पर छौं ।